अपडेट 
२०७९ माघ ९, सोमबार ०७:३२

मलंगवा नगरपालिकामा नवनिर्मित बसपार्क संचालन कार्यविधि सम्बन्धी सरोकारवालासंग छलफल गरिएको छ ।

आइतबार मलंगवा नगरपालिकाको आयोजना तथा नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा छलफल कार्यक्रम आयोजना गरिएको थियो । पूर्व मन्त्री रामचन्द्र राय तथा मधेश प्रदेशसांसद कौशल किशोर रायको विशेष उपस्थितिमा भएको छलफल कार्यक्रममा उपस्थित सरोकारवालाले नवनिर्मित बसपार्क संचालनका लागि नगरपालिकाले तयार पारेको कार्यविधि र बसपार्क सार्ने विषयमा आ– आफ्ना सुझाव दिएका थिए । कार्यक्रममा उपस्थित अधिकांश वक्ताहरुले राज्यको यति ठूलो लगानीमा निर्माण भएको सम्पूर्ण सुविधा सम्पन्न बसपार्क जतिसक्दो चाँडो संचालनमा ल्याउन सुझाव दिए । साथै उनीहरूले बस गुड्ने रिंगरोडको केही ठाउँमा यात्रु चढाउन र ओराल्नका लागि प्रतीक्षालयको निर्माण गर्नुपर्ने ,उक्त बाटोमा बनिरहेको नाला तत्काल निर्माण गर्नुपर्नेसहितका माग अघि सारेका थिए । कार्यक्रममा उपस्थित बस व्यवसायी तथा छोटो दूरीमा चल्ने साना सवारीका संचालकहरुले पनि आ–आफ्नो गुनासो र सुझाव राखेका थिए ।

मलंगवा–९ स्थित जनसागर पोखरी र बजारको छेउमा रहेको अहिलेको बसपार्क साँघुरो रहेको र यात्रु चढाउँदा र ओराल्दा सडकमा जाम लाग्ने गरेको र सुरक्षितसमेत नरहेकोले वडा न २ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा नवनिर्मित बसपार्क सम्पूर्ण सुविधा सम्पन्न रहेको साथै सुरक्षाको दृष्टिकोणले पनि राम्रो रहेकोले आफूहरु नयाँ बसपार्कमा जान तयार रहेको भन्दै बस व्यवसायीहरुले सहमति जनाएका थिए । ८ करोड ३१ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त बसपार्कको कुल क्षेत्रफल २५ रोपनी रहेको छ । यसमा साना ठूला गरी एकैसाथ ७२ वटा गाडीहरु पार्किङ गर्न सकिने निर्माण कम्पनी कन्काई इन्टरनेसनल विल्डर्स सुरुक्षा,झापाले जनाएको छ । नवनिर्मित बसपार्कमा अढाइ तल्लाको टर्मिनल भवन,पब्लिक शौचालय,खानेपानीको व्यवस्था ,यात्रु प्रतीक्षालय,बास बस्न मिल्ने,वर्कसप एरिया र पार्किङ लगायतको सुविधाहरु रहेको नगरपालिकाका सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी गराए । कार्यक्रममा प्रहरी उपरीक्षक नरेशराज सुवेदी ,जिल्ला ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक इश्वर कार्की,ट्राफिक प्रहरी मलंगवाका इन्चार्ज असइ इन्द्रभूषण मिश्रलगायत वडाध्यक्ष,नगरपालिकाका कर्मचारीलगायतको उपस्थिति थियो ।

Comment


Related News

Latest News

Trending News