अपडेट 
२०७९ माघ ३, मंगलवार ०७:४९

पोखरा विमान दुर्घटनामा मृत्यु भएकाहरुको आत्माको शान्तिका लागि मधेश प्रदेशको विभिन्न स्थानमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ ।

देशकै सबैभन्दा ठूलो र पीडादायी बनेको पोखरा विमान दुर्घटनामा शोकाकुल बनेका महोत्तरीको बर्दिबास तथा औरहीका स्थानीयले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । बर्दिबासस्थित सिन्धुली चोकमा युवाहरु भेला भइ दीप प्रज्वलन गरी मृत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । बर्दिबास नगर प्रमुख प्रह्लाद क्षेत्री, उद्योग वाणिज्य सङ्घ, बर्दिबासका महासचिव उत्तम श्रेष्ठलगायतको सहभागितामा भएको सो सभामा स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । त्यसैगरी औरही नगरपालिकामा पनि शोक सभाको आयोजना गरिएको छ । औरहीस्थित उद्योग वाणिज्य सङ्घ र यूथ क्लबको सहभागितामा औरही चोकमा शोक सभामा मैनबत्ती प्रज्वलन गरी मृत आत्माको चीर शान्तिको कामना गरिएको थियो । यसैगरी,विमान दुर्घटनाका मृत्तकहरुको सम्झनामा बारामा पनि दीप प्रज्वलन गरिएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरामा अनेरास्ववियुले दीप प्रज्वलन गरेको हो ।

विमान दुर्घटना हुँदा दिवगंत हुने यात्रीहरुको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको थियो । कार्यक्रममा विद्यार्थी नेताहरु र सर्बसधारणहरुको सहभागिता रहेको थियो । त्यस्तै क्यान बाराको आयोजनामा कलैयाको भरत चोकमा क्यान बाराका पदाधिकारी तथा सदस्यहरुले दीप प्रज्वलन गरेका थिए । क्यान बाराले आयोजना गरेको कार्यक्रमा क्यान बाराका अध्यक्ष संजय केशरी, पूर्व अध्यक्ष गणेश ठाकुर, उपाध्यक्ष अरुण कुमार साह, सचिव विनोद साह, सह सचिव सुरेश यादव सदस्य पवन कुमार कुशवाहा, लक्ष्मण चौधरी लगायत क्यान बाराका साधारण सद्स्यहरुको उपस्थिति रहेको थियो । त्यस्तै, रौतहटको दुर्गा भगवती गाउँपालिकाले विमान दुर्घटनामा परी मृत्यु भएकाहरु प्रति राष्ट्रिय झण्डा झुकाएर शोक मनाइएको छ । दुर्घटना प्रति नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय शोक विदाको अवसरमा गाँउपालिका कार्यालय परिसमा रहेको ले आधी झण्डा झुकाएर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । गाउँपालिका अध्यक्ष शम्भू सिंहले कार्यालयमा शोकसभाको आयोजना गरेर दुखद घटनामा ज्यान गुमाएका नेपाली नागरिक तथा विदेशी नागरिकप्रति संवेदना प्रकट गर्दै दुर्घटनाबारे गहन रुपमा छानविन हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।

शोकसभामा मृतकहरु प्रति एक मिनट मौन धारण समेत गरिएको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए । शोकसभामा सहभागी भएका निर्वाचित वड़ा अध्यक्षहरुले नेपालमा भएको ठूलो मानवीय क्षतिले सबै नेपालीको मन दुखेको बताए । पुरानो कंम्पनीको विमानलाई उड़ानमा रोक लगाउनु पर्ने जोड़ समेत वक्ताहरुले दिएका थिए ।

Comment

Related News

Latest News

Trending News