अपडेट 
२०७९ माघ ११, बुधबार ०७:३७

शिक्षामा लगानी प्रत्यक्ष र परोक्ष गरी धेरै किसिमले भइरहेको हुन्छ । अभिभावक र सरकार दुवैले लगानी गरिरहेका हुन्छन् । अभिभावकले गर्ने लगानी सोझै सबैले देखिने हुन्छ तर राज्यले गर्ने लगानीप्रति अभिभावक उदासिन हुन्छन् । वास्तवमा शिक्षामा कसको कति लगानी भइरहेको हुन्छ भन्ने कुरा प्रति जनसाधारणको खासै चासो रहेको पाइँदैन । तर शिक्षामा भइरहेको लगानीको विषयमा भने जानकारी राख्नु उचित हुन्छ । अहिलेसम्म रौतहटको मौलापुर नगरपालिकाले शिक्षामा सबै भन्दा बढी लगानी गरेको तथ्य सार्वजनिक भएको थियो । मौलापुर नगरपालिकाले कूल बजेटको चालिस प्रतिशत भन्दा बढी लगानी शिक्षाको क्षेत्रमा गरेको सार्वजनिक भएको थियो । नेपाल सरकारको पनि सबै भन्दा बढी रकम शिक्षामा लगानी भइरहेको छ तर अपेक्षा भन्दा कम भइरहेको गुनासो आउने गरेको छ । मधेश प्रदेशको शिक्षामा कति लगानी छ भन्ने कुराप्रति सर्वसाधारणको खासै चासो रहेको छैन तर शिक्षामा मधेश प्रदेशले केही सकारात्मक सुरुआत गरेको थियो । छात्रालाई साइकल प्रदान र ल्यापटप दिने वाचालाई राम्रो सुरुआत मान्न सकिन्छ । साइकल वितरण कार्यक्रम त एक हिसाबले असफल भयो । कुनै कुनै पालिकामा यो दुई चोटि भयो त कुनै कुनै पालिकामा भने पुग्नै सकेन । पहुँचको भरमा वितरण भएको आरोप लाग्यो । सुरुआतमा केही कमी कमजोरी त भइ नै हाल्छ तर पनि सकारात्मक प्रभाव पर्न सकेन । यसै गरी छोरी विमा कार्यक्रमलाई पनि शिक्षा सित जोड्न सकिन्छ । यसै गरी केही विद्यालयमा स्वास्थ्यकर्मी पठाउने काम पनि प्रदेश सरकारले गरेको छ । यसको पनि मापदण्ड होला तर अधिकांश विद्यालयमा पुग्न नसक्दा यो कार्यक्रम पनि धेरै प्रभावकारी हुननसकेको गुनासो रहेको छ । यद्यपि यस सुरुआतलाई पनि निकै राम्रो मान्न सकिन्छ । संघ सरकारले शिक्षामा देखिने गरी शिक्षक दरबन्दी, छात्रवृत्ति, पाठ्यपुस्तक जस्ता ठूला लगानीका काम गरेका छन् । शिक्षा क्षेत्रको भौतिक संरचनामा संघ सरकारको भूमिका अहिलेसम्म निर्णायक नै रहेको छ । गत पाँच वर्षमा प्रदेश सरकारले पनि कतिपय अवस्थामा केही मात्रामा भौतिक पूर्वाधार क्षेत्रमा लगानी गरेको छ तर अन्य क्षेत्रमा खासै लगानी गर्न नसकेको देखिएको छ । प्रदेश संरचना भर्खर बामे सर्दैछ । प्रदेश सरकारले विस्तारै आफ्नो टेक्ने आधारहरु निर्माण गरिरहेका छन् । प्रदेश नम्बर १ बाहेक अन्य सबै प्रदेशको स्थायी राजधानी तथा प्रदेशको नाम तोकिसकिएका छन् र प्रदेशको प्रदेश सभाभवन, मुख्यमन्त्री तथा मन्त्रीहरुको कार्यालय, निवास, प्रदेश स्तरका अन्य कार्यालयहरुको भवन निर्माण जस्ता कामहरु हुन बाँकी नै छन् । यस दिशामा पनि विस्तारै कामहुने कुरामा कसैले अविश्वास नगर्ला ।

