अपडेट 
२०७९ माघ ४, बुधबार ०८:५५

अहिलेको मधेश प्रदेश सभामा एकपछि अर्को इतिहास लेखिने सम्भावना रहेको छ । मधेश प्रदेश सभाको निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि माननीय साँसदज्यूहरुले शपथ ग्रहण गर्ने समय नजिकिँदै थियो । भाषा आयोगका सदस्य माननीय गोपाल अश्कले एक जनाले बज्जिका भाषामा शपथ लिन खोजेका छन्, म बज्जिका भन्दै जान्छु तिमी सच्याउँदै जानू भन्नु भयो । एक जना माननीयज्यूले बज्जिका भाषामा शपथ लिनु हुने भन्ने कुरो मैले पहिले नै थाहा पाएको थिएँ ।

यसअघिको प्रदेश सभामा सर्लाहीबाट निर्वाचित माननीय उपेन्द्र महतोज्यूले मधेश प्रदेश सभामा पहिलोचोटि बज्जिका भाषाको प्रवेश गराउने ऐतिहासिक काम गर्नुभएको थियो र दोस्रोपटक पनि उहाँले बज्जिका भाषामा नै शपथ लिन्छु भनेर मलाई फोन गरेरै जानकारी गराउनु भएको थियो । माननीय गोपाल अश्कसित फोनमा कुराकानी हुँदा मलाई माननीय महतोज्यू नै हुनुहोला भन्ने लाग्यो । मैले सोधें पनि तर माननीय अश्कज्यूले स्पष्ट जवाफ दिनु भएन तर निकै खुसीको कुरो त के थियो भने देश र विदेशमा भोजपुरी भाषाको क्षेत्रमा स्वनामधन्य अश्कले बज्जिका भाषामा शपथपत्रको ढाँचानुवाद गर्दै हुनुहुन्थ्यो । यो पनि एउटा ऐतिहासिक काम नै थियो । यसभन्दा पहिलेको प्रदेश सभा र पुनः यसपटकको प्रदेश सभामा माननीय उपेन्द्र महतोज्यूले लगातार दुई पटक बज्जिका भाषामा शपथ लिनुभएको छ । यसरी संसद्मा दुईपटक बज्जिका भाषामा शपथ लिने पहिलो माननीय महतोज्यू बन्नु भएको छ । नेपालको इतिहासमा संसद्मा बज्जिका भाषाको प्रवेश माननीय कृष्णप्रसाद यादवज्यूबाट भएको हो । संविधान सभा सदस्यमा निर्वाचित हुँदा यादवज्यूले पहिलोपटक मातृभाषा बज्जिकामा शपथ लिएर बज्जिकाको मान बढाउनु भएको थियो । यसपछि माननीय रामप्रित पासवानज्यू माथिल्लो सदन अर्थात् संघीय संसदको राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुँदा बज्जिकामा शपथ लिनु भएको थियो ।

माथिल्लो सदनमा बज्जिकाको प्रवेश गराउने माननीय साँसद पासवानज्यू नै हुनुहुन्छ । यसरी देशको प्रतिनिधि सभा तथा प्रदेश सभामा माननीयद्वय यादव र पासवानज्यूबाट बज्जिकाको गौरव बढाएको इतिहास रहेको देखिन्छ । जसरी प्रतिनिधि सभामा माननीय कृष्णप्रसाद यादव र राष्ट्रिय सभामा माननीय रामप्रित पासवानज्यूले मातृभाषा बज्जिकालाई देशको सर्वोच्च संसद्मा स्थान दिलाएर ऐतिहासिक काम गर्नु भयो त्यसरी नै मधेश प्रदेश सभामा माननीय उपेन्द्र महतोज्यूलाई यो श्रेय गएको छ । माननीय महतोज्यूको बाटो यसपटक निकै फराकिलो भएको छ । यसपटक प्रदेश सभामा निर्वाचित माननीयज्यूहरुमध्ये जति जनाले मातृभाषामा शपथ लिनु भयो, ती मध्ये सबैभन्दा बढी बज्जिका भाषामा भएको छ । मधेश प्रदेश सभामा मातृभाषाहरुमध्ये शपथ लिने माननीय साँसदज्यूहरुको संख्यालाई आधार मान्ने हो भने मधेश प्रदेश सभामा सबैभन्दा ठूलो बज्जिका मातृभाषा भएको छ । मधेश प्रदेश सभाका माननीय साँसदज्यूहरुले पद तथा गोपनीयताको शपथ लिँदाको दिन विभिन्न संचार माध्यमहरुले सार्वजनिक गरेको समाचारमा त्रिपन्न जनाले नेपाली भाषामा शपथ लिनु भएको थियो भने उन्चास जनाले विभिन्न मातृभाषामा शपथ लिनु भएको थियो । त्यस दिनको समाचारका अनुसार मधेश प्रदेशका तीन प्रमुख भाषामा नै मातृभाषी माननीय साँसदज्यूहरुले बढी संख्यामा शपथ लिनु भएको थियो ।

