अपडेट 
२०७९ माघ १०, मंगलवार ०८:२६

जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले र उनको पार्टीका सांसदहरुले संघीय प्रतिनिधिसभा तथा मधेश प्रदेशसभामा तथाकथित ‘मधेशीभाषा’मा सपथ लिएपछि एउटा नयाँ भाषा विवाद जन्मिएको छ । नेपाल सरकारले गराएको जनगणना तथा नेपालको सम्विधानको मातृभाषाहरुमा यसको कतै उल्लेख छैन । यस दृष्टिले प्रतिनिधिसभा तथा प्रदेशसभाले तथाकथित ‘मधेशी भाषा’मा अनुवाद गरिएको सपथ पत्रलाई मान्यता दिनु नै आश्चर्यजनक छ । हुन त, अहिले गठबन्धन सरकार भएको बेला नागरिकता प्रमाणपत्रको वैधानिकतामा प्रश्न उठेको व्यक्ति नै गृहमन्त्री बन्न सफल भएपछि त सम्विधानले न चिनेको भाषामा सपथग्रहण गर्न स्वीकृति दिनु ठूलो कुरो होइन । यो सरकार टिकाउन वर्तमान सरकारको निरिहतामात्र हो । पत्रकारहरुसंग जनमत पार्टीका प्रवक्ताले यसलाई मधेशमा बालिने भाषाहरुको ‘कोड’ भने । यस्तो हो भने मधेश प्रदेशमा बोलिने मैथिली, भोजपुरी, बज्जिका (र अवधि समेत) मधेशीभाषा हुनेभए । तर संघीय संसद सचिवालयको एउटा पत्रमा ‘मैथिली भाषामा अनुवाद गरिल्याएको’ र ‘त्यसैलाई मधेशी भाषा भनेर जिद्दी गरेको’ उल्लेख गरिएको छ । यसबाट के बुझिन्छ भने भाषाको क्षेत्रमा आफूलाई फरक देखाउन र चर्चित हुन यो बलजफ्ती प्रयत्न हो ।

यद्यपि जसरी तराई मधेशमा बोलिने भाषाहरुलाई ‘ कोड’ भाषा भनेर अधिकृत गर्न खोजेको देखिन्छ, त्यो मैथिली मात्र होइन, भोजपुरी, बज्जिका र अवधी समेतले निधार खुम्च्याउनु पर्ने विषय हो । यस विषयमा भोजपुरी, बज्जिका र अवधी भाषिक क्षेत्रमा यस प्रति खासै चासो देखिँदैन । मैथिलीभाषिक क्षेत्रमा भने यसले विरोध र आक्रोश देखिएको छ । विशेषगरी मैथिली भाषा र सँस्कृतिको क्षेत्रमा काम गर्ने संघसंस्थाहरु यसका विरुद्ध सक्रिय देखिएका छन् । सपथग्रहणको बेला सडकमा सामान्य विरोध देखिएपनि अहिले यो विज्ञप्ति र सर्वोच्च अदालतमा मुद्दाको स्थितिसम्म छ । उनिहरुले यसलाई मैथिली भाषाको अस्तित्वमाथीको प्रहारको रुपमा देखेका छन् । विशेष गरेर गणतन्त्रको स्थापनापछि मैथिलीभाषाभित्रको अन्तर्विरोध र अन्तद्र्वन्द्व तथा भाषिका(बोली) भिन्नतालाई आधार बनाएर मैथिलीभाषिक समुदायलाई विभाजित गर्ने प्रयत्नमा यसलाई नयाँ श्रृंखलाको रुपमा यसलाई हेर्न सकिन्छ । क्षेत्रीय भुगोलको दृष्टिले मैथिलीभाषामा विविध भाषिका (बोली)हरु छन् । तरपनि, तथाकथित उच्चजातीय (ब्राह्मण र कायस्थ लगायत) र अभिजात्य समुदायले बोल्ने तथा श्रमजीवि जातिहरुले बोल्ने बोलीमा भिन्नता छ ।

