अपडेट 
२०७९ माघ ३, मंगलवार ०८:१५

मधेश प्रदेशमा दिनप्रतिदिन लागूऔषधको कारोबार मौलाउँदै गएको छ । प्रदेशको आठवटै जिल्लाबाट प्रहरीले चालु आर्थिक वर्ष ०७९÷८० को पुस मसान्तसम्म ५ सय २० जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सो अवधिमा सप्तरीबाट २३ जना,सिरहाबाट ८२, धनुषाबाट ३०,महोत्तरीबाट ३८,सर्लाहीबाट ३५,रौतहटबाट १३,बाराबाट ३७ र पर्साबाट १ सय ५३ जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये ३ सय ९५ जनामाथि मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ भने लागूऔषध सेवन गर्ने दुव्र्यसनीलाई सम्झाइ बुझाइ साधारण मितिमा छाडिएको मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिमल्सिनाले जानकारी दिए । लागूऔषधसहित पक्राउ पर्नेमध्ये सबै कारोबारी नै हुँदैनन् केही दुव्र्यसनीहरु पनि पक्राउ पर्ने गरेको र तिनीहरुलाई जेल भन्दा सुधार केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको धारणासमेत उनले राखे । लागूऔषध सेवनमा परेकाहरु पक्राउ पर्दा सुधारकेन्द्रमा राख्नुपर्ने सल्लाह दिएर अभिभावकको जिम्मा लगाउने गरिएको बताउँदै उनले भने,‘अधिकांश दुव्र्यसनी कुलतमा परेर बाटो बिराउने गरेकोले सही मार्गमा डो¥याउनकालागि जेल होइन सुधारको मार्ग नै उत्तम विकल्प हो र हामीले पनि सो गर्नकै लागि सुझाव दिने गरेका छौं ।’ जिल्लाहरुबीच तुलना गर्ने हो भने लागूऔषध मुद्दामा पक्राउ पर्ने सबै भन्दा बढी पर्सा जिल्लाबाट १ सय ५३ जना पक्राउ परेका छन् भने सबभन्दा कम रौतहट जिल्लाबाट २१ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुसंग प्रहरीले चालु आर्थिक वर्षको पुस महिनासम्म ४ हजार २७ किलो गाँजा,१ सय ६४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, ४५ किलो चरेस बरामद गरेको छ भने १ लाख २३ हजार २ सय ४८ वटा स्पास्मो,प्रोक्सिभानलगायतको ट्याब्लेट पनि नियन्त्रणमा लिएको छ । सो अन्र्तगत सिरहा र बारा जिल्लाबाट ब्राउन सुगर नियन्त्रणमा लिइएको जनाइएको छ । केही समय यतादेखि सिरहा जिल्ला लागूऔषध ब्राउन सुगरको खरिद– बिक्रीको केन्द्र नै बन्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् ।

सीमावर्ती भारतीय क्षेत्र माडरबाट नेपालतर्फ ब्राउन सुगरको तस्करी हुने गरेको बताइएको छ । एक ग्रामदेखि चार ग्राम सम्मको ब्राउन सुगर सिरहा जिल्लाको विभिन्न स्थानमा चार हजारको दरले उपलब्ध हुने गरेको नाम नखुलाउने शर्तमा एक पूर्व दुव्र्यसनीले बताए । उनले भने,‘हामीसंग चार हजार रुपैयाँ लिएर एक डोज घरमै पु¥याइ दिने गरेको छ।’ ब्राउन सुगर मात्र होइन गाँजा,गोटी र कफसिरप(लागूऔषधको रुपमा प्रयोग गरिने नेपालमा प्रतिबन्धित औषधि) समेत सिरहा जिल्लामा सहजै उपलब्ध हुने गरेको उनले बताए । यस अघि आर्थिक वर्ष २०७८÷०७९ मा प्रहरीले प्रदेशभरिबाट १ हजार २ सय ८५ जनालाई लागूऔषधसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । सो मध्ये ९ सय २२ जनामाथि मुद्दा चलाइएको छ भने बाँकी अन्यलाई कागज बनाइ अभिभावकको जिम्मा लगाइएको छ भने अधिकांश अभिभावकले सुधारकेन्द्रमा पठाएको बुझिएको छ । गत आर्थिक वर्षमा प्रहरीले आठ जिल्लाबाट विभिन्न मितिमा लागूऔषध १ हजार ८ सय ६२ किलो गाँजा,१७ ग्राम ६ सय ४० मिलिग्राम ब्राउनसुगर,७९ ग्राम २ हजार ४ सय ८२ मिलिग्राम हिरोइन,७६ किलो ३ सय ९१ ग्राम २ सय ६० मिलिग्राम चरेस बरामद गरेको थियो भने ८५ हजार ७ सय ७४ वटा लागूऔषध विभिन्न कम्पनीको ट्याब्लेटहरु बरामद गरेको थियो । मधेश प्रदेशका पूर्व गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले सम्पूर्ण प्रदेश नै लागूऔषध दुव्र्यसनी तथा कारोबारीहरुको हब नै बन्दै गएको बताएका छन् । उनले सरकारमा रहँदा हामीले सरकारी स्तरबाटै सुधार केन्द्रहरुको स्थापना गर्नुपर्ने आवश्यकतालाई औंल्याउँदै महोत्तरीको गौशाला खाल्डोमा सुधार केन्द्र स्थापनाको काम सुरू भइसकेको जानकारी समेत दिएका थिए । भारतीय सीमासंग जोडिएको मधेश प्रदेशमा लागूऔषध दुव्र्यसनी तथा कारोबारी बढ्नुमा भारतीय सीमामा रहेका औषधि पसलेहरुले मुख्य भूमिका खेल्ने गरेका छन् ।

नेपालमा प्रतिबन्धित रहेका सबै औषधिहरु भारतीय सीमावर्ती क्षेत्रको कुनै पनि औषधि पसलमा सजिलै उपलब्ध हुने गरेकोले प्रदेश लागूऔषध दुव्र्यसनी तथा कारोबारीहरुको लागि अखाडा बन्दै गएको छ । लागूऔषध कारोबारीहरुलाई नियन्त्रणमा लिन समय–समयमा अभियान नै सञ्चालन गर्ने गरेको भए पनि खुला सीमा नाकाको कारण भारतमै गएर सेवन गर्ने दुव्र्यसनीहरूको संख्यामा भने दिनप्रतिदिन वृद्धि हुँदै गएको छ ।

Comment

Related News