
जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) बीचको एकीकरण संकटमा परेको छ ।
हुन त दुबै पार्टीले एक अर्काको दस्तावेज अध्ययन गरिरहेका छन् । गत शुक्रबार दुई दलबीच भएको वार्तामा एक अर्काले पार्टीको दस्तावेज साटासाट गरेर अध्ययन सुरु गरेको थियो । दुबै पार्टीको राजनीतिक लाइन धेरै ठाउँमा मिले पनि विचारधारामा गएर अड् किएको एक नेताले जानकारी दिए । जसपाको राजनीतिक दस्तावेज वामपन्थी विचारसँग मिल्दोजुल्दो छ । तर एकीकृत समाजवादीको विचार हार्डलाइनर कम्युनिष्ट विचारधारा जस्तो रहेको छ । दुईटै विचारलाई कसरी अघि बढाउने भन्नेमा नेताहरुबीच छलफल भइरहेको छ । जसअनुसार दुई पक्षको दस्तावेजलाई समेटेर निकासको बाटो निकाल्न प्रयास भइरहेको ती नेताले बताए । जसपालाई कम्युनिष्ट विचारसँग होइन, नामसँग आपत्ति छ । पार्टीमा नाम र अन्य दस्तावेजमा कम्युनिष्ट शब्द राख्न सो पार्टीले चाहेको छैन । तर एकीकृत समाजवादी पार्टी कम्युनिष्ट शब्द छाड्ने पक्षमा अझैसम्म नआएको बताइएको छ । यद्यपि बीचको बाटो के हुनसक्छ भनेर छलफल भइरहेको छ । यो विषयलाई शीर्ष तहमा पठाएर पनि छलफल गर्ने बताइएको छ । जसपाबाट गठन भएको वार्ता समतिका सदस्य गोविन्द चौधरीले अहिले दुबै पार्टीले दस्तावेज अध्ययनको काम सुरु गरेको बताए । अध्ययनपछि मात्र पार्टीको नाम, विचार, सिद्धान्तलगायतका विषयमा छलफल हुने उनको भनाइ छ । ‘दुई पक्षमा प्रारम्भिक छलफल भएको छ’, उनले भने, ‘त्यो छलफलमा अहिले पार्टीको नाम, अध्यक्षीय प्रणाली, विचार, सिद्धान्तलगायतको विषयमा छलफल भएको छैन, दस्तावेज अध्ययनपछि त्यस विषयमा प्रवेश हुन्छ ।’
यता, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीचको एकतामा पार्टीको नाम के हुने भन्ने विषय अड्किएको छ । माओवादी केन्द्रका वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र नेसपाका वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठबीच दुई पटक छलफल गरे पनि अन्तिममा पार्टीको नामलाई लिएर अड्किएको हो । नेसपा वार्ता टोलीका संयोजक श्रेष्ठले नेकपा नराखेर समाजवादी पार्टी बनाउनुपर्ने अडान राखेका छन् । माओवादी केन्द्रका वार्ता टोली संयोजक महरासहितको टोली पार्टीको नाम नयाँ राखेपनि नेकपा छुटाउन नहुने पक्षमा पुगेका छन् । ‘माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने विषयमा कुनै शंका छैन । कुनै कन्फ्यिूजन पनि छैन’ प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले भने, ‘हामी पार्टीको नाम समाजवादी राखे पनि नेकपा राख्नुपर्छ भन्ने छौं । उहाँहरु(नेसपा) नेकपा राख्न हुन्न भन्ने पक्षमा हुनुहुन्छ । कुरा त्यसमा मिलिराखेको छैन ।’ पार्टी एकताका विषयमा वार्ता टोलीबाट कुरा नमिल्ने देखिएपछि शीर्ष नेताहरु बसेर टुंगो लगाइने भएको छ । अब माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराई बसेर पार्टी एकताका विषयमा छलफल गरेर टुंगो लगाउने जिम्मा दिएको छ । पार्टीको चुनाव चिन्हका विषयमा भने कुनै समस्या नहुने नेताहरूले बताएका छन् ।