सत्ताको सबै क्षेत्रमा प्रायः यिनै उच्चजातीय तथा अभिजात्य समुदायको प्रभुत्व रहेकोले श्रमिजीवि समुदायको सँस्कृति र जीवनव्यवहारलाई हेय र हीन मानिए जस्तै यिनीहरुको बोलीपनि सत्तावर्गीय उच्चजातीय र अभिजात्यसमुदायको निम्ती हेय र हीन मानिँदै आएको छ । त्यसकारण श्रमजीवि जातिहरु (यादव,धानुक, कुर्मी, सूँडी, तेली, खत्वे, तत्मा आदि, वर्णाश्रमको श्रेणीमा ब्राह्मणेत्तर वैश्य र शूद्रजातीय)को बोलीलाई ठेठी मैथिली भनियो । (ठेठशब्दको अर्थ ग्रामीण हुन्छ ।)यद्यपि मैथिलीभाषाको ऐतिहासिक विकासको अध्ययन गर्दा के देखिन्छ भने अहिलेपनि मैथिलीका मौलिक शब्दहरु श्रमजीवि जातिहरुले बोल्ने ठेठी मैथिलीमै जीवित छन् । तथाकथित शुद्ध मैथिली संस्कृतबाट आएका तत्सम शब्दहरुको कब्जामा देखिन्छ । तर मैथिलीभाषाको भाषिक सत्तामा उच्चजातीय र अभिजात्य समुदायले बोल्ने ‘शूद्ध मैथिली’को बहुआयामिक वर्चस्व देखिन्छ । विशेष गरेर पाठ्यक्रम र साहित्यमा संस्कृतिनिष्ठ मैथिलीको प्रभाव छ । यो प्रभाव कतिसम्म जब्बर छ भने सत्तावृत्तमा रहेका श्रमजीवि जातिका विद्वानहरुले समेत ‘शुद्ध मैथिली’ लेखनमा गर्व अनुभूत गर्ने गर्छन् । यसले मैथिलीभाषिक क्षेत्रमा देखिने ‘शुद्ध मैथिली’ र ‘ठेठी मैथिली’को अन्तर्विरोधभाषामा बोली (भाषिका, डायलेक्ट)को हो भने साँस्कृतिकक्षेत्रमा हिन्दु वर्णाश्रमबाट उत्पन्न ब्राह्मणवादी विभेदको समस्या हो । आधुनिक राजनीतिक तथा साँस्कृतिक चेतनाहरुको विश्वव्यापी प्रसारको कारण राजनैतिक सत्तामा केही अंशमा नै भएपनि श्रमजीवि जाति (वर्ग होइन)को अगुआहरुले घुसपैठ गर्न सफल भएको देखिन्छ । तर भाषिक सत्तामाश्रमजीवि जातिहरुका विद्वानहरुले घुँडा टेकेको स्थिति छ । ठीक यसै बिन्दुमा सत्ताका अवसरवादी राजनीतिक शक्तिहरुले मैथिली भाषाभित्रको भाषिकाहरुको अन्तर्विरोधलाई दुई फरक भाषाको रुपमा परिवर्तन गर्न चाहन्छन् ।

