अपडेट 
२०७९ माघ ५, बिहीबार ०८:०३

रौतहटको एक गैरसरकारी संस्थाले विदेशी दातृ निकायको रकम अनियमितता गर्न हैण्डपाइप (कल) जडानको नाममा सर्वसाधारणसंग अनधिकृत रुपमा रकम असुली गरिरहेको छ ।

इनार नविर मोहसेन अल महरी नामक संस्थाले निःशुल्क रुपमा हैण्डपाइप जडान गर्नुपर्नेमा प्रति व्यक्ति २ हजारदेखि लिएर १८ हजारसम्म रकम असुली गरिरहेको खुलेको छ । अति गरिब एवं विपन्न नागरिकलाई शुद्धपानी खुवाउने उद्देश्यले साउदी अरब,फ्रान्स लगायत मुस्लिम समुदायको बाहुल्य भएको विभिन्न देशहरुले नेपालका केही गैरसरकारी संस्थालाई निःशुल्क रुपमा २ सयदेखि लिएर ३ सय फिटसम्म हैण्डपाइप (कल) जडान गर्न ठूलो मात्रामा रकम उपलब्ध गराउँदै आएको छ । यसरी विदेशी दातृ निकायको सहयोग अर्थात अनुदान रकम पाउनेमा रौतहटको संस्था इनार नविर मोहसेन अल महरी पनि रहेको छ । यस संस्थाले २ सय देखि लिएर ३ सय फिटसम्म हैण्डपाइप निःशुल्क रुपमा जडान गर्न विदेशी दातृ निकायबाट अनुदान रकम पाएका छन तर यस यस संस्थाका अध्यक्ष परोहा नगरपालिका –२ जिंगडवा बेलबिछवाका ३५ वर्षीय मोहम्मद गुरफान आलमले २५ देखि ५० फिटसम्म मात्र हैण्डपाइप जडान गराई प्रति व्यक्ति २ हजार देखि लिएर १८ हजारसम्म रकम असुली गरिरहेको स्थानीयहरुले गुनासो गरेका छन् । यस संस्थाले जिल्लाको परोहा, राजपु्र, इशनाथ, बौधिमाई लगायत नगरपालिकाको सयौं सर्वसाधारण आम नागरिकसंग हैण्डपाइप जडानको नाममा रकम असुली गरी लाखौं रकम ठगी गरेको बताइएको छ । केही महिनादेखि संस्थाका अध्यक्ष आलमले विभिन्न पालिकामा हैण्डपाइप जडानको नाममा रकम असुली गरी सर्वसाधारणलाई ठग्ने काम गरिरहेको गुनासो बढेको छ ।

राजपु्र नगरपालिका २ फतुवा महेशपुरका शेख रहमानले विदेशी दातृ निकायको सहयोगमा निःशुल्क शुद्धपानी खानको लागि ल्याइएको हैण्डपाइप जडान गर्दा संस्थाले मनपर्दी रकम उठाएर सर्वसाधारणलाई ठग्ने काम गरेको बताएका छन् । उनले भने, ‘निःशुल्क शुद्ध खानेपानीका लागि २ सयदेखि ३ सय फिट भन्दा माथि हैण्डपाइप जडान गर्न संस्थाले विदेशी दातृ निकायबाट रकम पाएका हुन्छन तर यिनीहरूले आफ्नो व्यक्तिगत लाभ उठाउँदै पुरै आर्सेनिकले भरिएको २५ देखि ३५ र ५० फिटसम्म मात्र पाइप जडान गर्ने गरेका छन’ । त्यसमा पनि २ हजारदेखि १८ हजारसम्म रकम सर्वसाधारण जनतासँग असुली गरिरहेको समेत उनले गुनासो गरे । विदेशी दातृ निकायले उपलब्ध गराएको रकम अनियमितता गर्न संस्थाले रकम असुली गर्ने गरेको र दूषित पानी खुवाएर मानव स्वास्थ्यसंग खेलवाड गर्ने काम गरेको भए पनि संस्थाका पदाधिकारीहरुलाई कारबाही गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । श्रोतका अनुसार संस्थाले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका, रौतहटको अधिकांश पालिका र सर्लाही जिल्लासमेतमा करोडौंको कल जडान गरी लाखौंलाख रकम हिनामिना गर्दै जनता र विदेशी दातृ निकाय दुबैलाई ठग्ने काम गरेको छ । संस्थाले रौतहटका साथै बारा र सर्लाही जिल्लालाईसमेत कार्यक्षेत्र बनाएर काम गरिरहेको श्रोतको दाबी छ ।

Comment

Related News

Latest News

Trending News