अपडेट 
२०७९ माघ १३, शुक्रबार ०७:४०

भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान रामको मूर्ति बनाउनका लागि कालीगण्डकी नदीको शिलालाई जनकपुरधाममा विशेष पूजा अर्चना गरिने भएको छ ।

शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार शिला निकालेर गलेश्वरधाम परिसरमा लगिएको थियो । यही माघ १५ गते सोमबारका दिन यहाँस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेपछि शिलालाई अयोध्यातर्फ पठाइने जानकी मन्दिरका महन्त तपेश्वर दास वैष्णवले जानकारी दिएका छन् । भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने सो शिलाको पूजनका लागि जानकी मन्दिर परिसरमा विशेष तयारी सुरु गरिएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । नगर प्रमुख सुरत केसीले शिलाको पूजा आराधना गरी जनकपुर मन्दिरका सहयोगी महन्त रोशन दासलाई शिला हस्तान्तरण गरेपछि बाजागाजा र ¥यालीसहित बेनी बजार परिक्रमा गराइएको थियो । रामको मूर्ति बन्ने शिलाको दर्शन गर्न सयौँ भक्तजन, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायतको भीड लागेको थियो ।

गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन गरी शिला जनकपुरधाम मन्दिरका महन्त दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीकस्वरुप तीन वटा शालिग्राम हस्तान्तरण गरेका थिए । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि विहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको बेनी नगरपालिकाका नगर प्रमुख केसीले जानकारी दिए । हिन्दू धर्मावलम्बीको केन्द्र अयोध्यासँगको जनकपुरधामको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आएका राममन्दिर निर्माण समितिका सचिव पंकजले बताए । “यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौँ, शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्”, उनले भने ।“अयोध्या र जनकपुरधामको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्नेछ।” नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई जनकपुरधाम पु¥याएर हस्तान्तरण गर्नेछ । जनकपुरधामबाट नेपाल सरकारले भारत सरकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने बताइएको छ । गत साउनमा भारत भ्रमणमा गएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अयोध्या राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेट गरेका थिए । भेटमा नेता निधिले अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिला कालीगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए । जनकपुरधामस्थित जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्षसहमत भएको थियो । यसपछि नेपाल फर्किएका निधिले नेपाल सरकारलाई भारतीय पक्ष नेपालका दुबै प्रस्तावमा सहमति भएको जानकारी दिए । त्यसपछि पुस ३ गते बसेको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो ।

नेपालमा विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइनेछ भने त्यहाँबाट प्रक्रिया पूरा गरी अयोध्या लैजाने म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।

Comment


Related News

Latest News

Trending News