अपडेट 
२०७९ माघ ४, बुधबार ०८:०७

मधेश प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा गठबन्धनका उम्मेदवार एमाले सांसद मण्डल सभामुखमा निर्वाचित भएका हुन् । प्रदेश सभाको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले सभामुखमा मण्डल ७४ मत ल्याई विजयी भएको घोषणा गरेका थिए । उनका एकमात्र प्रतिद्वन्दी रहेका नेपाली कांग्रेसका उम्मेदवार जङ्गिलाल राय यादवले २ ९ मत प्राप्त गरे । मधेश प्रदेशमा कुल १ सय ७ सदस्य रहेकोमा मतदान प्रक्रियामा १ सय ३ जना उपस्थित थिए । माओवादीका २ जना सदस्य अदालतको आदेशबाट शपथग्रहण गर्न सकेका छैनन् । सभामुखमा निर्वाचित मण्डलको पक्षमा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), माओवादी केन्द्र लगायतका स्वतन्त्र र साना दलका सांसदहरुले मतदान गरेका थिए । कांग्रेसका उम्मेदवार यादवको पक्षमा कांग्रेसका अतिरिक्त नेकपा एकीकृत समाजवादी (एस) ले समर्थन गरेका थिए ।

त्यसैगरी उपसभामुखको साँझ भएको चुनावमा जनमत पार्टीकी नेतृ बबिता इसर (राउत) निर्वाचित भएकी छन् । उपसभामुखमा निर्वाचित इसरले ७२ मत प्राप्त गरेकी छन् । इसरकी प्रतिद्वन्दी नेकपा एसकी बेची लुंगेलीले २९ मत प्राप्त गरिन् । इसरको पक्षमा सभामुखको भन्दा २ मत कम आए पनि लुंगेलीको पक्षमा भने कांग्रेसका सभामुखका उम्मेदवार यादवको बराबर नै रह्यो । इसर समानुपातिक प्रक्रियाबाट सांसद बनेकी छन् । लुंगेली दोस्रो पटक सर्लाही जिल्लाबाट निर्वाचित सांसद हुन् ।

नेपाली कांग्रेसले सत्तारुढ गठबन्धन मध्येका लोसपा, जसपाको मत प्राप्त हुने झिनो अपेक्षा गरेका थिए । सभामुख मण्डलले एमाले दलको नेतामा प्रयास गरेका थिए । सभामुखको भन्दा उनको रोजाई मन्त्री थियो । तर पार्टी भित्रको गुटबन्दीको कारण मण्डल सभामुख बन्न पुगेका छन् । सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथग्रहण बुधवार हुने प्रदेश सभाका सचिव रञ्जित यादवले जनाए । माओवादीबाट संविधान सभाको दुबै चुनाव लडेका मण्डल पराजित भएका थिए । तर प्रदेश सभाको २०७४ र २०७९ को चुनावमा धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट उनी निर्वाचित भएका हुन् । पहिलो चुनावमा माओवादीबाट सभासद बनेका मण्डलले पार्टी विभाजनको क्रममा एमाले रोज्दा उनको सांसद पद माओवादीले खारेज गराएका थिए । पहिलो प्रदेश सभामा उनी समितिका सभापति थिए । राजनीतिक मूल प्रवाहमा माओवादी आएपछि मण्डल दुई पटक राजनीतिक नियुक्ती पाएका थिए ।

Comment

Related News