अपडेट 
२०७९ माघ १३, शुक्रबार ०७:३७

मधेश प्रदेशमा बिना विभागीय शपथ ग्रहण गरेका तीन मन्त्रीको जिम्मेवारी निर्धारण गरिएको छ ।

बिहीबार मुख्यमन्त्री सरोज कुमार यादवले जिम्मेवारी तोकेको पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रको कार्यालयमा पठाएका थिए । सत्तासाझेदार दलहरुको बैठकमा सहमति भएपछि सबै भन्दा ठूलो भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका सरोज कुमार यादवलाई दिइएको छ । जनता समाजवादी पार्टी (जसपा)का संजयकुमार यादवलाई अर्थ र जनमत पार्टीका वसन्त कुशवाहालाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । हुन त जनमतका कुशवाहा सामाजिक विकास मन्त्रालय पाउनुपर्ने अडानमा थिए । सरकार गठनको समय सत्तासाझेदारका मुख्य चार दलले एक एक वटा विकास सम्बन्धी मन्त्रालय लिने सहमति गरेका थिए । यी तीनै जना मुख्यमन्त्री सरोजकुमार यादवसँगै गत पुस २ ९ गते शपथ लिएका थिए । शपथ लिएको दुई सातापछि उनीहरुको जिम्मेवारी तोकिएको छ । मधेश प्रदेशमा दश वटा मन्त्रालय रहेको छ ।

सात वटा मन्त्रालयको जिम्मेवारी तोक्न अझै बाँकी छ । यी मन्त्रालयहरु अहिले मुख्यमन्त्रीकै मातहतमा रहेका छन् । सत्तासाझेदार दलबीच सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा समेत ढिलाइ भइरहेको छ । प्रदेशमा नकेपा एमालेले चार, जसपा तीन, जनमत दुई र नेकपा माओवादी केन्द्र एक मन्त्रालय पाउने सम्भावना रहेको छ । हुन त माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरिरहेका छन् तर,सरकारले माओवादीलाई एक मन्त्रालय दिनेमा छलफल गरिरहेको बुझिएको छ । सरकारले माओवादीलाई दियो भने नेकपा एमालेको लागि सहमति भएको मन्त्रालयको संख्या घट्ने छ । निस्वार्थ समर्थन र विश्वासको मत दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जाने सम्भावना न्यून रहेको छ । लोसपालाई एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने सुरुमा चर्चा भएको थियो । मुख्यमन्त्री यादवले ७२ सांसदको समर्थन पाएका छन् भने शतप्रतिशत विश्वासको मत पाएका छन् । मधेशमा अब वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि, खानेपानी तथा उर्जा विकास, महिला बालबालिका तथा युवा खेलकुद, उद्योग पर्यटन तथा वन, गृह तथा सञ्चार, सामाजिक विकास र कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको बाँडफाँट हुन बाँकी छ ।

Comment


Related News