उनिहरु साँस्कृतिक अन्तर्विरोध र आक्रोशलाई भाषिक अन्तर्विरोधमा रुपान्तरण गर्न चाहन्छन् । तर यो घातक हो । यो ग्रामीण क्षेत्रमा बोलिने ठेठी मैथिलीको अस्तित्व समाप्त पार्ने अत्यन्त खतरनाक खेल हो । नेपालमा सबैभन्दा बढी बोलिने भाषा मध्ये दोस्रो मैथिलीमा राजनैतिकरुपमा पहिलो हमला मैथिलीभाषी क्षेत्रमा हिन्दीलाई मातृभाषाको रुपमा जनगणनामा लेखाउने दुष्प्रयत्नको रुपमाभयो । यो सफल हुनसकेन । यसछि दोस्रो हमला मधेशप्रदेशमा एउटा खास जातिविशेष समुदायले मैथिली नै बोलेपनि आफूलाई गंगा नदीभन्दा दक्षिणी क्षेत्रमा बोलिने मगहीभाषीलाई मातृभाषाको रुपमा अभियाउनु चलाउनु थियो । कोड भाषाको रुपमा मान्ने हो भने त जनमत पार्टीले भनेको मधेशीभाषा मैथिली, भोजपुरी र अवधी, लगायत तराई मधेशमा बोलिने सबै मातृभाषीहरु प्रभावित हुने स्थिति छ ।तर संघीय र प्रदेश संसदमा प्रस्तुत गरिएको सपथ पत्रमा मैथिलीमा लेखेर मधेशीभाषाको दावीलाई मैथिलीमाथीको तेस्रो हमला भन्न सकिन्छ । ब्राह्मणवाद विरोधी कोणबाट हेर्ने हो भने यसबाटपनि ठेठी मैथिलीको अस्तित्व नै प्रभावित हुने देखिन्छ । यो उचित होइन । आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्नको निम्ती सांस्कृतिक उत्तेजना फैलाएर कुनै समुदायको भाषिक परिचय नै समाप्त गर्न खोज्नू ठिक होइन । निश्चय नै मैथिलीभाषी समुदायमा उच्चजातीय ब्राह्मणीय र ब्राह्मणेत्तर समुदायहरुको भाषिक सत्तामा वर्चस्वको अन्तद्र्वन्द्व छ, तर यो तथाकथित शुद्ध मैथिली र ठेठी मैथिलीको द्वन्द्व हो । त्यसैले साहित्य होस वा पाठ्यक्रम वा मानक सबै क्षेत्रमा ठेठी मैथिलीको वर्चस्वको निम्ती राजनैतिक र साँस्कृतिक संघर्ष र प्रयत्नहरु नै सही दिशा हुनसक्छन् ।

मैथिलीको भाषिक सत्तामा ब्राह्मणीय मैथिली (शुद्ध मैथिली)को वर्चस्व रहेपनि व्यक्तिको रुपमा उच्चजातिय विद्वानहरु संगै श्रमजीवि जाति(वर्ग होइन)का, डा. रामावतार यादव, डा. योगेन्द्र यादव, रामरोस कापडि रामनारायण देव प्रभृत्त अनेकौँ विद्वानहरु सत्ताकेन्द्रमा निर्णायक र प्रभावशाली छन् । उनिहरुले मैथिलीभाषी क्षेत्रमा बहुसंख्यकले बोल्ने ठेठी मैथिलीको पक्षमा सचेतरुपमा लेखन गर्नुपर्छ । यसोभन्नुको तात्पर्य सबै दायित्व ठेठी मैथिली समुदायबाट आएका विद्वानहरुको हो भन्ने होइन, सचेत र भाषिक अधिकारप्रति इमान्दार अन्य विद्वान तथा भाषाविद्हरुको दायित्वपनि उत्तिकै हो । एकातिर उच्चजातीय समुदायको वर्चस्व, अर्कोतिर श्रमजीवि समुदायमा भाषिक अगुआको अभाव र अर्कोतिर आफूले बोल्ने भाषाप्रति गर्वप्रतिको अज्ञानताले राजनीतिक अवसरवादी विद्वान र राजनीतिबाजहरुलाई जनसमुदायबीच भ्रम सृजना गर्ने मौका दिएको यथार्थ बुझ्न आवश्यक छ । वस्तुतः मैथिलीभाषी क्षेत्रमा बोलने बहुविध बोलीहरु बारे जनसमुदायलाई अवगत गराउन सकिएन भने ठेठी मैथिलीको अस्तित्व प्रभावित हुने खतरा छ । यसै क्रममा उन्नाइसौँ शताब्दीको अन्तिम र बीसौँ शताब्दीको प्रारम्भमा भाषा सम्बन्धी व्यापक सर्वेक्षण गराएका तथा प्रायः दक्षिणएसियाका भाषाहरुबारे कृतिहरु प्रकाशित गरेका तत्कालीन अँग्रेज अधिकारी जर्ज अब्राह्म ग्रियर्सनको उत्तरी भारतका भाषाहरु बारेका धारणाहरुको चर्चा गर्नु सान्दर्भिक होला । हुन त उनले तत्कालीन भारतीय क्षेत्रको भाषाहरुको मात्र सर्वेक्षण गराएका थिए, तर हालको चुरे पर्वत श्रृंखलाभन्दा दक्षिणको तराई क्षेत्रमा बस्ने भाषिक समुदायपनि त्यससंग मेल खाने हुनाले यस क्षेत्रको भाषाबारे पनि ग्रियर्सनको भाषिक निष्कर्षहरुले मेलखान्छ, महत्व राख्छ । यस लेखमा विवेचित मैथिली, मगही र मधेशी भाषा बारेपनि उनले चर्चा गरेकोले यहाँ सामान्य चर्चा गर्नु उचित नै हुनेछ ।

