
मधेश प्रदेश सरकारले लाल बाबु राउत नेतृत्वको सरकारको कामको समीक्षा गर्नका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।
नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव र मन्त्रीहरूको शपथ ग्रहणपछि शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णयलाई कार्यान्वयन गर्दै समिति गठन गरिएको छ । पछिल्लो सरकारले गत ५ वर्षमा गरेको कामको समीक्षा गर्ने निर्णय गर्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारले मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि खतिवडाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । पछिल्लो सरकारले गत ५ वर्षमा गरेका कामको समीक्षासहित आगामी दिनमा सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवद्र्धन गर्न उच्चस्तरीय समिति गठन गरेको बिनाविभागीय मन्त्री वसन्त कुशवाहाले जानकारी दिएका छन् ।
समितिका सदस्यहरुमा अर्थ मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका उप–सचिवलाई राखिएको उनले बताए । उच्चस्तरीय समितिले प्रदेश सरकार मातहतका संरचनामा सेवाप्रवाहमा देखिएको बेथीति, त्रुटि, समस्या पहिचान गरी त्यसको समाधान गर्न तथा सेवा र विकास निर्माणका कार्यलाई छिटोछरितो गर्ने गरी १५ दिन भित्र सुझाव पेश गर्न समितिलाई जिम्मेवारी दिइएको छ । बैठकले मधेशमा शीतलहर रहेकोले प्रत्येक पालिकालाई दाउरा वितरण गर्ने निर्णय समेत गरेको छ । गरिब तथा विपन्न वर्गलाई जाडो छल्नका लागि १ सय ३६ वटै पालिकालाई दाउरा वितरण गर्ने निर्णय गरिएकोछ ।