
मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता आगामी आइतबार नियुक्त हुने भएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले सो पदका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष सिरहाका वीरेन्द्र ठाकुरको नाम सिफारिस गरिसकेका छन् । प्रदेश प्रमुखको सचिवालयले शुक्रबार नै उनको नियुक्ति र शपथ ग्रहण गर्ने तयारी गरेको थियो । तर मुख्यमन्त्री यादवको व्यस्तताले शुक्रबारको कार्यक्रम रद्द गरिएको छ । आइतबार प्रदेश प्रमुखले ठाकुरलाई नियुक्त गरेसँगै पद तथा गोपनीयताको शपथ गराउने छन् । त्यसपछि ठाकुरले पदभार ग्रहण गरेर प्रदेश सरकारको कानून निर्माण सम्बन्धी काम गर्ने बताइएको छ । प्रदेशमा न्यायाधिवक्ताको सेवा सुविधा राज्य मन्त्री सरह हुने व्यवस्था छ । यसअघि मधेश प्रदेशको न्यायाधिवक्तामा महोत्तरीका दीपेन्द्र झा थिए । मंसिर ४ गते भएको निर्वाचनमा सहभागी हुन उनले पदबाट राजिनामा दिएका थिए । उनी महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट चुनाव लड्दा पराजित भएका थिए । पराजित भएपछि उनी पुनः कानून व्यवसायी पेशामै फर्किएका छन् ।