अपडेट 
२०७९ माघ ५, बिहीबार ०८:१७

हाम्रो सनातन धर्म अनुसार पृथ्वीमा मानव जातिको प्रणाली कायम गर्न आदि शक्तिबाट तीन शक्ति उत्पन्न भए । ती हुन् ब्रह्मा, विष्णु तथा महेश । त्यसैले मानिसहरू यहाँहरूलाई आदि माताकी सन्तानको रूपमा पनि बुझ्ने गरेका छन् । यसरी मानव जातिलाई विकसित बनाउन ब्रह्मालाई सन्तान उत्पादन गर्ने, विष्णुलाई पालनपोषण गर्ने तथा महेशलाई संहार गर्ने जिम्मा सुम्पेका थिए । यी त्रिदेवले आफूले पाएका जिम्मेवारीलाई अगाडि बढाएका कुरा हाम्रो सनातन ग्रन्थहरूमा समेत उल्लेख भएको पाइन्छ । ब्रह्माले सृष्टिलाई मूर्त रूप दिन आफ्नै जिउका मुखबाट बाहुन, पाखुराबाट क्षत्रिय, जँघाबाट वैश्य तथा पैतालाबाट शुद्रलाई जन्म दिएका थिए । यी चारै सन्तानलाई गर्नुपर्ने कामको जिम्मेवारी समेत बाँटफाँट गरेका थिए । यसरी बाहुनले पूजापाठदेखि शिक्षा दिने काम पाएका थिए । यहाँलाई गुजारा चलाउन पूजाआर्चा तथा गुरूका कामबाट आउने दक्षिणा नै आम्दानीका मुख्य श्रोत तोकिएको थियो ।

क्षत्रियलाई राज्यको सुरक्षाको जिम्मा सुम्पेका थिए । क्षत्रिय यसरी दोश्रो तहमा परेका थिए । यस्तै वैश्यलाई अन्न उत्पादन तथा ब्यापारका जिम्मा दिएका थिए । वैश्यले जमीनबाट अन्न उत्पादन गरी व्यापारद्वारा घर–घरसम्म पुगाउँथ्यो । शुद्रले सरसफाइ तथा सेवागर्ने जिम्मेवारी पाएका थिए । यी चारै सन्तान एउटै पिताबाट उत्पन्न भएका थिए । एउटै पिताका सन्तानका नाताले चारै एक–अर्काका भाइ–भाइ थिए । अब प्रश्न उठछ कि भाइ–भाइका बीचमा उँच– नीचको भावना कहाँबाट आयो । यस्ता भावना कस्ले ल्याए । यी कुराहरू वास्तवमा ईश्वर सिर्जित हुन् त ? यसबारे अहिलेसम्म विभिन्न ग्रन्थहरूमा विभिन्न विचार हेर्न पाइन्छ । यस्ता आदि–इत्यादि प्रश्नहरूका उत्तर मानिसहरू अहिलेसम्म पाएका छैनन् । समाजका अगुवा भनाउनेहरू आ–आफ्नै अनुकूल यसको अर्थ लगाइ मानव–मानव बीचमा द्वन्द्व फैलाउने काम गरेका छन् । यहाँ विचारणीय प्रश्न के छ भने एउटै आमाबुवाबाट जन्मेका सन्ततानहरूका बीचमा छुवाछूत जस्ता घृणीत कामहरू कसरी मौलाए त ! यस्ता विभेद कुनै समाजका लागि कोढ देखिन्छ । सृष्टिका शुरूआति कालमा यस्ता भावनाहरू पलाएका थिएनन् । यतिसम्म मात्र कहाँ छ र ? विस्तारै समय वित्दै जाँदाको अन्तरालमा यिनीहरू आर्य÷अनार्यमा विभक्त भए । उच्चवर्णका मानिसहरू आफूलाई आर्यभित्र राखिए भने निम्न वर्णका मानिसहरू अनार्यभित्र आफ्ना जीवन बिताउन बाध्य भए । आर्यबाट यिनीहरूमाथि निकै थिचोमिचोका घटनाहरू हुन थाले । उच्च वर्णका मानिसहरू शोषक तथा निम्न वर्णका मानिसहरू शोषित भएर बाच्न थाले । अहिलेसम्म पनि यस्ता थिचोमिचोका घटनाहरू निरन्तरता पाएकै छन् जो मानवीय प्रणालीका लागि एउटा कलङ्कको रूपमा लिन सकिन्छ ।

