अपडेट 
२०७९ माघ ५, बिहीबार ०८:०१

वीरगन्जमा पुनः श्रोत नखुलेको ठूलो रकमसहित मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्ने दुबै जना हुण्डीको कोरोबार गर्ने रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज –८ घण्टाघर चोकबाट २२ लाख ५० हजार रुपैयाँसहित दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३४ वर्षीया विकास साह र वीरगञ्ज १८ इनर्वा मनियारीका १९ वर्षीय सुभाष कुमार साह रहेका छन् । प्रहरीले घण्टाघर चोक स्थित सडकमा बीआर ०५ ए इ ९३४३ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा त्यसमा विकाससंगै सवार रहेका सुभाषले बोकेको झोलाबाट उक्त रकम बरामद भएको प्रहरी नायब उपरीक्षक दीपक गिरिले जानकारी दिए । झोलाबाट नेपाली पाच सय र एक हजार दरको नोट गरी २२ लाख ५० हजार रुपैया बरामद भएको उनले बताए । बरामद रकम, साहद्वयले श्रोत खुलाउन नसकेकाले हुण्डीको कारोबारको रहेको उनले बताए । बरामद रकमसहित पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतममा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको गिरिले जानकारी दिए। यसैगरी, अबैध भारतीय रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटेको प्रहरी चेकजांचको क्रममा वीरगञ्ज महानगरपालिका – १६ शंकराचार्य गेट स्थित सडकखण्डमा एक लाग भारुसहित युवकलाई पक्राउ गरिएको जनाइएको छ । भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका युवकको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू ५०० दरको नोट २०० थान रू १,००,०००।– (एक लाख) फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । एक साताअघि स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई वीरगन्जबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१७ का १९ वर्षीय राजन साह रहेका थिए । साहले लगाएको हेलमेट र ज्याकेटभित्र १२ लाख २० हजार रुपैयाँ बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक गिरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म प्रहरीले ५ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ,जसमध्ये एक भारतीय नागरिक छन् । पक्राउ परेकाबाट ७३ लाख ४८ हजार रुपैयाँ बरामद भएको छ । यस्तो रकम हुन्डीको भएको प्रहरीको दाबी छ । केही वर्ष यता भारतबाट हुनै अपराधहरुमा सबैभन्दा बढी घटना हुन्डीको पैसा ल्याउने हुने गरेको देखिएको छ । तर,प्रहरीले भारतबाट श्रोत नखुलेको रुपैयाँ ल्याउने भरिया बाहेक अपराध पछाडिको अपराधि समूहलाई पक्राउ गर्नेतर्फ खासै अनुसन्धान अगाडि बढाउन सकेको छैन । भारतबाट अवैध रुपैयाँ नेपालबाट जाने सुनको भुक्तानी भएको सर्वविदित भएको एक सुन व्यापारीले बताए । उनले भने प्रहरीलाई सबै कुरा थाहा हुन्छ ,भारतबाट आउने हुन्डी किन र कसरी आइरहेको छ । तर,नेपालबाट जाने सुनमा प्रहरीको गोप्य सूचना जति फितलो छ,भारतबाट आउने त्यसको पेमेन्ट अर्थात हुन्डीको रुपैयाँको सूचनामा त्यतिनै पकड भएको उनको भनाइ छ । यसरी पक्राउ पर्नेमा अधिकांश भरिया हुने गरेका छन् । कारोबारीहरूले भारत पुगेको नेपाली रुपैयाँलाई विभिन्न माध्यमबाट नेपाल ल्याउने गरेका छन् । एक लाख रुपैयाँभन्दा बढी नगदको बैंकिङ कारोबार गर्दासमेत बैंक तथा वित्तीय संस्थाले कडाइ गर्दा स्रोत नखुलेको ठूलो रकम बोकेर हिड्दा बरामद हुने गरेको छ । वीरगञ्जमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै हण्डीको कारोबार गरेको भन्दै ७ जनालाई पक्राउ गरी उनीहरुको साथबाट ९५ लाख ९८ हजार रुपैयाँ बरामद गरिसकेको छ । यस्तै,गत आर्थिक वर्ष ०७८÷०७९ मा पर्सा प्रहरीले २२ जनालाई १ करोड ६५ लाख रुपैया सहित पक्राउ गरी कारबाही अगाडि बढाएको जनाएको छ ।

Comment


Related News