अपडेट 
२०७९ माघ ३, मंगलवार ०८:३६

नगराईन नगरपालिकाको कार्यविधि संशोधनसहित नगरसभा २० गते हुने सहमति भएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि नेकपा एमालेका जनप्रतिनिधिहरुले केही कार्यविधि संशोधनको माग गर्दै असार ९ गते सम्पन्न गरिने नगरसभा नभएकोले सो नगरपालिकाका कर्मचारीहरु तलबभत्ता समयमा पाउन सकेका थिएनन् ।

तलब भत्ता नपाउँदा नगरपालिकाका कर्मचारीहरु आन्दोलित थिए । आन्दोलनका कारण विगत असारदेखि नै कार्यालयको कामकाज ठप्प भएको थियो । नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर विजयी भएका छन् भने नेकपा एमालेको उपमेयरसहित बहुमत सदस्य छन् । निवर्तमान मेयर परमेश्वर यादवले नगरस्तरबाट हुने विकास निर्माणको काममा वडाध्यक्षको कुनै संलग्नता नरहने गरी बहुमत सदस्यबाट कार्यविधि बनाएका थिए । तर, गत बैशाखमा सम्पन्न निर्वाचनबाट एमालेका पदाधिकारी बहुमतमा रहेका कारण त्यो कार्यविधि संशोधन गरी नयाँ कार्यविधि बनाउन एमालेका बहुमत सदस्यहरुले माग अघि सारेका थिए । तर,मेयर विनयकुमार यादवले त्यो कार्यविधि संशोधन नहुने अडान लिएपछि नगरसभा हुन सकेको थिएन । सोमबार बसेको सर्वदलीय बैठकबाट कार्यविधिहरु संशोधन गर्ने प्रतिबद्धता जनाएपछि माघ २० गते नगरसभा हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई पटक–पटक नगरसभाको लागि ताकेता गरे पनि आन्तरिक विवादका कारण सभा हुन सकेको थिएन ।

नगरसभा गर्न नसक्दा नगरपालिकाको बजेट कटौतीसम्म गर्न सकिने अधिकार मन्त्रालयमा निहित रहेको भए पनि नगरसभामा जनप्रतिनिधि नै अटेरी गरेका कारण स्थानीयवासीहरु जनप्रतिनिधिहरुको आलोचना समेत गर्दै आएका थिए ।

Comment

Related News

Latest News

Trending News