अपडेट 
२०७९ माघ ११, बुधबार ०८:१५

मधेश प्रदेशमा आत्महत्या गर्नेहरुको संख्या घट्दै गएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७९÷८० को पुस महिनासम्ममा ३ सय ४७ जनाले आत्महत्या गरेका छन् भने आर्थिक वर्ष ०७८÷०७९ मा भने ९ सय ८२ जनाले आत्महत्या गरेको थियो ।

आव ०७९÷८० मा प्रदेशका आठ जिल्ला मध्ये सबैभन्दा बढी धनुषा जिल्लामा ६३ जनाले आत्महत्या गरेका छन् भने सिरहामा ६२,बारामा ५६,महोत्तरीमा ४४,सर्लाही र सप्तरीमा ३६÷३६ जनाले आत्महत्या गरेका छन् भने सबभन्दा कम पर्सा जिल्लामा २४ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । सो मध्ये १ सय ४३ जना पुरुष,१ सय २४ जना महिला तथा ८० जना बालबालिका रहेका छन् । त्यस्तै,आव २०७८÷०७९ मा प्रदेशको सिरहामा सबैभन्दा बढी १ सय ८१,धनुषा १ सय ४२ जना,बारा तथा महोत्तरीमा १ सय ४१ जना,रौतहटमा १ सय १ जना,पर्सामा सय जना तथा सर्लाहीमा ६० जनाले आत्महत्या गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सूचनाअधिकारी सुमन तिम्लसिनाले बताए । सो अवधिभरि आत्महत्या गर्नेहरु मध्ये ४ सय १६ पुरुष,३ सय ४२ महिला तथा २ सय २४ जना बालबालिका रहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याले प्रत्येक वर्ष ७ लाख मानिसको मृत्यु हुने गरेको छ । १५ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीमा आत्महत्या नै मृत्युकै चौथो प्रमुख कारणको रुपमा रहेको मनोविद्हरु बताउँछन् । व्यक्तिगत उदासिनता,महत्वाकांक्षा,घरेलु हिँसा,शारीरिक दुर्बलता,शिक्षाको अभाव,आर्थिक विपन्नतासहितका कारणले आत्महत्याको घटना हुने गरेको मधेश प्रदेश प्रहरी कार्यालयका एसपी तिम्लिसिनाले जानकारी दिएका छन् ।

सामान्यतः टिन एजर ग्रुपका युवाहरुले परीक्षामा राम्रो अंक ल्याउन नसकेर, प्रेमी वा प्रेमिकाले धोका दिएर, घरेलु हिंसाको शिकार भएर, बेरोजगारी र गरिबी, समाजबाट अपमानित भएर, रिस उठेको समयमा आवेगमा आएर, आफूले गरिरहेको कामप्रति असन्तुष्टिलगायतका कारणले आत्महत्या हुने गरेको उनले प्रष्ट गरे । एकातिर मानसिक स्वास्थ्यबारे जनचेतना एकदमै कम हुनु, अर्कोतिर लागूपदार्थलगायत रक्सी सेवनको कुलत बढ्नु, बालबालिकामा हुने यौन हिंसाका कारण पनि आत्महत्याको घटना हुने गरेको बताइन्छ । ‘आत्महत्या गर्ने अधिकांशले कुनै न कुनै बेला आफू मर्ने कुरा कसै न कसैसँग गरेको पाइएकोले सो अभिव्यक्तिपछि घर परिवारका व्यक्तिहरु गम्भीर हुन सके आत्महत्या जस्तो घटनालाई रोकथाम गर्न सकिन्छ ।’, एसपी तिम्सिनाको धारणा छ । मनोचिकित्सक डा.रोबिन झाका अनुसार जैविक दृष्टिमा आत्महत्या गर्ने मानिसको मस्तिष्कमा सेरेटोनिनसहितका स्नायु रसायनहरूको कमी भएर मानिसलाई संवेदना नियन्त्रण गर्न कठिन पर्ने र उनीहरूमा आक्रमकता तथा विध्वंसक आचारण बढ्ने गरेकोले मानिस आत्महत्या गर्ने गरेको अध्ययनले देखाएको छ । आत्महत्या गर्ने विभिन्न कारणहरु रहे पनि मुख्यतः अहिले नेपालभरिमै ८० प्रतिशत व्यक्तिले डिप्रेशनकै कारण आत्महत्या गर्ने गरेका छन् भने १० प्रतिशत लागूऔषध,मादकपदार्थको कुलतका कारण र बाँकी १० प्रतिशतले अन्य कारणवश आत्महत्या गर्ने गरेको मनोचिकित्सक झाले बताए । आफूमा डिप्रेशनको समस्या छ भने सम्बन्धित डाक्टरकहाँ गएर उपचार गराउन जान लाज मान्न नहुने सुझाव दिँदै डा. झा भन्छन्,‘ मानसिक स्वास्थ्यको विषयलाई सामान्यकरण गर्न जरुरी छ ,बालबालिकाको मानसिक स्वास्थ्यबारे बेलैमा सचेत हुने हो भने मात्रै उ भोलिका दिनमा उपलब्धिमूलक जीवन बाँच्न सक्छ ।

उनीहरूलाई दिनुपर्ने समय, हेरचाहमा कमी हुनुभएन । किनकि बालबालिकामा पनि डिप्रेसनको समस्या दिनप्रतिदिन बढ्दै गएको छ ।’ आत्महत्याको विषयलाई खोतल्ने हो भने तीव्र गतिले बढ्दै गरेको विज्ञान र प्रविधि पनि पछिल्लो समय प्रमुख कारणको रूपमा देखिएको छ । बालबालिका र युवा पुस्तामा टेक्निकल सामग्रीहरूको लतले समेत आत्महत्याको घटना भएको मनोविदहरुको कथन छ । दिक्क मान्नु, दैनिक गरिरहेको काममा रुचि नहुनु, आफ्नो सरसफाइ, खानपिनमा पनि ध्यान नपुग्नु, लथालिङ्ग हुनु, झर्को लाग्नु, रिस उठ्नु, निद्रामा गडबडी हुनुलगायतका लक्षण देखिएपछि ती व्यक्तिले आत्महत्या गर्न सक्ने सम्भावना रहने गरेको बताइन्छ । यस प्रकारको लक्षण बालबालिकादेखि वृद्धसम्म जुन सुकै उमेर समूहमा देखिने गरेको छ । मानसिक रोग नै आत्महत्याको प्रमुख कारण रहेको बताउँदै उचित औषधि– उपचारको व्यवस्था तथा मानसिक रोगीहरूको उचित स्याहारसुसार र रेखदेख गर्न सकिए ९० प्रतिशत आत्महत्या स्वतः कम भएर जाने डा. झाको दाबी छ ।

 

Comment


Related News