अपडेट 
२०७९ माघ १०, मंगलवार ०८:५१

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम दिनप्रतिदिन सरसफाइको अभावमा दुर्गन्धित बन्दै गएको छ । अस्पतालको सबैभन्दा संवेदनशील आइसीयुदेखि आकस्मिक कक्षबाट निस्कने जोखिमयुक्तसमेतका फोहोरको प्रभावकारी व्यवस्थापन नहुँदा बिरामीहरुमा विभिन्न प्रकारको संक्रमण बढाउने जोखिम देखिएको छ । अस्पताल प्रशासनको लापरबाही तथा सर्वसाधारणमा जनचेतनाको अभावले गर्दा अस्पतालको वार्डहरु दुर्गन्धित भइ संक्रामक बन्दै गएको कुरुवाहरुको आरोप छ । प्रत्येक शैय्यामुनि कम्तीमा एउटा डष्टबीन हुनैपर्ने भए पनि यस अस्पतालको वार्डमा रहेका दुई सय भन्दा बढी शैय्यामा दुई वटा डष्टबीन नरहँदा जताततै जोखिमयुक्त फोहोरहरु फालिने गरिएकोले संक्रमणको जोखिम बढेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले प्रयोग भएका सुइ,बिरामीको उपचारका क्रममा निस्कने पीप, रगतजस्ता फोहोर, शरीरका अङ्ग, चिकित्सकीय उपकरण, रसायनिक पदार्थ, नष्ट नहुने औषधिजन्य वस्तुका भाग र रेडियो विकिरणको समुचित व्यवस्थापनमा जोड दिँदै आएको छ । तर,प्रादेशिक अस्पताल जनकपुरमा भने यस्ता फोहोरहरु विभिन्न वार्डमा बिरामी भएकै खाटमुनि फालिने गरिएको छ । जसले गर्दा एउटा रोगीमा भएको संक्रमण अर्को रोगीमा सर्ने सम्भावना रहेको चिकित्सकहरु बताउँछन् । आफन्त बिरामी भेट्न अस्पताल पुगेका डा.विजय कुमार सिंह भन्छन्,‘अस्पतालबाट निस्किने फोहोर तथा वार्डहरु दुर्गन्धित हुनु दुर्भाग्यपूर्ण छ ।’ तत्कालीन अञ्चल अस्पताल जनकपुरमा मेडिकल सुपरिटेण्डेन्ट भएर काम गरिसकेका डा.सिंहले अस्पतालबाट निस्किने फोहोरको समुचित व्यवस्थापन गर्न नसकिए उपचारमा रहेका रोगी मात्र होइन उनका आफन्त (कुरुवा)हरुमासमेत संक्रमणको खतरा छ । हाल अस्पताल प्रशासनिक रुपमा केही ठूलै समस्या रहेको आफूलाई आभास भएको बताउँदै उनले भने,‘फोहरको उचित व्यवस्थापन गर्नैपर्छ यो अस्पतालको लागि अति सामान्य कर्तव्यमा पर्छ यदि यसो गरिँदैन भने यो रोगीहरुमाथि अन्याय नै हो।’ तरल तथा ठोस फोहोर छुट् याएर अस्पतालजन्य फोहोर व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकामा प्रष्ट रुपमा उल्लेख गरिएको छ तर दुर्भाग्य प्रादेशिक अस्पताल जनकपुरधाममा भने सुइदेखि रगतजन्य फोहोरसमेत एकै ठाँउमा थुपारिएर राख्दा संक्रमणको खतरा अझै बढेको छ ।

गत असोज महिनामा फोहोरकै कारणले गर्दा प्रसूति गृहमा एकै पटक एक दर्जन महिलामा शल्यक्रियापछि संक्रमण भएको खुलेको थियो । एक दुई दिनमा शल्यक्रिया भएको ती प्रसूतिहरुमा एकै प्रकारको संक्रमण देखिएको पीडित बिरामी सिरहा लहानका लक्ष्मी साहले गरिन् । उनले भनिन,‘मेरो सीएस गरेर बच्चा जन्मिएको थियो डिस्चार्ज भएर गएपछि गर्भाशयमा घाउ नै हुने गरी संक्रमण भएको थियो र पछि बुझ्दै जाँदा यो समस्या ममा मात्र होइन दर्जन भन्दा बढी महिलामा भएको थाहा पाएको थिएँ।’ फोहोरै फोहोर देखेर काम गर्ने चिकित्सकहरुसमेत दिक्क लागेर दूखित हुने गरेको गुनासो गर्दै नाम नखुलाउने शर्तमा एक चिकित्सकले भने,‘हामीले के गर्ने हाम्रो काम हो उपचार गर्ने व्यवस्थापन नै अस्त–व्यस्त छ साँचो कुरो गर्ने हो भने हामीलाई यहाँ काम गर्ने वातावरण छैन, यसको लागि प्रशासन नै मुख्य जिम्मेवार हो।’ अस्पताललाई सफा सुग्घर राख्न र फोहर व्यवस्थापनका लागि ४६ जना सफाइकर्मीहरु कार्यरत छन् तर, २४ घण्टमा एक पटक भन्दा बढी झाडु लगाइंदैन । कम्तीमा फिनाइलको प्रयोग गरी दिनको चार पाँच पटक पोछा लगाए पनि सफा नहुने अवस्थामा सफाइ कर्मचारीहरुको कामचोरी हदैसम्म पुगेको बताइन्छ ।

यता कर्मचारीको अभाव रहेको भन्दै सरसफाइमा समस्या उत्पन्न भएको अस्पतालका उप निर्देशक डा.कृष्णदेव दास बताउँछन् । तर,कर्मचारी हुँदा हुँदै पनि व्यवस्थापनको अभावमा अस्पताल फोहोर बन्दै गएको अस्पतालकै कर्मचारीहरुको गुनासो छ । एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने,‘सफाइ कर्मचारी होस कि कार्यालय सहयोगी कसैले चिकित्सकलाईसमेत टेर्दैनन् नत्र जति सफाइ कर्मचारी छन् उनीहरुले इमान्दारीपूर्वक काम गरे केही हदसम्म भए पनि अस्पताल परिसर सफा देखिन्थ्यो।’ अस्पतालमा निर्माण कार्य जारी रहेकोले केही शौचालयहरुको अवस्था दुर्गन्धित बनेको स्विकार गर्दै यसलाई व्यवस्थित गर्न आफू लागि परेको दाबी गरे । विगत केहीदिन यतादेखि अस्पतालका २२ जना कर्मचारीलाई लापरबाही गरेकै कारण विभागीय कारबाहीसमेत गरेको उनले जानकारी दिए । यता अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा अस्पतालसंग टाँसिएर रहेको रंगभूमि मैदान डष्टबीन बनेको छ । सरोकारवालाहरुको उदासिनता र अस्पताल प्रशासनको गैर जिम्मेवारपूर्ण रबैयाको कारण अस्पताल भित्र मात्र होइन बाहिरसमेत संक्रमणको जोखिम बढेको छ ।

Comment


Related News

Latest News

Trending News