अपडेट 
२०७९ माघ ६, शुक्रबार ०७:५०

मधेश प्रदेश सरकारका बिना विभागीय मन्त्री सञ्जय यादवले शहीदको सपना साकार गर्न मधेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बलिदानी दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा उक्त कुरा बताएका छन् ।

उनले शासक वर्गविरुद्ध गरिएको जनविद्रोहको क्रममा लहानमा पहिलो शहादत प्राप्त गरेका शहीद रमेश महतोको सम्झनामा बलिदानी दिवस मनाउन थालिएको बताए । मधेश जनविद्रोह र उपेन्द्र यादवको नेतृत्वमा मुलुकमा यति ठूलो परिवर्तन आएको बताउँदै उनले अहिले भएको परिवर्तनले नै शहीदको सपना साकार हुने बाटो निर्माण गरेको बताए । अहिले मधेशले आफ्नो पहिचान, आफ्नो शासन र आफ्नो प्रशासन लगायतका करिब सबै अधिकार पाएको र त्यो सबै संघीयताको देन रहेको उनले बताए । ‘शहीदको सपना पनि यही थियो,’ उनले भने, ‘त्यसैले आजको यो दिनलाई शहीदको सपना साकार भएको स्वरुपमा पनि बलिदानी दिवसको रुपमा मनाउन थालिएको छ ।’ मन्त्री यादवले सिरहाको लहानमा मधेशको वीर शहीद तथा मधेश जनविद्रोहको स्मरणमा देशकै सबैभन्दा ठूलो संग्रहालयका रुपमा मधेश शहीद संग्रहालय स्थापना गर्न लागिएको बताए ।

करिब ५ बिगाहा जग्गामा सो संग्रहालय स्थापना हुने उनले जानकारी दिए । विगतमा प्रदेश सरकारले शहीद परिवारका लागि घोषणा गरेको ‘एक शहीद परिवार, एक रोजगार’बाट अधिकांश शहीद परिवारमा एक–एक जनाले रोजगारी पाएको भन्दै उनले सो अधिकार पाउनबाट बञ्चित रहेकालाई पनि आउने दिनमा रोजगारीको दिइने बताए । कार्यक्रममा उनले मधेश प्रदेश सरकारले ६३ जना शहीद परिवारलाई जनही २ लाख नगद, ब्ल्यांकेट र दोसल्ला ओढाइ सम्मान गर्नुका साथै मधेश विद्रोहका क्रममा घाइते ८१ जनालाई २५ हजारदेखि २ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराएका थिए । त्यस्तै , जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित शहीदद्वारमा रहेको शहीदहरुको प्रतिमामा माल्यार्पण गरी बलिदानी दिवस मनाइएको छ । समाजवादी युवा संघ धनुषा,समाजवादी विद्यार्थी युनियन,धनुषा र मधेसी स्वास्थ्यकर्मी फोरमको संयुक्त आयोजनामा बिहीबार भएको कार्यक्रममा शहीदका प्रतिमाहरुमा माल्यार्पण गरिएको थियो ।

बलिदानी दिवसमा आयोजित कार्यक्रममा मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झना गर्दै मौन धारण गरिएको थियो भने शहीदद्वारमा दीप प्रज्जवलन समेत गरिएको थियो । जनकपुरधाम उपमहानगरपालिका पूर्व मेयर एवम् जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य लालकिशोर साहको विशेष उपस्थितिमा भएको कार्यक्रममा समाजवादीका बलिराम कापडीसहितका विद्यार्थी तथा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यसैगरी, विभिन्न कार्यक्रम गरी वीरगञ्जमा पनि बलिदानी दिवस मनाइएको छ । वीरगञ्जको घण्टाघर नजिकै रहेको मधेशी शहीदहरुको प्रतिमामा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसक्रममा जसपाका नेताहरुले मधेश आन्दोलन र मधेशी शहीदहरुकै त्याग र बलिदानीबाट मधेशी जनताले पहिचान , संघीयता , समावेशीता लगायतका अधिकार पाउन सफल भएको बताए । तर अझै पनि मधेश आन्दोलनमा उठेका केही मुद्दा सम्बोधन हुन बाँकी रहेको उनीहरुको भनाइ थियो । त्यसको लागि सडक देखि सदनसम्म सघर्ष जारी रहेको मधेशी नेताहरुले जिकिर गरेका थिए । मधेशीको हक अधिकार प्राप्तिका लागि २०६३ देखि २०७२ सम्म पटक पटक भएका मधेश आन्दोलनमा १ सय ७ जनाले शहादत प्राप्त गरेका छन् ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता र प्रदेशसभा सदस्य प्रमोद जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुर, केन्द्रीय परिषद् सदस्य शिवजी सोनी, मधेश प्रदेश उपाध्यक्ष वृजमोहन तिवारी, जिल्ला सचिव तबरेज अहमद, युवा नेता सरोज यादव, अमित यादवलगायतको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News