
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको बजार क्षेत्रको ट्राफिक व्यवस्थित गर्न अभियान थालिएको छ । उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय धनुषाको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले ट्राफिक व्यवस्थापनको लागि अभियान सञ्चालन गरेको छ । सो अभियानको क्रममा बजार क्षेत्रको सडकमा जताततै ट्राफिक नियम मिचेर पार्क गरिएको सवारी साधनहरुलाई धमाधम कारबाही गरिएको छ । नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्दै सो अवधिमै ट्राफिक प्रहरीले पाँच लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइलका प्रमुख चन्द्रभूषण यादवका अनुसार एकदमै छाडा बन्दै गएको सवारीसाधनहरुलाई कारबाही गर्ने क्रममा दिनकै एक लाख जति राजश्व संकलन भइरहेको छ । सो क्रममा प्रहरीले अभियान नै सञ्चालन गरी नियम उल्लंघन गर्ने मोटरसाइकल तथा चारचक्कालगायतका सय भन्दाबढी सवारी साधनमाथि कारबाही गरिएको छ । प्रहरीले कारबाही गर्न थालेपछि अस्त—व्यस्त देखिने गरेको रामानन्द चोक,अस्पताल सडकखण्ड,जानकी मन्दिर आसपासका क्षेत्र अहिले सफाका संगै सवारी आवागमनमा समेत सजिलो भएको पाइएको छ । त्यसैगरी जनकचोकदेखि शिवचोक हुँदै रेल्वे स्टेशन सम्मको मुख्य सडकमा हुने गरेको ट्राफिक जामको समस्या केही हद सम्म कम भएको छ भने नियम मिच्दै जताततै सवारी पार्किंग गर्नेहरु पनि कम भएको देखिन्छ । ट्राफिक प्रहरीले निरन्तर रुपमा नो पार्किंगमा राखिएको सवारी साधनमाथि कारबाही थालेपछि बजार क्षेत्रमा केही हद सम्म ट्राफिक नियमको पालना गर्नेहरु बढेको शिवचोकमा व्यवसायीहरु बताउँछन् । सवारी पार्किंगका लागि जनकपुरधाम बजारमा कुनै व्यवस्थापन नभएकोले सडक छेउलाई नै प्रत्येक पचास मिटरमा एकातर्फ पार्क गर्ने नियम बनाइएको छ । जसले गर्दा सडकहरुमा सवारी आवागमन सहज भएको छ ।
अस्पताल सडक क्षेत्रमा दिनहुँ जाम लागेर अस्पताल जान लागेको एम्बुलेन्स जस्तो संवेदनशील सवारी साधनहरु समेत बाटो काटेर अर्को बाटो समात्न बाध्य हुने गरेकोमा अभियान सञ्चालन भएपछि जामको समस्या समाधान भएको देखिएको छ । यता ट्राफिक प्रहरीले विगतमा पनि पटक–पटक यस्तो अभियान सञ्चालन गरेको भए पनि त्यसले निरन्तरता नपाउँदा ट्राफिकको समस्या यथावत् रहने गरेको आरोप समेत लाग्दै आएको छ । जनचेतनाको अभाव तथा ट्राफिक प्रहरीमा जनशक्तिको अभाव र जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीका कारण ट्राफिकको समस्या हुने गरेको आरोप पनि लगाइएको छ ।