अपडेट 
२०७९ माघ ३, मंगलवार ०९:०७

यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका २ जनाको अवस्था अझै अज्ञात छ ।

सम्पर्कविहीन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन (आज) पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले जानकारी दिएका छन् ।

एसपी केसीका अनुसार दुर्घटनामा परी सम्पर्कविहीन रहेका २ जना यात्रु खोज्न मंगलबार पनि गोताखोरसहित ४ वटा ड्रोनको प्रयोग गरिनेछ ।

हिजो (सोमबार) ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।

आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।

दुर्घटनाग्रस्त विमानमा यात्रारत हालसम्म ७० जनाको शव भेटिए पनि २ जना भेटिन बाँकी छ । भेटिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

शव सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ ।

दुर्घटनामा परी मृत्यु भएका २४ जनाको शव पोखरामै पोस्टमार्टम गरिने छ भने बाँकी ४५ जनाको आजै काठमाडौं पठाइने भएको छ ।

https://www.youtube.com/watch?v=lMUBG9jiTu0

Comment


Related News

Latest News

Trending News