नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच राष्ट्रपतिले उनलाई शपथ गराएकी हुन्। शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो।
शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। सहिदको शालिकमा माल्यार्पण गरेर सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। हिजो (५ माघ) बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्। विपक्षमा कांग्रेस गठबन्धनबाट ईश्वरी न्यौपानेले १०० मत ल्याइन्।
सभामुखको शपथअघि घिमिरेले एमालेसँगको दलीय आबद्धता त्यागेका थिए। सभामुख भएपछि सम्बन्धित दलबाट राजीनामा दिने प्रचलन छ। घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।