यस सम्बन्धमा उनका दुईवटा पुस्तकहरु लिंग्विस्टिक सर्वे अफ इन्डिया (१९०३), ‘एन इन्ट्रोडक्सन टू द मैथिली डाइलेक्ट अफ द बिहारी ल्याङ्गवेज एज स्पोकेन इन बिहार पार्ट १ ः ग्रामर, कलकत्ता, (१८८१) महत्वपूर्ण छन् । ग्रियर्सनले एउटा लिखित पाठलाई सबै भाषिक क्षेत्रमा पठाएर त्यसको अनुवाद संकलन गरेका थिए । र, यस आधारमा उनले विविध भाषाहरुबीचको भिन्नता, भाषाहरुको मौलिकता र व्यापक क्षेत्र तथा कुनै भाषाभित्रको भाषिका तथा त्यसको क्षेत्रीय परिचय निर्धारण गरेका थिए । अन्य विद्वानहरु जस्तै ग्रियर्सनलेपनि साँस्कृतिक मिथिला र मैथिलीभाषाको भौगोलिक सीमा पूर्वमा कोशी, पश्चिममा गन्डकी, उत्तरमा (चुरे) हिमालय र दक्षिणमा गंगा मानेका छन् । उनले मैथिलीभाषी क्षेत्रलाई पाँचवटा क्षेत्रमा बाँडेका छन् ः स्टैन्डर्ड मैथिली, साउदर्न (दक्षिणी) मैथिली, ईस्टर्न (पूर्वी) मैथिली (छिकाछिकी मैथिली), वेस्टर्न (पश्चिमी) मैथिली र जोलहा मैथिली । ग्रियर्सन अँग्रजी अधिकारीको रुपमा सदर मुकाम गरेर मधुबनीमा बसेका थिए । अर्को कुरा उनका नजिक र सल्लाहकार मैथिली विद्वानहरु उच्चजातीय ब्राह्मण र कायस्थहरु नै थिए । त्यसरी नै व्याकरणीय अनुशासनबद्ध लिखित पाठहरुपनि संस्कृतनिष्ठ मैथिली नै उनलाई सहजरुपमा उपलब्ध थियो ।

अन्य मैथिलीबोलीहरुमा लिखित पाठ थिएन । त्यसैले उनले मधुबनी, दरभंगा र पुर्णियाको मैथिलीबोलीलाई स्टैन्डर्ड मैथिली भने । यो उनको सत्तावर्गीय अभिजात्य चरित्र थियो, जस्ले बहुसंख्यक श्रमजीवि समुदायले बोल्ने मैथिलीको मौलिकतासंग प्रभावित हुन दिएन । यही स्टैन्डर्ड मैथिली अहिले शुद्ध मैथिलीको रुपमा विकसित भएको छ । हुन त नेपालको उच्चजातीय र अभिजात्यवर्गले बोल्ने शुद्ध मैथिली दरभंगा र मधुबनीकाले बोल्ने भन्ने केही भिन्न छ, तरपनि अन्तर्विरोधको रुपमा शुद्ध मैथिलीको अन्तर्विरोध त्यसैबाट प्रेरित छ । आउनुस यहाँ ग्रियर्सनको सर्वेक्षणमा संकलित मैथिलीका केही विविध बोलीहरु हेरौँ । यहाँ स्टैन्डर्ड मैथिली बाहेकका प्रस्तुत गरिएको छ ः

