
वैदेशिक रोजगारीमा जाने पुरुष भन्दा महिलाहरू अझै सुरक्षित तरिकाले बढी सतर्क एवं सजग भएर जानुपर्नेमा जोड दिइएको छ ।
मंगलबार राष्ट्रिय महिला आयोगले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय सरोकारवालाहरूसँग सार्वजनिक सुनुवाई कार्यक्रममा वक्ताहरुले उक्त कुरामा जोड दिएका छन् । वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षा, मर्यादा र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत तहगत सरोकारवालाहरुसंगको उपस्थितिमा भएको सुनुवाई कार्यक्रममा सहभागी वक्ताहरूले मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या नगण्य भएको, त्यसमा पनि ठगीमा पर्ने र विदेशमा गएर विभिन्न प्रकारको शोषणमा पर्ने गरेको चर्चा गरे । कार्यक्रममा महिला आयोगका सदस्य जया घिमिरेले सकभर महिलाहरू वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आउन नदिने अवस्थाको निर्माण गर्न आवश्यक भएको बताउँदै जानै परेको खण्डमा सुरक्षित तथा मर्यादित बनाउन आवश्यक भएको बताए । उनले महिलामाथि हुने हरेक प्रकारको हिंसा तथा विभेदका सवालमा आयोग गम्भीर रहेको बताउँदै आयोगले नेपाल सरकार समक्ष १०६ वटा नीतिगत सिफारिस गरेको जनाए ।
जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख सङ्गीता ठाकुरले महिलाहरूलाई वैदेशिक रोजगारीमा पठाउनुको साटो स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्न आवश्यक भएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले मधेशका महिलाहरूमा शिक्षा, ज्ञान तथा सीपको अभाव भएको बताउँदै यसमा सुधार गर्नका लागि सबै पक्षबाट कामकाज हुन आवश्यक भएको बताउँदै उपमहानगरपालिकाले महिलाको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सबै प्रकारको सहयोग गर्न तयार भएको बताए । धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले चालु आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयको हातामा रहेको आप्रवासी श्रोत केन्द्रबाट ३ हजार १ सय ५४ जनाले वैदेशिक रोजगारीको विषयमा परामर्श लिएको र जसमध्ये १ सय १७ महिलाहरू रहेको बताउँदै गाउँ गाउँको सूचना केन्द्र मार्फत् थप ४ हजार ४ सय ४१ जनाले जानकारी लिएको बताए ।
कार्यक्रममा धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड् का, राष्ट्रिय मानव अधिकार आयोगका प्रादेशिक कार्यालयका निमित्त कार्यालय प्रमुख रेखा दत्त, नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामत सहितका सहभागीहरूले विभिन्न प्रकारको राय सुझावहरू दिएका थिए ।