अपडेट 
२०७९ माघ ४, बुधबार ०८:५१

जनकपुरधाम । धनुषा प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ३५ लाख भन्दा बढीको समान बरामद गरेको छ ।

प्रहरीले पुस ३० देखि मंगलबारसम्ममा विभिन्न मितिमा गरी ३५ लाख २६ हजार २ सय ५५ रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरी जनकपुर भन्सार कार्यालयलाई बुझाएको छ । गत पुस ३० गते साँझको समयमा जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनास्थित सडकखण्डबाट ६ लाख ३६ हजार ३ सय बराबरको किरानाका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । सो क्रममा प्रहरीले ज १ ह ४७८१ नम्बरको अटो रिक्सा चालक जनकपुरधाम उपमहानगरपालिका –२५का सन्तोष झा धनुषाको धनौजी गाउँपालिका–३का जाहिर नदाफ सहितकालाई समेत प्रहरीले नियन्त्रणमा लिएका थिए ।

त्यसै गरी गत माघ १ गते जिल्लाको औरही गाँउपालिका–२ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी गरी बा.प.०२–०२७ च. ६५२२. नं.को बोलेरो पिकअप गाडीमा पापरलगायतका सर–सामान लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी चेकजाँच गर्दा उक्त सर–सामानको आवश्यक बिल बिजक नभएकोले नियन्त्रणमा लिएको जनाइएको छ । पिकअप गाडीसहित जनकपुरधाम उपमहानगरपालिका– १६का गोपिचन्द्र मण्डलको ३७ वर्षीय छोरा भोगेन्द्र मण्डललाई नियन्त्रणमा लिइ बोलेरो गाडी र पापरसहितका सामान गरी २५ लाख ६० हजार बराबरको सामान मंगलबार भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जानकारी समेत क्षेत्रीले दिए । त्यसैगरी आइतबार राति १० बजेको समयमा जनकपुर उप महानगरपालिका–२२ स्थित सडक खण्डमा ३ वटा मोटरसाइकलमा भारतबाट भन्सार छली गरी ल्याइएको ३ लाख २ ९ हजार ९ सय ५५ बराबरको किराना समान लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइ मंगलबार भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ ।

Comment

Related News

Latest News

Trending News