(१) छिकाछिकी मैथिली (मुंगेर, भागलपुर, सन्थाल परगना) “एक आदमीके दूटा बेटा रहै । ओकरामेँ से छोटका अपनो बाप से कहलकै कि बाबू जे धन हमरा बखरा मेँ होय ऊ हमरा दै दे । एकरा परऊ अपनो धन ओकरा बाँटी देलकै । आरो थोड़ी दिन भी नय बितलै कि ओकरो छोटका बेटा सब अपनो धन इकट्ठा करि के कोइ दोसरो देश घूमै लै चली गेलैआरो वहाँ अपनो सब धन के ऐश जैस मेँ खरच करी देलकै । तबे ही मुलुक मेँ बढी अकाल पडलै आरु ऊ कंगाल होय गेलै ।”

(२) पूर्वी दक्षिणी (संथाल परगनाको देवगढ सबडिभीजन) “एक आदमीके दू बेटा छलै । ओकरा मे से छोटका अपना बाप के कहलकै, हो बाबु, हमरा हिसा मे जे मालजाल होत से बाँटि दे । तब बाप सभे मालजाल बाँटि देलकन ।”

(३) पश्चिमी मैथिली ( तत्कालीन मुजफ्फरपुर जिल्ला (हालको मुजफ्फरपुर, सीतामढी) को चम्पारणसंग जोडिएको भोजपुरी विशेषभाषिका बाहेकको क्षेत्र) : “हम भैँस खोल क मुदै के दूरा पर से लेले जाइत रही । पैँडा मेँ चौकीदार से भेँट हो गेल । ऊ हमरा के ध क थाना मेँ ले गेल ।….हम्मर खेत दू बेर ई भैँस चर गेल ह । …दू पाजा धान काट लेले छथ । देवापुर कररिआ से छौ कोस है ।”

(४) दक्षिणी मुजफरपुरको मैथिली(भोजपुरी प्रभाव (केन्द्र र दक्षिणी मुजफरपुर) ।हाजिपुर सबडिभिजनमा रेकर्ड गरिएको ः “एक जना के दूगो बेटा रहलइन । ओकरा मे से छोटका अपना बाबूसे कहलकइन हो बाबू धन के बखरा जे कुछ हमर हो से द । तो ऊ ओकनो के बाँट देलकइन ।….बाबू हो ईसर के इहाँ ओ तोहरा इहाँ पाप कैली । अब ऐसन नही के तोहर बेटा कहाई ।” (पश्चिमी मैथिली र दक्षिणी मुजफ्फरपुरको मैथिली क्षेत्र जो गंगाभन्दा उत्तर हाजीपुरदेखी एउटा सानो बेल्टको रुपमा नेपालको रोतहट र सर्लाहीको पश्चिमी भेगसम्म पुग्छ, हाल बज्जिकाको रुपमा परिचित छ ।)

(५) जोलहा बोली (उत्तर बिहार र तथा नेपालका मैथिलीभाषी क्षेत्रमा मुस्लिम समुदायले अरबी, इरानी र उर्दू शब्दहरु मिसिएको मैथिली । यहाँ ग्रियर्सनले दरभंगाका मुस्ल्मिहरुले बोल्ने भाषिका उल्लेख गरेका छन् ) : “कोनो आदमी के दो बेटा छलैन । ओई मेँ से छोटका बेटा अपना बाप से कहलन हे बाप, धन मेँ से हम्मर हिस्सा होय से हमरा बाँट दअ ।…ओकर घरबाला ओकरा खेत मेँ सूअर चराबे भेजलकै । तब ऊ छीमडि मे जे सूअर आए अप्पन पेट भरे चाहलक और कोए ने ओकरा कुछ दईक ।….” ग्रियर्सनले मगही भाषालाई गया र पटना गरि दुई भागमा विभाजित गरेका छन् । उनको सवेक्षणले मगहीलाई गंगाभन्दा दक्षिणको तथा केही मात्रामा गंगााको उत्तरी तटमा बोलिने भाषाको रुपमा उल्लेख गरेका छन् । उनले मगहीको भाषिक क्षेत्र गया, पटना, मुंगेरको दक्षिणी गंगेटिक क्षेत्र, हजारीबाग, पलामु, छोटा नागपुर, सन्थाल परगानाको दक्षिणी क्षेत्र, दक्षिणी राँची (भोजपुरी प्रभावित), केही बंगाल र उडीसासंग जोडिएको क्षेत्र भनेका छन् ।