मधेश प्रदेशका प्रमुख तीन मातृभाषामा मैथिली, भोजपुरी र बज्जिकाको क्रम रहेको छ भाषिक जनसंख्याको आधारमा । यो जनसंख्याको आधार वि. सं. २०६८ को जनगणनाको अन्तिम परिणामको हो । गत वर्ष भएको जनगणनाको अन्तिम परिणाम केही दिनमा सार्वजनिक हुने समाचारहरु आइरहेका छन् । भाषिक स्थितिमा केही फेरबदल हुन सक्ला । गत वर्षको जनगणनाको अन्तिम परिणाम नआउँदासम्म यस अघिकै जनगणनाको आधारमा रहेको जनसंख्या र भाषा तथा अन्य आधारहरुले काम गरिरहेका छन् । तर प्रदेश सभामा माननीय साँसदज्यूहरुले शपथ लिँदाको संख्याको आधार भने तत्कालीन विभिन्न संचारमाध्यमले उल्लेख गरेअनुसार बज्जिका मातृभाषामा तेर जना, मैथिली मातृभाषामा एघार जना र भोजपुरी मातृभाषामा सात जनाले शपथ लिनु भएको थियो । बज्जिका भाषामा अभिराम शर्मा, उपेन्द्र महतो, कृष्ण प्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, जितेन्द्र राय यादव (सुनील), नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, वीरेन्द्र कुमार सिंह, सकुन्ती देवी र शोभा देवीले शपथ लिनु भएको थियो । माननीय साँसदज्यूहरुको नाम हेर्दा यसपटक मधेश प्रदेश सभामा बज्जिका मातृभाषाले नयाँ इतिहास कायम गर्नु भएको छ ।

मातृभाषा भन्नुपर्दा मातृ र भाषा अर्थात् माताको नाम पनि आउँछ । मातृ भनेको माता वा आमालाई नै जनाएको हो भन्ने कुरामा शंका छैन । बज्जिका भाषाको इतिहासमा यो पहिलोपटक हो कि महिला माननीयज्यूले बज्जिका भाषामा शपथ लिनु भएको छ । यसभन्दा पहिले कुनै महिलाले बज्जिका भाषामा कुनै संसदमा शपथ लिनु भएको सुनिएको थिएन । यसपटक इतिहास कायम गर्दै गर्दा मधेश प्रदेश सभामा एक साथ कैयाँै महिला माननीयज्यूहरुले मातृभाषालाई सार्थक बनाउनु भएको छ । यसपटक मातृ शब्दलाई संसदमा पनि सार्थक बनाउनु भएको छ । यो गर्व र गरिमाको विषय र पक्ष हो । यसपटक मातृभाषा शब्दलाई सम्पूर्ण रुपमा सार्थक पार्नु हुने महिला माननीयज्यूहरुमा श्रद्धापूर्वक सम्मान व्यक्त गर्दछु । बज्जिका भाषाको इतिहासमा माननीय कृष्णप्रसाद यादवले सुरु गर्नु भएको संसदमा बज्जिका भाषामा शपथले अहिले विस्तारित रुप पाएको छ । माननीय यादवबाट सुरु भएको इतिहासमा उहाँले फेरि अर्को इतिहास पनि थप्नु भएको छ । नेपालको संसदीय इतिहासमा बज्जिका भाषाको दृष्टिकोणले उहाँ नै यस्तो व्यक्तित्व हुनु हुन्छ जसले प्रतिनिधि सभा (संविधान सभा) र प्रदेश सभा गरी दुवै सभामा बज्जिका भाषामा शपथ लिनु भएको छ । जननिर्वाचित प्रनिनिधि हुँदा नै उहाँले मातृभाषा बज्जिकामा शपथ लिने गर्नु भएको छ । मातृभाषाको दृष्टिकोणले उहाँको इतिहास वा विशेषता दुवै मानिएको छ । बज्जिका भाषाको सेवामा लागेकाहरुले यो अनुमान गरेका छन् कि मधेश प्रदेश सभामा मातृभाषा बज्जिकाको बलियो उपस्थिति बनाउन, मधेश प्रदेश सभामा बज्जिकालाई सबैभन्दा ठूलो भाषा बनाउन उहाँको नै विशेष भूमिका रहेको छ । माननीय कृष्णप्रसाद यादव मातृभाषासेवाको दृष्टिकोणले अत्यन्त बधाईका पात्र हुनुहुन्छ । मधेश प्रदेश सभामा बज्जिका सबैभन्दा ठूलो मातृभाषा बनेकै समयमा एउटा अर्को छलाङ भएको छ । यसै प्रदेश सभामा निर्वाचित साँसदज्यूहरुमध्येबाट मन्त्री बन्दा एक जना मन्त्रीज्यूले बज्जिका भाषामा शपथ लिनु भएको छ ।

