
सरस्वती पूजा (श्रीपञ्चमी)को दिन धनुषा प्रहरीले एक सय ६४ वटा मोटरसाइकल र चालक नियन्त्रणमा लिएको छ ।
ट्राफिक नियमको उल्लंघन गर्दा नियन्त्रणमा लिइएको र परामर्श दिइ मोटरसाइकल अभिभावकलाई जिम्मा लगाइएको छ । तीव्र गति, हेलमेट नलगाउने, सवारी कागजपत्र नहुने र दुईजना भन्दा बढी सवार भएको मोटरसाइकललाई नियन्त्रणमा लिएर परामर्श दिइ छोडिएको धनुषाका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । नियन्त्रणमा लिएका अधिकांश किशोर उमेर समूहका चालक तथा सवार रहेका थिए । उनीहरुसँग ट्राफिक नियम उल्लंघन गरे अनुसारको जरिवाना लिइएको छ । उनीहरुको अभिभावकको जिम्मा लगाएर छाडिएको छ । छाड्नुभन्दा अघि उनीहरुलाई एक घण्टा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो । यो अभियान एक सातासम्म चलाउने धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु अबदेखि ट्राफिक नियम उल्लंघन नगर्ने शर्त पनि गरेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएको सवारी बारे जानकारी दिए पनि दुर्घटना भएको बारे कुनै विवरण दिएका छैनन् । यद्यपि धनुषामा करिब एक दर्जन बढी ठाउँमा मोटरसाइकल दुर्घटनाा भएको बताइएको छ । दुर्घटनामा परी मानिसहरु घाइते पनि भएका छन् ।