अपडेट 
२०७९ माघ ७, शनिबार ०८:०९

मधेशको बलिदानी दिवसको शोकमा प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केही सांसदहरुले मौनधारण नगरेको विरोधमा मधेश प्रदेश लगायतका मधेशीहरुमा आक्रोश देखिएको बेला मधेशीदलका सांसदहरुले उपसभामुखको चुनावमा संघीयता विरोधी रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उम्मेदवारलाई मतदान गर्ने भएका छन् ।

सत्तारुढ गठबन्धनबाट उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर र नेपाली काँग्रेसबाट मुक्ता यादव उम्मेदवार छन् । यादवलाई काँग्रेस र नेकपा एसको समर्थन छ । रानामगरलाई गठबन्धन दलहरुको समर्थन छ । मधेशको बलिदानी दिवसको अवसरमा मौन धारण नगरेको विरोधमा तातिएका मधेशका युवाहरुले समाजिक सञ्जालहरुमा अत्यन्त आक्रोशपूर्ण प्रतिक्रिया व्यक्त गरिरहेका छन् । उनीहरुले सर्वाधिक आलोचना प्रधानमन्त्री प्रचण्ड र कृषी मन्त्री ज्वाला साहको भएको छ । सामाजिक सञ्जालमा प्रष्फुटित भएको मधेशको भावना विपरीत संघीय संसदमा रहेका मधेशी दलहरुले रास्वपाकी सांसद रानामगरको पक्षमा मतदान गर्ने भएका छन् । रास्वपा पार्टीले प्रदेश सभामा उम्मेदवारी दिएन् । उसले प्रदेशसभाका उम्मेदवारलाई मतदान पनि गरेन् । तर, रास्वपाकी उम्मेदवारलाई नै मधेशी दलहरुले गठबन्धनको नाममा मतदान गर्ने भएका छन् ।मधेशवादी दलहरु मध्ये प्रतिनिधिसभामा सबै भन्दा ठूला रहेको जनता समाजवादी पार्टी(जसपा)ले गठबन्धनकै उम्मेदवारलाई मतदान गर्ने दलका नेता रामसहाय यादवले बताए ।

‘हामी सत्ता गठबन्धनमा रहेका छौ’ उनले भने, त्यसकारण उपसभामुखको चुनावमा गठबन्धनकै उम्मेदवारलाई मतदान गर्छौ ।जसपाले सरकारलाई समर्थन गरेपनि एकतर्फी रुपमा मात्र गठबन्धनमा रहेको छ । गठबन्धनको बैठक लगायतका मुख्य निर्णयहरुमा समेत जसपालाई सहभागिता गराएको देखिंदैन् । प्रतिनिधिसभाको बैठकमा बलिदानी दिवसको अवसरमा मौन धारण गरेर मधेशमा अत्यधिक चर्चा पाएका जनमत पार्टीले पनि उपसभामुखमा गठबन्धनकै उम्मेदवार रानामगरलाई मतदान गर्ने भएको छ । जनमतबाट खानेपानी मन्त्री नियुक्त भएका अब्दुल खानले असन्तुष्टि जनाउँदै सपथग्रहण गरेका छैनन् । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रधानमन्त्री प्रचण्डसित भेंटगरि थप एउटा मन्त्रालय पाए खानेपानीमा पनि चित्त बुझाउने धारणा राखेका छन् ।

तर, अर्को मन्त्री अथवा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय दिनुपर्ने अडानमा राउत कायम देखिएका छन् । उनलाई प्रधानमन्त्रीले आईतबार सम्म पर्खन आग्रह गरेको बताइएको छ । प्रतिनिधिसभामा शनिबार उपसभामुखका लागि मतदान हुनेछ । प्रतिनिधिसभामा मधेश बलिदानी दिवसको अपमान प्रधानमन्त्री प्रचण्ड लगायतका नेताहरुले गरेपछि काँग्रेसले मधेशी महिला धनुषाकी मुक्ता यादवलाई उम्मेदवार बनाएको छ । उनीप्रति मधेशी दलका सांसदहरुले सहानुभूति जनाउँदै मतदान गर्ने काँग्रेसको सोँच रहेको देखिन्छ । गठबन्धनमा भूमिकाहिन रहेका मधेशी दलहरुले सरकारमा हिस्सेदारी पाउने आशमा रानामगरको पक्षमा मतदान गर्ने भएका छन् । मधेशी सांसदहरुले बलिदानी दिवसमा शहीदहरुको अपमान गर्ने नेताकै पछाडि लागेको प्रतिक्रिया सामाजिक सञ्जालमा आउन थालेकोछ । मधेशका सांसदहरुले यादवको पक्षमा मतदान गरेपनि चुनाव जित्ने संभावना छैन् । तर प्रतिनिधि सभामा मधेशी सांसदहरु एकजुट रहेको सकारात्मक सन्देश प्रवाह हुन सक्ने धारणा सामाजिक सञ्जालमा व्यक्त गरिएको छ ।

सामाजिक सञ्जालमा प्रतिकृया जनाउनेहरुले बलिदानी दिवस मनाउन सबै मधेशी सांसदले प्रतिनिधि सभामा देखाएको एक्यबद्धतालाई उपसभामुखको चुनावमा पनि कायम राख्न सुझाव दिएका छन् ।

Comment


Related News

Latest News

Trending News