विस्तारै प्रदेश बलियो हुँदै जाने आशा पनि गर्न सकिन्छ । यति हुँदा हुँदै पनि केही क्षेत्रमा प्रदेशले राम्रो काम गरेको छ र अब अझ बढी राम्रो काम गरेर देखाउने अवसर आएको छ । प्रदेश सरकारले शिक्षामा अझ बढी लगानी बढाएर शिक्षाको क्षेत्रमा थप काम गर्ला भन्ने आधार देखिएको छ । गत केही वर्षमा नै मधेश प्रदेश सरकारले विभिन्न विश्वविद्यालयहरुको स्थापना गरेको छ । विस्तारै विश्वविद्यालयहरु संचालन हुँदै जालान् । विश्वविद्यालयहरुले विश्वास आर्जन गर्दै जालान् भन्ने विश्वास मधेश प्रदेशका बुद्धिजीवीहरुले लिएका छन् । शिक्षाको क्षेत्रमा गरिएको लगानीले तत्काल त प्रतिफल दिँदैन भन्ने कुरो सबैले बुझेका छन् । यसमा गरिएको लगानीले विस्तारै सकारात्मक प्रतिफल दिने हो । शिक्षाको लगानीले दीर्घकालीन प्रतिफल दिने हो । दीर्घकालीन सकारात्मक प्रतिफल दिने शिक्षामा सुझबुझपूर्ण किसिमले व्यवस्थित लगानी गर्नु उचित हुन्छ । शिक्षाको उचित र व्यवस्थित लगानीले दीर्घकालीन प्रतिफल दिने र प्रदेश समुन्नत हुने विश्वास लिन सकिन्छ । फेरि पनि शिक्षामा जबसम्म लगानी हुँदैन तब सम्म शिक्षामा गुणस्तरको कुरा आदर्श मात्र हुन सक्छ । शिक्षाको लगानी क्षेत्र धेरै छ । अहिले विद्यालयमा दिवाखाजा कार्यक्रमले प्रभावकारिता ल्याइरहेको देखिएको छ । विद्यालयमा दिवा खाजा कार्यक्रम अन्य देशमा पनि लागू छ । बिहारमा मुख्यमन्त्री पिछडा वर्ग एवम् अति पिछडा वर्ग छात्रावास अनुदान योजना कार्यक्रम पनि संचालनमा रहेको छ । छात्रावासमा बस्ने विद्यार्थीलाई प्रति महिना एक हजार रुपैया छात्रवृत्ति सोझै खातामा नै पठाइन्छ । छात्रावास खाद्यान्न आपूर्ति योजना पनि संचालनमा रहेको छ जसबाट एक विद्यार्थीलाई प्रति महिना नौ किलो चामल र छ किलो गहुँ गरी पन्ध्र किलो खाद्यान्न आपूर्ति गरिन्छ । छिमेकी देश भारतको छिमेकी प्रदेश बिहारको प्रसंग आइसकेको छ । बिहारमा शिक्षामा ठूलो लगानी हुने गरेको यथार्थ सबैले देखे बुझेकै सत्य हो । यसै गरी भारतका अन्य प्रान्त वा राज्यहरुले शिक्षामा ठूलो लगानी गर्दछन् । भारतका प्रान्तहरुले शिक्षामा राम्रो लगानी गरेको देखिएको छ । शिक्षामा सबैभन्दा बढी लगानी दिल्लीले गरेको देखिन्छ । एक तथ्यांक अनुसार दिल्लीले बजेटको २०.५ प्रतिशत लगानी गरेको छ भने सबै भन्दा कम लगानी गर्नेमा तेलंगाना रहेको छ जसको लगानी प्रतिशत ६ रहेको बताइन्छ । भारतमा शिक्षामा उच्च लगानी गर्ने प्रदेशहरुमा असम २० प्रतिशत, बिहार र राजस्थान १७ प्रतिशत, मध्य प्रदेश र महाराष्ट्र १४.७ प्रतिशत, झारखण्ड १४ प्रतिशत, गुजरात १२.७ प्रतिशत, उत्तर प्रदेश १२.४ प्रतिशत तथा पञ्जाब र छत्तीस गढ १२ प्रतिशत खर्च गर्दछन् । भारतमा शिक्षामा सबैभन्दा कम लगानी गर्ने राज्यमा तेलंगाना रहेको छ भने दोस्रोमा रहेको मणिपुरले पनि १० प्रतिशत लगानी गर्दैआएको दैनिक भास्करले लेखेको छ । शिक्षाले समग्र जीवनस्तरमा सुधार ल्याउँछ । यसैले शिक्षालाई मानव विकास सूचकांकमा पनि राखिएको पाइन्छ । गाउँ घरमा अहिलेसम्म यो भनाइ प्रभावकारी रहेको छ–धनी मानिस अन्जान ठाउँमा भोकै पर्ला तर एक शिक्षित मानिस भने भोकै रहन सक्दैन । यस भनाइको तात्पर्य यो हुन सक्छ कि धन भन्दा विद्यालाई महत्व दिनु उचित हुन्छ । हामीले विगतलाई राम्ररी नियाल्ने हो भने शिक्षाले गर्दा धेरैको जीवनमा परिवर्तन आएको छ । शिक्षाले गर्दा धेरैले धेरै धनार्जन पनि गरेका छन् ।