यस्ता यी वर्णहरू कालान्तरमा विभिन्न जातीय समूहहरूमा विभाजित भए । आदिकालमा सृष्टिलाई निरन्तरता दिन यस्ता बाँटफाँटका प्रथा आवश्यक भए पनि यसभित्र आएका नीच–उँचका सबालले मानव–मानव भित्र निकै ठूलो द्वन्द्व उत्पन्न गरेको देखिन्छ । समय बित्दै जाँदा हामी एउटै पिताका चार सन्तान हौं भने कुरा बिर्सन थाले । मानिसका असल मानवीय गुणहरू हराउन थाले । हाम्रो हिन्दू ग्रन्थहरमा उल्लेख भए अनुसार यस्ता विभेद मानव सिर्जित कुरा छन् । मानवजाति मात्र यस्ता जाति हुन् जसमा प्रत्येक व्यक्तिसँग प्रकृतिमा आफूलाई समायोजन गर्न एक न एक गुण हुन्छ । हाम्रो देशको प्राचीन इतिहासतिर जाँदा पश्चिममा गौतम बुद्ध, मध्य भागमा राजर्षि जनक तथा पूर्वी मागमा राजा बिराट जस्ता विभूतिहरूले आ–आफ्ना कालमा यस्ता उँच– नीचका भेदलाई नियन्त्रण गरेकै थिए । भारतमा सन् १९४७ को जनआन्दोलन पश्चात ठूल्ठूला समाज सुधारकहरूले यस्ता कलंकित कामलाई नियन्त्रण गर्न आ–आफ्ना ठाउँबाट मुख्य भूमिका खेलेकै थिए । यसले गर्दा भारतीय संविधानमासमेत छुवाछूत उन्मूलन गर्ने कुरा समेत आएकै छ । यसै क्रान्तिको प्रभाव नेपालमा पनि परेको थियो । जसले २००७ सालमा नेपालमा पनि प्रजातन्त्र आयो । प्रजातन्त्र आए पछि नीच–उँचका अवस्थामा निकै नियन्त्रण हुन् थाले । मल्ल राजादेखि शाही राजासम्म जातीय विभेद कायमै थियो । नेपालमा राजकाज सम्बन्धी कुनै कसूर हुँदा अन्य वर्णलाई फाँसीसम्मको सजाय भए पनि बाहुनलाई सो सजाय दिने चलन थिएन । राजा महेन्द्रमाथि जनकपुरको जानकी मन्दिरको गेटमा बम फालेको आरोपमा दुर्गानन्द झालाई फाँसीको सजाय सुनाइएको थियो । बाहुनलाई फाँसी दिएको यो पहिलो घटना थियो । शिक्षा र चेतनामा बृद्धि हुँदै आउँदा विस्तारै वर्ण व्यवस्थामा आधारित प्रणाली क्रमशः भत्किदै आएको छ । अहिले संविधानतः सबैसँग समान व्यवहार हुने कुरा लिपिबद्ध छ ।

