
धनुषा प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–७ का २८ वर्षीय रौशन महतो रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले मिथिला नगरपालिका–२ नकटाझिझ चोकस्थित शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल १ थान, गोली २ राउण्ड लोड गरिएको र १ थान म्याग्जीन बरामद भएको प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए । पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाई थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा पठाइएको छ । उनीमाथि प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान गर्नेछन् । सोही शीर्षकको मुद्दा पनि चलाउने प्रहरीको तयारी छ ।