मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार उनले पदभार ग्रहण गरेका हुन् । उनले पहिलो कामको रुपमा यातायात कार्यालयमा टोकन प्रणाली सुरु गर्ने फाइलमा हस्ताक्षर गरेका छन् । यातायात कार्यालय भिडभाडका कारण अव्यवस्थित देखिएको हुनाले सो फाइलमा हस्ताक्षर गरिएको मन्त्री यादवले बताए ।
मधेस सरकारको गौरवशाली योजनाको रुपमा रहेको ‘मधेस लोक मार्ग’लाई निरन्तरता दिने उनको भनाइ छ । मधेस लोक मार्गमा सर्भेको काम भइसकेको छ । अव द्रुत गतिमा काम अगाडि बढ्ने उनले बताए ।
मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले यातायात कार्यालयमा टोकन मेसिन पठाउने तयारी भइरहेको बताए । चार वटा कार्यालयमा पठाइसकेको छ । सम्भव हुने कार्यालयमा टोकन प्रणाली आइतबारदेखि नै लागु हुने छ ।
मुख्यमन्त्री सरोजकुमार यादवसँगै गत पुस २९ गते तीन मन्त्रीले सपथ लिएका थिए । गत बिहीबार उनीहरुको जिम्मेवारी पनि तोकिएको थियो ।