जातजाति वा वर्णको आधारमा तलमाथि हुने छैन भनि उल्लेख छ । ब्रह्माजीले मानव जातिलाई जन्म दिने बेलामा वर्णको रूपमा नामाकरण कायम गरेको अर्थलाई अनर्गल रूपमा उल्टाइपुल्टाइ प्रयोग गरेर एकअर्का बीचमा अनेक प्रकारका गलतफहमी कुराहरू व्यवहारमा लागू भएको देखिन्छ । शुरूमा शिक्षा बाहुनले मात्र पाउने अधिकार सीमित गरेको थियो । समाजमा पूजापाठ उनले नै गराउँथे । समाजलाई असल बाटो देखाउने काम पनि उहाँकै थियो । गलत कामको विरोध गर्ने काम पनि उहाँकै थियो । तर त्यस्तो गरिएन बरू विभेदलाई बढाउने काममा सहयोग गरेको देखियो । देशको सुरक्षाका लागि युद्ध क्षेत्रमा जाने काम क्षेत्रीको थियो । त्यसबेला युद्ध शिक्षा लिने अन्य वर्णलाई वंचित गरिएको थियो । त्यसैले सैनिक सेवामा क्षेत्रीलाई मात्र भर्ना गरिन्थ्यो । वैश्यलाई खेतीपाति तथा व्यापारको जिम्मा लगाइएका थिए । शुद्रलाई सेवा तथा सरसफाइका काममा खटाइको थियो । यसरी समाज निर्माणको बेला एक अर्कामाथि आश्रित भएर समाजलाई अगाडि बढाइएको थियो । हाल यस व्यवस्थामा आएको विचलन मानव सिर्जित कुराहरू हुन् । यहाँ प्रश्न उठ्छ कि चारै वर्णमा को भन्दा को ठूलो र को सानो ? यसको उत्तर खोज्नु निकै सजिलो छ । आ–आफ्ना ठाउँमा कोही कसैबाट न सानो छ, न ठूलो । एक छिनका लागि यदि हामी सबैभन्दा उच्च स्थानमा यदि बाहुनलाई राख्छौ भने उनीहरू आफूभन्दा ठूला वडालाई सम्मान गर्दा खुट्टा ढोकेर नै सम्मान दर्शाएका हुन्छन । त्यस बेला त पहिलो सम्मान खुट्टाले नै पाएको हुन्छ । यसरी सबैभन्दा ठूलो खुट्टा अर्थात शुद्र नै ठहरिन जान्छ । यसरी एकबिना अर्काको अस्तित्व कायम रहन सक्दैन । ब्रह्माजीले सृष्टि निर्माण गर्दा सबैलाई एक अर्कामाथि ससम्मान आश्रित भएर बाच्न सिखाएका थिए न कि ठूला–सानामा विभक्त भई आपसमा झै झगडा गर्न अर्कोतिर हेर्दा खुट्टा वा जाँधमा चोट पटक लाग्दा के आाखाबाट आँसू तथा मुखबाट कराहट आउँदैनन् ।

त्यस्तै मुखमा केही हुँदा पूरै शरीरमा पीडा बोध हुँदैन र ! यसरी परम् ब्रह्म ब्रह्माजीले हामीलाई सृजना गर्दा उँच–नीचका भावना कहीं कतै थिएन । उँच–नीचको बीचमा भेदभाव गर्नु मानवीय सिर्जित अपव्याख्या हो । यस्ता कुरा जुन ठाउँ÷देशमा छ, त्यो ठाउँ÷देश कलंकित भएर बाँचेको छ । अहिले संत महन्थहरू पनि यस्ता वर्ण व्यवस्थालाई खुलेरै विरोध गरिरहेका छन् । योगगुरू रामदेव बाबा त आफ्नो प्रवचन कार्यक्रम खुलेरै यस्ता भेदभावको विरोध गर्दै आएका छन् । उहाँको भनाइ अनुसार हामी सबै समान रूपका ईश्वरका सन्तान हौं । हामीमा भाइ–भाइको प्रेभभावभन्दा बाहिर जानु भनेको ईश्वरको अपमान हो । यस्तै प्रखर शास्त्रीय प्रवचनकर्ता संत अनुरूद्धाचार्य महाराज पनि प्रत्येक दिन आफ्ना पवित्र प्रवचनबाट यस्ता कुराको विरोध गरिरहेका छन् । उहाँले पनि रामदेव बाबा जस्तै मानवले मानवदेखि अपमान जनक भावनाले हेर्नु भनेको ईश्वरकै अपमान हो । यस्तै अहिले भर्खर शास्त्रीय प्रवचनमा आएकी साधिका जया किशोरीजीको प्रवचनको भाव त्यस्तै देखिन्छ । जनकपुरधाममा अवस्थित सैकडौं सन्त महन्तहरूका भावना त्यस्तै देखिन्छ । उनीहरू आफ्ना भण्डारा भोजमा कसँसँग छुवाछूत तथा साना ठूलाका भेदभाव गर्दैनन् । समभावपूर्ण रूपले एक–अर्कालाई सम्मान गरेको देखिन्छ । यसै सन्दर्भ लिएर एक दिन म लेखक आफै विहार कुण्डको पश्चिमी उत्तरमा अवस्थित रामजानकी (बाल भगवान) कुटीका महन्थ बाल ब्रह्मचारी रामसागर दाससँग केही धार्मिक कुरामा सरसल्लाह लिन गएको थिएँ । छलफलको क्रममा उहाँले आफ्ना विचारलाई प्रस्तुत गर्दा यस्तै भावना पाएको थिएँ । यस्तै जनकपुरको तिरहुतिया गाछी शुक्रवारीहाटको ठीक सामुन्ने अवस्थित सामुहित कुम्हार जातीय कुटीका महन्थ विकाउ दासको भावना पनि संत रामसागर दास जस्तै पाएँ । एउटा पुस्तक लेख्ने क्रममा जनकपुरका अनेक संत–महन्तसँग भेट गर्दा उहाँहरूका भावना पनि यस्तै पाएँ । यसरी यी सन्तमहन्थका भावनालाई समेट्दा निचोरमा एउटै कुरामा टुगिन्छ भने वर्ण–वर्णका बीचमा नीच–उँचका कुरा मानवीय सिर्जित कुरा मात्र रहेछ, ईश्वरीय रचित होइन ।

