अपडेट 
२०७९ माघ १०, मंगलवार ०७:४५

सीमावर्ती भारतीय क्षेत्रमा जनकपुरधामका दुई युवकको अपहरणपछि नृशंस हत्या गरिएको छ । अपहरित युवाका पारिवारिक सदस्यबाट फिरौती माग गर्न थालिएको दुई दिनपछि नेपाल प्रहरीलाई अपहरणसम्बन्धी मौखिक जानकारी प्राप्त भयो । तर, अनेकन् प्रयासका बाबजुद पनि अपहरणमा परेका युवालाई मुक्त गराउन सकिएन । सीमापार अपराधका बारेमा अनुसन्धान कार्य निकै जटिल, पेचिलो र कठिन रहँदैआएकाले पछिल्लो प्रकरणमा नेपाल प्रहरीलाई दुर्भाग्यपूर्ण असफलता व्योहोर्नुपरेको छ । खुला सीमा भएका नेपाल र भारतबीच सुपुदर्गी सन्धि र अपराध अनुसन्धानका बारेमा द्विपक्षीय औपचारिक सहमति नहुँदा अपहरण तथा हत्या, लागूऔषध ओसार पसार, मानव बेचबिखन तथा ओसारपसार जस्ता संवेदनशील एवम् गम्भीर प्रकृतिका संगठित अपराधमा पीडितको उद्धार, कसुरवार पक्राउ तथा सजाय दिलाउने काममा प्रहरीलाई मुस्किल हुने गरेको छ । भारतीय भूभागमा अपराध हुँदा नेपाली नागरिक पीडित हुँदा अनुसन्धान तथा कारबाहीका पाटोमा स्वाभाविक रूपले नेपाल प्रहरीको सम्बद्धता र संलग्नता हुने गरे पनि द्विदेशीय समस्या समाधानमा भुइँ तहका प्रहरी निकायसँग औपचारिक समन्वय र साझेदारीमा अनुसन्धान गर्ने कानुनी व्यवस्था र त्यसअनुसारका नीति तथा संरचना नभएकाले विभिन्न घटनामा नेपाल प्रहरीको दक्षतामा नै प्रश्नचिह्न उठ्ने गर्दछ ।

दुई युवकको अपहरण तथा हत्या प्रकरणमा समेत नेपाल प्रहरीले सुक्ष्म तथा सघन अनुसन्धान गर्न नसकेको भन्दै सोमबार जनकपुरधाममा प्रहरीविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनका सहभागीहरूले अनुसन्धानक्रममा सुरुमै दायरामा ल्याइएका चिकित्सकसँग कडाइका साथ सोधपुछ नगरिएको र अपहरणकारीले मृतकका आफन्तसँग घन्टौंसम्म फोनमा कुरा गरिरहँदा अपहरणकर्ताको लोकेसन पत्ता लगाउन नसकिएकाले बेलामा अपहरितको उद्धार नभएको आरोप लगाएका छन् । अपहरितको हत्या भइसकेको आशङ्का बाक्लिँदै गएपछि कडाइका साथ सोधपुछ गरिएका भारतीय स्वास्थ्यकर्मीले अनुसन्धानको आरम्भिक दिनमा दुवै युवक दुर्घटनामा परेको र तिनका उपचार आफूले गरेको जनाएका थिए । नेपाल प्रहरीले बेलामै अपहरणकर्ताका बारेमा सूचना संकलन, काउन्टरपार्ट(भारतीय प्रहरी) सँग आदानप्रदान, विश्लेषण र तिनको अधिकतम तथा सटीक उपयोग गरेको भए अपहरणमा परेकाहरूको सकुशल उद्धार सम्भव हुने उनीहरूको भनाइ छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षत्रीले भारतीय क्षेत्रमा गाडिएका अवस्थामा फेला परेका दुई युवकका शवको प्रकृति हेर्दा फिरौती रकम माग हुनुपूर्व नै उनीहरूको हत्या भइसकेको अनुमान गरिएको बताए । उनले भने, ‘ फिरौती रकम पुस २९ गते माग गरिएको छ । शवको स्थिति हेर्दा त्यसअघि पुस २८ गते नै अपहरितको हत्या भइसकेको हुनुपर्छ ।’ जनकपुरधाम उपमहानगरपालिकाका ती दुई युवक रोहित साह र विष्णु साह रोहितका मावली भारतीय जिल्ला सीतामढीस्थित बेलापरिहारमा पारिवारिक उत्सवमा सहभागी हुन पुस २७ गते जनकपुरबाट हिँडेका थिए ।