(६) (क) गयाक्षेत्रमा बोलिने मगही : “एगो आदमी के दू गो बेटा हलथिन । उनकँही मे से छोटका बाप से कहलक के ए बाबू जी, तोहर चीज बतुस मे से जे हमर बखरा हो है से हमरा दे द । तब ऊ अपन सब चीज बतुस उनकनही दुनोँ मे बाँट देलक ।….हमनी के उचित है के खुशी मचावीँ आउ आनन्द करी, काहे के तोर ई भाई मर गेलउ हल जीलउ है, भुलल गेलउ हल मीललउ है ।।”

(ख) पटना क्षेत्रमा बोलिने मगही : “…झूठ डर के मारे अइसन डरइत हलो कि जेकर हाल हम न कह सकियो । का भेल कि जब हम सब पहार के किनारे किनारे बजार से अवइत हलो तब पहार के उपरे बाघ बहुत जोर से गरजइत हल ।…से पथर नीचे बिगइत हलै, सेई बीसो हाथ नीचे खडबडाइते अवइत हलइ ।…”

(७) मधेशी

ग्रियर्सनका अनुसार मुजफ्फरपुरको पश्चिमी सीमा क्षेत्रमा जति जति पश्चिम गयो मैथिलीको प्रभाव घटदै र भोजपुरीको प्रभाव बढदै जान्छ । यसै क्रममा गन्डक नदीको तटवर्ती क्षेत्रमा ढाका थानाको दुई माइल चौडा र अठार माइलको क्षेत्रमा बोलिने भाषामा भोजपुरीको प्रभाव बढी र मैथिलीको प्रभाव कम पाइन्छ । यो उत्तर पूर्वी सारण र पूर्वी गोरखपुरको भाषासंग मिल्दो छ । यो पहिलो नजरमा भोजपुरी जस्तो देखिएपनि प्रवृत्तिको दृष्टिले मैथिली नै हो । यो दुईभाषाको बीचको भएर होला, स्थानीय स्तरमा यो बोली मधेसीको रुपमा चिनिन्छ । यसलाई केहीले गोरखपुरी भनेपनि ग्रियर्सनले यसलाई उपयुक्त मानेका छैनन् । यो बोली बोलिने क्षेत्र सारण जिल्लामा पर्ने हुनाले र यो प्राचीन मिथिलाका भौगोलिक सीमाभित्र पर्ने हुनाले उनले यसलाई मैथिली नै भनेका छन् । यसको उदाहरण हेरौँ ः “कवनो आदमी का दुगो बेटा रहे । छोटका वापसे कहलक के ए बाबु धनमेँ जे हमार बखरा होखे से हमार दे दी । तब ऊ ओकनी के आपन धन बाँट देलक । ढेर दिन नाही बीतल के छोटका बेटा साजी चीज जुगताके बहरा चलगइल आ उहाँ लुचपन मे अपन सजी लुटा देलक

(पृष्ठ ३००, लिंग्विस्टिक सर्वे अफ इन्डिया)”

मैथिली, मगही र मधेशी बोली बारे यहाँ प्रस्तुत तथ्यहरुले के देखिन्छ भने अहिले नेपालको मैथिलीभाषी क्षेत्रमा राजनीतिक आग्रहको आवरणमा आएको भाषिक प्रयत्नहरु मैथिली, विशेष गरेर यस क्षेत्रको आफ्नो ठेठी मैथिलीप्रतिको प्रहार हो । निश्चितरुपमा मैथिलीभाषी समाजमा साँस्कृतिकरुपमा ब्राह्मणवाद र ब्राह्मणेत्तरको अन्तर्विरोध बलियो छ । तर यो यस क्षेत्रमा मात्र होइन, समग्र तराई मधेश र समग्र देशकै समस्या हो । यस्तोमा उत्पीडित वर्ग र समुदायबीचको भाषिक र साँस्कृतिक एकताले मात्र सकारात्मक परिणाम ल्याउन सक्छ । यो ब्राह्मणवादको विरुद्ध उत्पीडित समुदायको साझा संघर्षको निम्तीपनि जरुरी छ ।यस्तोमा राजनीतिक दलहरु मात्र होइन, भाषिक र साँस्कृतिक समुदायहरु सचेत हुनु आवश्यक छ ।

Comment


Related News