विश्वका राष्ट्रहरू मध्ये खास गरी दक्षिण–पूर्वी एशियाका देशहरूमा मात्र यस्ता वर्ण–व्यवस्था रहे पनि आजको समयमा त्यसलाई उन्मूलन गर्न सबैले पाइला चालिसकेका छन् । खासगरी भारत र नेपालमा यस्ता वर्णहरू निकै धेरै जातिहरूमा विभक्त भएर एकअर्का प्रति दुराभावना फैलाउने काम गर्दै आईरहेका छन् । अहिले नेपाल गणतान्त्रिक लोकतन्त्रलाई स्वीकार गरेका छन् । जहाँ देशका सबै नागरिक समान छन् । सबैले समान रूपले देशको काममा अवसर प्राप्त गरिरहेका छन् । आधारभूत कुराहरूमा समान अधिकार प्राप्त गरेका छन् । कसैले कसैलाई जातीय वा वर्णको आधारमा तल माथिको भावनाले होच्याउन सक्दैन । यस्ता नीच–उँचका कुरालाई व्यवहारमा पूर्णरूपले निषेध गरेको छ । देश सबैको साझा हो । हामी सबै समान छौं । देशलाई निर्माण गर्न सबैका सहयोगको उतिकै महत्व छ । तब पनि हामी एकअर्काप्रति यस्तो नीच–उँचका भावना किन प्रदर्शन गर्ने गर्छौ ? एकै परिवारका चार भाइहरू छन् भने के एउटाले अर्कालाई दलितको रूपमा व्यवहार गरेको कहीं कतै देखिएको छैन । यदि त्यस्ता छैन भने हामी किन एक अर्काका बीचमा यस्ता तलमाथिको दुर्भावना व्यवहारमा उतारिराखेका छौं । यी कुराहरू मानव निर्मित कुरा भएकाले यसलाई अहिलेको २१ सौं शताब्दीसम्म पनि बोकेर हिर्नु भनेको अमानवीय काम होइन र ! यसलाई नियन्त्रण गर्नु नितान्त जसरी छ । एउा भाइ कमजोर भयो भने अर्को भाइ खुशीसँग कसरी बाच्न सक्छ ? विचारणीय कुरो रहेछ । मान्छे एक÷अर्का प्रति यस्ता व्यवहार गर्नु भनेको मानव प्रकृति विपरीत काम ठहरिन्छ । यसरी वर्णावस्थालाई चारैतिरबाट आ– आफ्नै ढंगले वर्ण गर्न थालेर समाजमा विभेद बढाउन थालेदेखि अहिलेसम्म त्यसका भूत कतिपय ठाउँमा हेर्न सकिन्छ । यस्ता असामाजिक कामले समाजमा कहिले स्थिरता आउँदैन ।

स्थिरता र शान्ति बहाल नभएसम्म समाज विकासको पथमा अगाडि बढ्न सक्दैन । हिन्दूमा जति वर्ण र जातीय संख्या मुस्लिम, क्रिश्चियन, बौद्ध लगायत अन्य धार्मिक समूहहरूमा देखिँदैनन् । हुनत अहिलेसम्म आउँदा, वर्णाश्रम प्रणालीमा निकै ठूलो धक्का लागेको छ । विभिन्न देशहरूले वर्ण, जाति, धर्म तथा संस्कृति बीचमा रहेका विभेदलाई कानूनमा उल्लेख गरी शतप्रतिशत उन्मूलन गर्ने प्रयास गरेका छन् तर अहिलेसम्म उसका केही अवशेषहरू बाँचेका हुनाले अहिले पनि सामाजिक एकतालाई खल्बलाउन पछि परेका छैनन् । कानून बनेर मात्र हुँदैन, यस बारे शिक्षा तथा चेतनामा बृद्धि हुनु पर्छ । जहाँ शिक्षा र चेतनाको स्तर उँच छ त्यहाँ यस्ता विभेद नियन्त्रण हुँदै आएका छन् । अस्तु ।

Comment


Related News

Latest News

Trending News