माननीय सञ्जयकुमार यादवज्यूले मातृभाषा बज्जिकामा शपथ लिनु भएको छ । सम्भवतः विश्वमा नै उहाँ यस्तो व्यक्तित्व हुनुहुन्छ जसले बज्जिका भाषामा मन्त्रीको शपथ लिनु भएको हो । इतिहास यसै गरी निर्माण हुन्छ । उहाँले शपथ लिएपछि संचारकर्मीहरुसित भन्नु भएको छ – आफ्नो भेष र पहिचानको लागि भाषा पनि आवश्यक छ । मातृभाषा बज्जिकामा शपथ लिएको छु । माननीय मन्त्रीज्यूलाई सम्पूर्ण बज्जिका मातृभाषीको तर्फबाट बधाई छ । यसभन्दा पहिलेको प्रदेश सभा र प्रदेश सरकारले बज्जिका भाषाको क्षेत्रमा केही पनि काम गरेको देखिएन । प्रदेश सरकारले मैथिली र भोजपुरीको लागि मात्र काम गरेको देखिन्छ । जाँदाजाँदै पनि पेश गरेको बजेटमा मैथिली र भोजपुरीको विकासको लागि रकम विनियोजन गरिएको थियो । मधेश प्रदेश सरकारमा बज्जिकाको बारेमा सुनिदिने कोही हुनुहुन्थेन, बोलिदिने त कुरै पर जाओस् । कुनै मन्त्रीलाई बज्जिका शब्द नै प्यारो थिएन अथवा अन्य मातृभाषी मन्त्रीज्यूले आफ्नो भाषाको लागि केही गर्दा त्यहाँ भन्न सक्ने साहस हुँदैनथ्यो तर अब प्रदेश सभा र प्रदेश सरकारमा बज्जिकाको उपस्थिति भएको छ । मातृभाषामा शपथ लिनुहुने माननीय साँसदज्यूहरुको संख्याको आधारमा बज्जिका प्रदेश सभामा सबैभन्दा ठूलो भाषा भएको छ र एक जना माननीय मन्त्रीज्यूले बज्जिका भाषामा शपथ लिएर मधेश प्रदेश सरकारमा भाषाको दृष्टिकोणले बज्जिकाको प्रतिनिधित्व पनि गराउनु भएको छ । अब मधेश प्रदेश सरकारमा बज्जिका भाषा एउटा बलियो भाषाको रुपमा आएको कुरामा दुई मत छैन । र, यहीँबाट अन्य मातृभाषाले विकासको क्षेत्रमा कामहरु गर्दा प्रदेश सरकारबाट पाउने सुविधा बज्जिका भाषाले पनि पाउने सम्भावना बढेको छ ।

मातृभाषाले सम्मान पाउनु पर्ने हो । एक हिसाबमे प्रदेश सभा तथा प्रदेश सरकारमा शपथको दृष्टिकोणले मातृभाषाले सम्मान पाएको छ । सूर्योदयले दिनको संकेत गर्दछ भनेझैँ वर्तमान प्रदेश सभा र प्रदेश सरकारको शपथले बज्जिका भाषाको लागि पनि सन्तोषजनक दिन आउन लागेको संकेत गरेको छ । यसले बज्जिका भाषाको सेवामा दशकौँ दशकदेखि लागेकाहरुलाई सुशी लाग्नु स्वाभाविक हो, साथमा मातृभाषालाई पनि सन्तोष लागेको छ । करिब सात हजार वर्ष पुरानो इतिहास रहेको मानिएको बज्जिका भाषाको सम्पूर्ण क्षेत्रमध्ये संसदीय प्रणालीमा बज्जिकाको प्रवेश पहिलो रहेको वर्तमान पुस्ताले देखिरहेका छन् । नेपालमा बज्जिका भाषाको इतिहासको प्रामाणिक लेखन भाषा आयोगबाट भइसकेको अवस्थामा मधेश प्रदेशमा शपथ लिनु हुने माननीय साँसदज्यू, प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा शपथ लिनु हुने माननीयज्यू तथा प्रदेश मन्त्री बन्नु हुने माननीयज्यूहरुको भाषाको सेवासम्बन्धी विषयलाई लिएर पनि अब भाषाको इतिहासमा नयाँ पाना थप्नुपर्ने आवश्यकताबोध भएको छ । यस किसिमको आवश्यकताबोध गराउनु हुने प्रदेश सभा सदस्य तथा मन्त्रीज्यूहरुप्रति सादर सम्मान व्यक्त गर्दछु । गर्वको क्षण र इतिहासको गोरेटो निर्माण गर्नु हुने सम्पूर्ण माननीयज्यूहरुप्रति सम्पूर्ण बज्जिका मातृभाषीको तर्फबाट नेपालमा बज्जिका भाषाको पहिलो कवि, पहिलो व्याकरणकार, पहिलो बज्जिका पत्रकार तथा अनुसन्धानकर्मीको हैसियतमा शब्द अभिनन्दन र सम्मान अर्पण गर्दछु ।

Comment

Related News

Latest News

Trending News