रोहित र विष्णु मन मिल्ने साथी थिए । दुवै अपहरितलाई घाँटीमा डोरी बाँधेर हत्या गरिएको प्रारम्भिक अनुमान रहेको प्रहरीको भनाइ छ । ‘शव परीक्षणपछि हत्याका बारेमा विस्तृत तथ्य आउँला नै । तर, फिरौती रकम मागिनुअघि नै उनीहरूको ज्यान लिइएको आकलन गरेका छौं,’ धनुषा प्रहरी प्रवक्ता एवम् डिएसपी क्षेत्रीले भने, ‘ अपहरण तथा फिरौती रकम माग भएको मौखिक सूचना प्राप्त हुनेबित्तिकै हामी सक्रिय भएका छौं । जिल्ला प्रहरी कार्यालय धनुषाबाट डिएसपी स्तरका अधिकारी नै भारतीय भूभागमा पुगेर भारतीय प्रहरीसँग समन्वयात्मक अनुसन्धान गरेको अवस्था छ ।’ घटनाका विषयमा अपहरितका परिवारिक सदस्यले धनुषा प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले डिएसपी दीपक राइलाई घटनास्थल भनिएको सीतामढी जिल्लामा पठाएको थियो । धनुषा प्रहरी प्रवक्ता क्षत्रीले घटनाबारे माघ ४ गते लिखित जानकारी आए पनि त्यसअघि नै अनुसन्धानमा प्रहरी सक्रिय भइसकेको दाबी गरे । उनले भने, ‘भारतीय क्षेत्रमा नेपाली नागरिकको अपहरण दुवै देशका प्रहरीको टाउकोदुखाइ बन्यो । भारतमा पाँचजना र नेपालमा दुईजनालाई पक्राउ ग¥यौं । यो दुवै देशका प्रहरीबीच अनुसन्धानमा भएका समन्वय र साझेदारीकै परिणाम हो ।’ प्रहरीसम्म सूचनाको पहुँच हुनुअघि नै अपहरितका हत्या भएकाले जीवितै उद्धार गर्न नसकिएको उनको भनाइ छ । अपहरितको हत्या भइसकेको र शव बरामद भइसकेको जानकारी माघ ८ गते अपहरितका परिवारले पाएका थिए । अन्तर्देशीय अपराध अनुसन्धानमा दुवै सार्वभौम भूगोलका अनुसन्धान संयन्त्रबीचको समन्वय र साझेदारी आधिकारिक क्षमताभन्दा व्यक्तिगत चिनजान र सम्बन्धमा भरपर्ने हुँदा अनुसन्धान सहज नहुने डिएसपी क्षत्रीको तर्क छ ।

भारतसँगको यस्तो साझेदारी दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच सीमापार अपराधबारे जानकारी विनिमय हुने अन्तरसीमा बैठकको सहमतिका कारण हुनेगरेको जिल्ला प्रशासन कार्यालय धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । ‘तर, यस्तो सहमति औपचारिक रूपमा हुँदैन,’ उनले भने । घटनाका अनुसन्धानमा भारतीय क्षेत्रमै बसेर त्यहाँका सुरक्षा संयन्त्रसँग समन्वय गरेका डिएसपी रायले आफू अनौपचारिक रूपमा अर्थात् रोटीबेटीका सम्बन्धका आधारमा मात्र भारत गएको बताए । उनले अनुसन्धानमा भारतीय प्रहरी सक्रिय भएको र नेपाल प्रहरीसँग निरन्तर समन्वय गरेको ठोकुवा गरे । ‘लामो समयसम्म अपहरितका पारिवारिक सदस्यसँग कुरा गर्नेगरेका बेला अपहरणकर्ताको लोकेसन किन ठम्याउन सकिएन भन्ने विषय प्राविधिक हो । त्यस विषयमा भारतीय प्रहरीले हामीसँग जानकारी साझा गर्नेपर्छ भन्ने छैन,’ उनले भने । नेपाल र भारतबीच सुपुर्दगी सन्धि र अपराध अनुसन्धान प्रक्रियामा साझेदारीका विषयमा कानुनी तथा नीतिगत व्यवस्था नहुँदा अपराधबारे सूचना आदानप्रदानलाई नै द्विपक्षीय अनुसन्धानका रूपमा अथ्र्याउने गरिन्छ । दुवै देशका भूमिमा हुने अपराधमा एकअर्काको संलग्नता, हस्तक्षेप र प्रभावका लागि वैधानिक आधार हुँदैन । यद्यपि व्यावहारिक ढंगले भने खास अपराधमा दुवै देशका प्रहरीबीच सन्निकट साझ्ेदारी र आरोपी हस्तान्तरण समेत हुँदै आएका छन् ।

दुई युवक अपहरण र हत्यामा संलग्न भनेर भारतमा पक्राउ परेकामाथि भारतमै मुद्दा चल्नेछ भने सोही आरोपमा नेपालमा पक्राउ परेकाहरूमाथि नेपालमै अभियोजन गरिनेछ । डिएसपी क्षत्रीले घटनाका सबै कथा प्रस्ट भइसकेको र केही व्यक्ति पक्राउ पर्न बाँकी रहेको बताए । ‘घटनामा संलग्न भनिएका चारजना फरार छन्, तिनको खाजी भइरहेको छ । पक्राउ पर्नेबित्तिकै अभियोजनको प्रक्रियामा जानेछौं,’ उनले भने । संगठित अपराधका विषयमा भने दुवै देशबीच केन्द्रीय तहमा औपचारिक पत्राचार र साझेदारी हुँदैआएको छ । केही घटनामा देशका अनुसन्धान निकाय र केहीमा कुटनीतिक निकायबीच संवाद र सहकार्य हुनेगर्छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तबहादुर कुँवरले त्यस्ता अपराधमा नेपाल प्रहरीको इन्टरपोल र सिआइबीजस्ता निकायहरू समकक्षी भारतीय निकायसँग समन्वय गर्नेगरेको जानकारी दिए । तर, सीमावर्ती क्षेत्रमा हुने अपहरण, हत्या, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार जस्ता अपराध अनुसन्धान तथा नियन्त्रणमा सीमावर्ती क्षेत्रका प्रहरीका ल्याकत, सम्बन्ध र सहकार्य गर्ने शैली निर्णायक हुने बताए । उनले जनकपुरका दुई युवक अपहरण अनुसन्धानमा प्रहरीले सम्पूर्ण क्षमताका साथ काम गरे पनि फिरौती रकम माग्नुअघि नै अपहरितको हत्या भइसकेकाले सकुशल उद्धार गर्न नसकिएको दोहो¥याए ।

Comment


Related News

Latest News

Trending News