अपडेट 
२०७९ माघ ५, बिहीबार ०७:५१

विपक्षीविहीन प्रदेश सभा
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ऐतिहासिक समर्थन प्राप्त गरेका छन् ।प्रदेश सभामा बुधबार विश्वासको मत लिने क्रममा उनलाई प्रदेश सभाका शतप्रतिशत सभासदहरुले समर्थन गरेका छन् । प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले विश्वासको मतलाई निर्णायार्थ प्रस्तुत गर्दा सबै सभासदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । सभामुख मण्डलले विपक्षमा शून्य मत परेको जनाउँदै प्रदेश सभाले मुख्यमन्त्री यादवले सदनको उपस्थित सम्पूर्ण सदस्यको विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए । मधेश प्रदेशको पहिलो सभामुखको रुपमा ५ वर्षे कार्यकाल सफलतापूर्व सम्पन्न गरेका यादवले प्रदेशसभाबाट ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा हाल १ सय ५ जनाले शपथ ग्रहण गरेका छन् । ती मध्ये बुधबार सदनमा उपस्थित १ सय ३ जना मध्ये मुख्यमन्त्रीको पक्षमा १ सय २ जनाले मतदान गरे । सभामुखले मतदानमा भाग लिने व्यवस्था छैन् । अनुपस्थित रहेका मध्ये एकजना जनता समाजवादी पार्टी(जसपा) की सांसद बिन्दु यादव उपचारको क्रममा भारतमा रहेकी छन् । एमालेका मो.समिरको खुट्टामा चोट लागेर उपचार गराइरहेका छन् । जसपाबाट यादव मुख्यमन्त्री बनेका हुन् । एमाले प्रमुख सत्तासाझेदार दल रहेको छ । मधेश प्रदेशका पहिलो मुख्यमन्त्री बनेका मो.लालबाबु राउतलाई सदनमा तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) का सांसदहरुले समर्थन गरेका थिए ।अन्य दलहरुले उनको विरोधमा मतदान गरे पनि बहुमत राउतको पक्षमा साबित भएको थियो । सत्ता गठबन्धन भन्दा बाहिर रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवको पक्षमा विश्वासको मत दिने सदनमा घोषणा गरेपछि यादवले सिंगो सदनको पूर्ण समर्थन प्राप्त गरे । विश्वासको मत दिन कांग्रेसलाई मुख्यमन्त्री यादवले लिखित रुपमा आग्रह गरेका थिए । जसपा संसदीय दलका नेता यादवले गत पुस २७ गते बुधवार मुख्ममन्त्रीका लागि नेकपा एमाले, माओवादी केन्द्र, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी लगायतका सभासदहरुको हस्ताक्षर सहितको पत्र बुझाउदै मुख्यमन्त्रीमा दाबी गरेका थिए । नेपाली कांग्रेस र नेकपा एसले मुख्यमन्त्रीमा समर्थन नगरे पनि विश्वासको मत भने दिएका छन् । प्रदेश सभाको सत्तारुढ गठनबन्धनका उम्मेदवारको विरुद्ध सभामुख र उपसभामुखको चुनावमा कांग्रेसले सभामुख र एसले उपसभामुखमा उम्मेदवारी दिएका थिए । तर सभामुखमा गठबन्धनबाट एमालेका सभासद रामचन्द्र मण्डल सभामुख र बबिता इसर उपसभामुखमा निर्वाचित भएका थिए ।

कांग्रेस प्रतिपक्षको बेञ्चमा रहने :यादव
जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई नेपाली कांग्रेसले विश्वासको मत दिए पनि प्रतिपक्षको बेञ्चमा नै बस्ने भएको छ । नेकां संसदीय दलका नेता कृष्ण प्रसाद यादवले सरकारलाई सहमति अनुसार कार्य गर्न विश्वासको मत दिएको बताए ।‘सहमतिको अधारमा सरकारलाई सहकार्य गर्न वातावरण बनाउन विश्वासको मत दिएको छु ’ उनले भने, तर सदनमा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा नै रहने छ । सरकारलाई गुण र दोषको आधारमा सहयोग गर्ने जनाउँदै यादवले भने, सरकारलाई कांग्रेसको रचनात्मक सहयोग रहनेछ । सरकारलाई विश्वासको मत दिन नेकां संसदीय दलको बुधबार बिहान बसेको बैठकले निर्णय गरेको थियो ।सभामुखको चुनावमा जसपाले नसघाएको भन्दै केही सभासदहरु बैठकमा आक्रोश व्यक्त गरेका थिए ।

सभामुख मण्डलको अविस्मरणीय बैठक
जनकपुरधाम ।मधेश प्रदेश सभाको सभामुखको शपथ ग्रहण गरे लगतै रामचन्द्र मण्डलले सञ्चालन गरेको पहिलो बैठकमा सर्वसम्मतिले निर्णय भएको छ । मण्डल मंगलबार सभामुखमा निर्वाचित भएका थिए ।उनले बुधबार बिहान शपथ ग्रहण गरेपछि उनको अध्यक्षतामा बसेको प्रदेशसभाको पहिलो बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत माग्दै प्रस्ताव पेश गरेका थिए। यादवले मागेको विश्वासको मत सम्बन्धी प्रस्तावलाई निर्णायार्थ सदनमा प्रस्तुत गर्दा उपस्थित सबै सांसदले पक्षमा मतदान गरेको उनले घोषणा गरेका थिए । प्रदेशसभाको गत कार्यकालमा सभासद रहेका र समितिको सभापतिको रुपमा कार्य गरिसकेका सभामुख मण्डलले निर्णय सुनाउँदा सभाहल टेबुल ठोक्किएको आवाजले गुञ्जिएको थियो ।सो निर्णयपछि अर्को सूचना नहुञ्जेल सम्मका लागि बैठक स्थगित भएको उनले घोषणा गरे ।

मुख्यमन्त्रीलाई असाधारण मत
जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा असाधारण बहुमत प्राप्त गरेका छन् ।उनी मुख्यमन्त्री नियुक्त भएको ८ औं दिनमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा उपस्थित १ सय २ जना सांसदले नै उनको पक्षमा मतदान गरी विश्वासको मत दिए । प्रदेश सभामा रहेका १० दल र स्वतन्त्र सांसद समेतको विश्वास मुख्यमन्त्री यादवले प्राप्त गरेका छन् । गत पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको थिएन ।तर मुख्यमन्त्री नियुक्त भएको केही घण्टा भित्र लोसपाका ९ जना सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएसँगै उनको पक्षमा ७२ सांसदको समर्थन पुगेको थियो । मधेश प्रदेश सभा विपक्षी विहीन भएको छ ।

३ महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश
जनकपुरधाम ।प्रदेश सभाबाट असाधारण बहुमत प्राप्त गरेपछि मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दाबी गरेका छन् । ‘मुख्यमन्त्री नियुक्त भएकैे दिन आफूले भ्रष्टाचार शून्य सहनशीलता रहने प्रतिबद्धता जनाइसकेको छु’ उनले भने, उक्त प्रतिबद्धतालाई प्राथमिकतामा राखेर काम गर्ने छु । प्रदेशको भ्रष्टाचार छानविनका लागि ५ सदस्यीय छानविन समिति गठन गरेको पनि उनले सुनाए । ‘मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो ’ उनले भने, अब मैले ३ महिना भित्र प्रदेश सरकार मातहतका कार्यालयहरुको भ्रष्टाचार शून्यमा झार्छु । सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउने बताउँदै उनले भने, ‘आवश्यक परे पुरक बजेट पनि ल्याउन सकिन्छ ।’

Comment

Related News

Latest News

Trending News