
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका ओमप्रकाश महतो (दिलीप)को मुद्दामा प्रतिवेदनका व्यक्ति बुझ्ने आदेश भएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्र बहादुर गुरुङ्गको इजलाशले प्रतिवेदनका व्यक्ति बुझ्ने आदेश दिएको हो । दिलीपलाई ०७६ पुस २५ गते चुरियामाई बालुवा प्रशोधन क्रसर उद्योगमा आवद्ध व्यक्तिहरुले औरही खोलामा हत्या गरेको आरोप छ । घटना स्थलमा पुगेर तत्कालीन प्रहरी निरीक्षक राम कुमार यादव, रामकुमार भण्डारी र कुलान्नद अमातले प्रतिवेदन तयार पारेको थियो । तीनै जना प्रतिवेदकलाई अदालतमा हाजिर हुन आदेश दिइएको छ । यसअघि गत मंसिर २ ९ गते हत्यामा प्रयोग भएको टिपर धनीलाई बुझ्ने आदेश दिइएको थियो । गएको पुष २८ गते अदालतमा उनको बकपत्र भएको थियो । यो मुद्दामा हालसम्म २० वटा पेशी चढिसकेको छ । तर मुद्दा किनारा लागेको छैन् । मुद्दा लम्बिँदै गएको छ । न्यायकालागि दिलीपको बुबा रामजीवन महतोसहित परिवारजन तीन वर्षदेखि अदालत धाउँदै आएका छन् । दश पटक उनको पेशी स्थगित नै गरिएको थियो ।
पेशी स्थगित हुँदा उनको घरपरिवार निराश बन्दै गएका छन् । हत्या आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित सात जनालाई पक्राउ गरेको थियो । पक्राउ परेको मध्ये धरौटी रकम बुझाएर चार जना रिहा भइसकेका छन् । उनीहरु अहिले तारेखमा छन् । दिलीप हत्या आरोपमा पक्राउ परेका रोशन कुमार यादव, विनोद महतो, सत्यनारायण महतो र शत्रुधन महतो रिहा भइसकेका छन् । मुनिन्द्र महतो, विपिन महतो र जितेन्द्र महतो पुर्पक्षको लागि थुनामा छन् । जाहेरीवलाको वकिलले आरोपितहरुमाथि जन्मकैद हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने दाबी गरेका छन् ।