अपडेट 
२०७९ माघ ३, मंगलवार ०८:२३

सप्तरी जिल्लाका मूर्तिकारहरु विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन व्यस्त बनेका छन् । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगतका वर्षमा झैँ मूर्तिकारहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त छन् ।

जिल्लाका विभिन्न ठाउँमा मँसिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम हुँदै आएको छ । राजविराज नगरपालिका–१०, विरौलका ५९ वर्षीय रीतिलाल खत्वेले आगामी माघ १० गतेसम्म २५ वटा प्रतिमा बनाइसक्ने गरी आफूले मँसिर १९ गतेदेखि नै काम सुरु गरेको बताए । गत वर्ष ३५ वटा मूर्ति बनाएको उनले माघ ११ गतेसम्म सबै मूर्ति बेचिसक्नुपर्ने बताए । विगत २५ वर्षदेखि मूर्ति बनाउँदै आएका खत्वेले यस वर्ष मूर्ति बेचेर करिब ६५ हजार कमाउने लक्ष्य राखेका छन् । महादेवा गाउँपालिका–१ का ३२ वर्षीय श्रवण मण्डलले पनि माघ ११ नबित्दै १५ वटा प्रतिमा बनाइसक्ने गरी काम भइरहेको जानकारी दिए । विष्णुपुर गाउँपालिका कट्टीका २९ वर्षीय शिवशङ्कर खत्वेलाई पनि यतिबेला मूर्ति बनाउने भ्याइ नभ्याइ छ । यस वर्ष सरस्वती पूजामा ५० प्रतिमा बेचेर ५४ हजारसम्म कमाउने लक्ष्य राखेको उनले बताए । मूर्तिकारहरू रीतिलाल, श्रवण र शिवशङ्करले जस्तै सप्तरीका राजविराज नगरपालिका, खडक नगरपालिका, कञ्चनरुप नपा, सप्तकोशी नपा, हनुमाननगर कङ्कालिनी नपा, डाक्नेश्वरी नपा र शम्भुनाथ नपाका विभिन्न ठाउँमा मूर्तिकारहरू सरस्वतीका कलात्मक प्रतिमा बनाउन व्यस्त देखिएका छन् । सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले आफूहरू माटोबाट सरस्वती माताका कलात्मक प्रतिमा बनाउन थालेको शिवशङ्कर खत्वेले बताए ।

माटोबाट बनेका सरस्वतीका कलात्मक मूर्ति बेचेर पैसा कमाउने खत्वेको भनाइ छ । उनले केही समयका लागि भए पनि मूर्ति बेचेर विद्यालय जाने सन्तान र परिवारको गर्जो टार्ने धारणा समेत राखे । तिलाठी कोइलाडी गाउँपालिका तोपाका ५५ वर्षीय रविशङ्कर खत्वेले आफूहरूले सिजनअनुसार मूर्ति बनाउने गरेको उल्लेख गरे । खेतीको समयबाहेक हरेक पर्व र सिजनअनुसार मूर्ति बनाएर बेच्ने गरेको र यसले अर्थोपार्जनमा सहयोग पुग्ने उनले बताए । जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर सरस्वती पूजाआराधना गर्ने चलन छ । त्यसलाई लक्षित गरी यहाँका मूर्तिकार माटोका कलात्मक मूर्ति बनाउन व्यस्त छन् । कम्तीमा तीनदेखि पाँच दिनमा एउटा प्रतिमा बनाउन समय लाग्ने र पाँच सयदेखि १० हजारसम्ममा बिक्री हुने मूर्तिकारहरु बताउँछन् ।

Comment

Related News

Latest News

Trending News