राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनुषाले धनुषामा रहेका भूमिहीन तथा सुकुम्बासीको लागत संकलन कार्यलाई तीव्रता दिएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनुषाले धनुषा जिल्लाका १८ वटै पालिकालाई परिपत्र गरी भूमिहीन तथा सुकुम्वासीको लागत संकलनमा तीव्रता दिन अनुरोध गरेको थियो । सोही परिपत्रका अनुसार पालिकाहरुले भदौ २ गते देखि नै सुकुम्वासीको लागत संकलन गरिरहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनुषाका प्रवक्ता राम गोविन्द यादवले बताए । उनले लागत संकलन पश्चात पालिकाहरुले आफ्नो पालिकामा रहेका एलानि तथा सरकारी जमिनहरुलाई नाप नक्सा गरी पायक पर्ने सुकुम्वासीलाई वितरण गरी आयोगलाई सिफारिस गरेपछि मात्रै आयोगले सो जग्गाको लालपूर्जा दिने बताए । दलित सुकुम्वासी,भूमिहीन वर्ग र अव्यस्थित रुपमा बसोवास गरिरहेका सामुदायलाई क्रमश प्राथमिकतामा राखेर जग्गा वितरण गरिने उनले बताए । प्रत्येक परिवारलाई ८ धुरको दरले जग्गा उपलब्ध गराइने छ । पालिकामा ऐलानि जग्गा नभएको अवस्थामा नजिकको रहेको अन्य पालिकामा पनि जग्गाको व्यवस्थापन गर्ने कार्यक्रम रहेको छ । यसैबीच, मिथिला नगरपालिका वडा न.११ मा बहुन मार ा,लाटा,विसमवा किउरे लगायतका टोलमा रहेका ५ सय विघा सरकारी जमिनको नापी भइसकेको र सो जग्गा स्थानीय सुकुम्वासीलाई केही दिनमै वितरण गरिने तयारी भइरहेको जनाइएको छ ।