अपडेट 
२०७९ माघ १४, शनिबार ०७:०६

सरकारले सही नीति अवलम्बन नगर्दा उद्योगी व्यवसायीहरु मार्कामा परेको बताइएको छ ।

शुक्रबार वीरगञ्जमा आयोजित रूँगटा वेलफेयर सोसाइटीको ११ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरु मार्कामा परी आफ्नो ज्यान दिने अवस्था पुग्दासमेत सरकारले सही नीति अवलम्बन नगर्नु दुःखद भएको सहभागीहरुले बताएका छन् । कार्यक्रममा सहभागीहरुले ‘ब्याङ्कले बढाउँदै गएको चर्को व्याजदरको कारण उद्योगी र व्यवसायी पीडामा भएको चर्चा गर्दै आफ्नो ज्यान दिने अवस्थामा पुगिसकेकाले राज्यले केही गम्भीर कदम उठाउन आवश्यक रहेको धारणा राखे । उनीहरुले हाल राज्यको काम गर्ने प्रणाली कमजोर रहेकाले सुधार नल्याए निश्चित रुपले देश ठूलो सङ्कटमा पर्ने चिन्ता व्यक्त गरे । प्रतिनिधिसभा सांसद प्रदीप यादवले ब्याङ्कले बदमासी गरिरहेको अवस्थामा नेपाल सरकारका गभर्नरले पनि उनीहरुको साथ दिरहेको आरोप लगाए । ‘ब्याङ्कहरुले ढाडसेक्ने किसिमले व्याजदर बढाएका छन्, उद्योगीदेखि साना व्यवसायीसमेत सरकारसँग हार गुहार गरिरहेका छन् , यस्तो अवस्थामा गभर्नरले ब्याङ्को पक्षमा बोलिरहेका छन्, यो भन्दा ठूलो दुर्भाग्यपूर्ण कुरा के हुनसक्छ’, पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले भने । उनले राज्यले विदेशीहरुबाट चर्को दरमा ऋण उठाएर अनावश्यक लगानी गर्दै नागरिकमाथि आर्थिक भार थपेको आरोपसमेत लगाए । पोखरा र भैरहवा विमानस्थलको उदाहरण दिँदै उनले भने, ‘ अध्ययन, अनुसन्धान र दूरगामी सोचनै नराखी चर्को व्याजदरमा अन्य मुलुकसँग ऋण लिएर आज हामीले पोखरा र भैरहवामा ठूलाठूला विमानस्थल त बनायौँ तर आज त्यहाँको अवस्था के छ, त्यो कसैसँग लुकेको छैन । निजगढ विमानस्थलमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले भविष्यनै नभएको ठाउँमा त्यत्रो लगानी गरेर नागरिकमाथि आर्थिक भार थप्ने बाहेक कुनै काम गरेको छैन। म लेखेर दिन्छु दुबै विमानस्थल फेलियर हुन्छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ता, संघका निवर्तमान अध्यक्ष एवम् नेपाल भारत सहयोग मञ्‍चका अध्यक्ष अशोक बैद्य, महासंघका केन्द्रीय सदस्य गोपाल केडियालगायतले शुभकामना मन्तव्य राख्दै सोसाइटीले गर्ने कामको प्रशंसा गरेका थिए । सोसाइटीका संस्थापक एवम् अध्यक्ष मुरलीधर रूँगटाको सभापतित्वमा भएको कार्यक्रममा पर्सा र बाराका १४ वटा शैक्षिक एवम् सामाजिक संस्थाकलाई ह्विलचेयर, ब्यागलगायत अन्य शैक्षिक सामग्री वितरण गरिएको थियो ।

Comment


Related News