अपडेट 
२०७९ माघ ११, बुधबार ०७:४२

मधेश प्रदेशका बिना विभागीय मन्त्रीहरुले बुधबार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

प्रदेश सरकारमा मुख्यमन्त्रीका अतिरिक्त ३ जना मन्त्री छन् । तर उनीहरुको विभाग टुंगो लागिसकेको छैन् । प्रदेश प्रमुख काठमाण्डुबाट बुधबार जनकपुरधाम आउने भएकाले सोही दिन मन्त्रीहरुको विभागको टुंगो लाग्ने बताइएको छ । मन्त्रीहरुको विभागको अझै निर्णय भइसकेको छैन् । जनमत पार्टीबाट मन्त्री बनेका ईञ्जिनियर वसन्त कुशवाहाले मन्त्रालयको टुंगो अझै लागि नसकेको बताए । ‘मन्त्री र मन्त्रालयको टुंगो लाग्न बाँकी छ’ उनले भने, तर बुधबार मन्त्रालयबारे सहमति हुनसक्छ । मन्त्री र मन्त्रालयको विषयमा शीर्ष नेताहरुबीच सहमति भए अनुसार प्रदेशमा लागु हुने उनको कथन थियो । मधेश प्रदेशको सरकारले पूर्णता नपाउनेमा जनमतले रोजेको मन्त्रालय र माओवादीले मागेको मन्त्रालयको संख्या प्रमुख कारण देखिएको छ । जनमत पार्टीले सामाजिक विकास र अर्काे कृषि मन्त्रालयमा दाबी गरेको छ । ‘सामाजिक विकास हामीले पाउने निश्चित नै छ’ उनले भने, अर्को कृषि मन्त्रालयमा दाबी रहेको छ । सामाजिक विकास बाहेकको एउटा मन्त्रालयमा सहमति हुन बाँकी रहेको उनले जनाए । माओवादी केन्द्रले भने मन्त्रालयको संख्यामा अडेको छ । माओवादीले २ वटा मन्त्रालय पाउनै पर्ने अडानमा रहेको छ ।

केन्द्रमा सहमति भए अनुसार २ वटा मन्त्रालय पाउनुपर्ने माओवादी केन्द्रका सभासद युवराज भट्टराईले बताए । ‘शीर्ष नेताहरुबीच भएको सहमति अनुसार हामीले २ वटा मन्त्रालय पाउनु पर्छ’ उनले भने, एउटा प्रशासनिक र अर्को विकास सम्बद्ध मन्त्रालय हाम्रो माग छ । ‘२ वटा मन्त्रालय नपाए सरकारमा हामी जाने छैनौ’ उनले भने, तर बाहिरबाट सरकारलाई समर्थन रहिरहने छ । केन्द्र सरकारमा जनता समाजवादी पार्टी(जसपा)पनि सहभागी नभएकाले ‘माथि’ को सहमति अनुसार नै प्रदेशमा निर्णय हुने उनले बताए । मधेश प्रदेश सरकारका लागि जसपाले दाबी गर्ने क्रममा भएको अन्तिम बैठकमा माओवादी केन्द्रलाई एउटा मन्त्रालय दिनेमा अन्य दलहरुले सहमति गरेका थिए । तर माओवादी संसदीय दलका नेता भरत साहले सहमतिमा असन्तुष्टि जनाउँदै बैठक छाडेर बाहिरिएका थिए । त्यस बैठकमा जसपाले मुख्यमन्त्री र ३ मन्त्रालय, एमालेले ४ मन्त्रालय, जनमतले २ मन्त्रालय र माओवादी केन्द्रले १ मन्त्रालय पाउनेमा माओवादी बाहेकका दलहरुको सहमति भएको थियो । माओवादी अडानले सरकार विस्तारमा समस्या भएको अन्य दलहरुले आरोप लगाएका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले सत्तासाझेदार दलहरुको सहमति अनुसार नै मन्त्रीमण्डल विस्तार हुने बताएका छन् । ‘नियुक्त भइसकेका मन्त्रीहरुलाई पोर्टफोलियो बुधवार नै टुंगो लाग्नेछ’ उनले भने, गठबन्धनका दलहरुबीच सरकार विस्तारको विषयमा सहमति भए सोही समयमा मन्त्रीमण्डल पनि विस्तार हुनेछ । माओवादीले मन्त्रालयको संख्या र जनमत पार्टीले मन्त्रालयको विषयमा धारणा राखेकाले बैठकबाट टुंगो लाग्ने उनले बताए । जसपा र एमालेमा मन्त्रालय र संख्याबारे विवाद देखिएको छैन् । तर माओवादीले २ मन्त्रालयको अडानबाट पछि नहटे एमालेको भागमा एउटा कम हुन सक्छ । मन्त्रालयको भागबण्डा मिलाउन सकस भइरहेको जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बताए । ‘मन्त्रालयको संख्या र विभागमा दाबी गर्नु गठबन्धन सबै दलको अधिकार हो’ उनले भने, सहमतिमा नै संख्या र विभाग दुबै टुंगो लाग्ने छ । मन्त्रालयको बाँडफाँट र मन्त्रीमण्डल विस्तार शुक्रबार भन्दा अगावै हुन गाह्रो रहेको उनले बताए । गठबन्धनमा रहेका सबै दलले १/१ वटा राज्यमन्त्री पाउने सहमति छ । मन्त्री र राज्यमन्त्री एउटै दलबाट एउटा मन्त्रालयमा राखिनेछ । त्यसमा बराबर भाग लागेकाले विवाद देखिएको छैन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) लाई भने सरकारमा तत्काल सहभागी गराइने छैन् । संघीय गठबन्धनमा लोसपाबारे हुने निर्णयको आधारमा मात्र प्रदेश सरकारमा लोसपाको सहभागिताबारे टुंगो लाग्ने जसपाका अध्यक्ष यादवले जनाए ।

Comment


Related News