कतिपय अवस्थामा यस्ता पनि मानिस भेटिन्छन् कि जसले धनलाई जोगाउन सकेका छैनन् र शिक्षाको अभावमा यस्तो भएको हो भन्ने कुरो गर्ने गरेका छन् । पछुतो मान्ने गरेका छन् । हो, यी अवस्थाहरुले शिक्षाको महत्वलाई दर्शाउने मात्र होइन शिक्षालाई आजै देखि आत्मसात गर्नुपर्ने पनि बताइरहेको हुन्छ । अहिले प्रदेशहरुले शिक्षामा खासै लगानी नगरिरहेको अवस्थामा स्थानीय सरकारहरुले पनि शिक्षालाई महत्वपूर्ण मानेर बजेटको मुख्य अंश शिक्षामा खर्च गरिरहेको पाइएको छैन । एउटा उदाहरण त माथि आएको छ कि मौलापुर नगरपालिकाले शिक्षामा राम्रो लगानी गरेको छ । मौलापुर नगरपालिकाको पाँच वर्ष अघिको भौतिक र शैक्षिक अवस्थाको वर्तमान सित तुलना गर्ने हो भने धेरै उपलब्धि हासिल गर्न सकेको पाउँछौँ । शिक्षाको क्षेत्रमा अकल्पनीय र अतुलनीय उपलब्धिहरु हासिल गर्दै गर्दा त्यसबाट अन्य पालिकाले पनि सिक्नु पर्ने हो । अन्य केही पालिकाले पनि उदाहरणीय कार्य नगरेका होइनन् । आफू बसेको पालिकाले शिक्षामा कति र कसरी लगानी गरेको छ ? यसको सामान्य विश्लेषण गर्दै गर्नुपर्छ । यसै गरी आफ्नो प्रदेशले शिक्षामा कति र कसरी लगानी गरेको छ ? यसको पनि सामान्य विश्लेषण गरिनु उचित हुन्छ । हरेक शिक्षित नागरिकले यस्ता विषयमा आफूले सकेको ठाउँमा सामान्य विश्लेषण गर्ने हो भने शिक्षामा लगानीको वातावरण बन्दै जाने हुन्छ । शिक्षाको गुणस्तर राम्रो हुने र शिक्षाले समग्र जीवनलाई थप गुणस्तरीय बनाउने कुरामा समग्र नागरिकलाई विश्वस्त तुल्याउनु पर्छ ।

Comment

Related News

Latest News

Trending News