
माघ १० गते अर्थात् वितेको मंगलवार नेपालको इतिहासमा सर्वाधिक दुखान्त दिनहरुमा गनिने छ । यो यस्तो अभिशप्त दिन हो, जुन दिन राजधानी काठमाण्डुसहित मुलुकको तीन स्थानमा चार जनाको दुःखद मृत्यु भएको थियो । यद्यपि मृत्युका कारणहरु फरक फरक छन् । पृष्ठभूमि र परिवेश पनि भिन्न छन् तर सरकारी अभिलेखमा आत्महत्या शीर्षकमा राखिएका यी चारै मृत्यु राज्यमाथि गम्भीर प्रश्न खडा गरेको छ । राज्य संचालन विधि तथा राज्य संचालन गर्ने सरोकारवालाहरुलाई कठघरामा ल्याइ खडा गरेको छ । आमजनको मनमा प्रश्नको ओइरो छ । सबै सोध्न चाहन्छन् – यी चार जनाको दुखान्त मृत्यु आत्महत्या हो कि हत्या ?
यद्यपि यसै महिना काठमाण्डुबाट पोखरा जाँदै गरेको यति एयरलायन्सको विमान दुर्घटना हुँदा ७२ जनाको दुःखद मृत्यु भएको थियो । यस अघि पनि मुलुक ठूल–ठूला बाढी–पहिरो, सडक र हवाइ दुर्घटना, महामारी तथा भूकम्प जस्ता विपद्हरु भोगेकै हो । यी घटनाहरुमा पनि हजारौँको दुःखद मृत्यु भएकै हो तर संसद भवन अगाडि प्रधानमन्त्रीको सवारी जाँदै गर्दा आफ्नो शरीरमा पेट्रोल खन्याएर ज्यान दिएका इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्य, छोराको विहेमा लिएको ऋणको भारी बोक्न नसकि जीवनलीला समाप्त गरेका सप्तरीका ४५ वर्षीय रामदेव मरिक तथा प्रेम गरेकै कारण निरन्तर खानु परेको सामाजिक र प्रशासनिक हण्डरको कारण एउटै पासोमा ज्यान दिएका झापा कचनकवलका २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीको मृत्यु सामान्य होइन् । छोराको विवाहमा लिएको ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक मंगलवार घरभन्दा ३ सय मिटर दक्षिण–पश्चिममा अवस्थित आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थिए । मरिक आफ्नो श्रीमती उर्मिला देवीको नामबाट ०७८ मंसिर १३ मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार तथा महुली लघुवित्त वित्तीय संस्थाबाट १५ हजार ऋण लिएका थिए । आइएमई लघुवित्तको अचेल ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ । यसैगरी महुली लघुवित्त वित्तीय संस्थाको १५ हजारऋण लिएकामा ४ हजार ३ सय ३ रुपैयाँ ९० पैसा तिर्न बाँकी छ । पछिल्लो समय मन्दीको हवाला दिदै बैंक तथा वित्तीय संस्थाहरु ऋणको ब्याज आफू खुसी बढाएको अवस्था छ । १२ प्रतिशतमा लिएको ऋण १७ प्रतिशत पुगेको छ । बैंकले ऋणीसंग सोध्दै नसोधी ब्याज बढाउँने, नियामक संस्थाहरु उर्दीमात्र जारी गर्ने भएपछि ऋणीको मनोदशा के होला ?
बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु पनि आर्थिक तंगीकै कारण भएको हो । आफ्नै देशमा केही गर्रौ । आफ्नै देशमा कमाएर परिवार पालौं भने ममत्वले प्रेमप्रसादको ज्यान लिए जस्तो छ । आत्मदाह गर्नु पूर्व उनले फेसबुकमा लामो स्टेटस लेखेका छन् । आफ्नो मृत्युनामामा आफू उद्योगी÷व्यवसायी भएको र व्यापार व्यवसायमा जताततै असफलता बेहोरेको उल्लेख गरेका छन् । पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नुपरेका समस्याको वेलिविस्तार लेखेका छन् । आफूलाई धोका दिने र ठग्ने केही व्यक्ति र संस्थाको नामपनि लेखेका छन् । प्रेमप्रसादहरु कुनै व्यक्ति वा संस्थाद्वारा ठगिन्छन् । गुहार माग्न सरकारी निकायमा जाँदा न्याय पाउँदैनन् र आत्महत्या गर्छन भने यसमा राज्यको कुनै दायित्व छ कि छैन ? झापा, कचनकवलको घटना त झन हृदयविदारक छ । डेढ वर्षदेखिको तनावपूर्ण प्रेम सम्बन्धमा रहेका का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीको शव स्थानीय एभरेस्ट चिया बगानको शिरीषको रूखमा एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रेम सम्बन्ध भएपछि २०७८ साउन ११ मा भागी विवाह गरेका थिए । तर दुबैका परिवारले भागी विवाह स्वीकार गरेको थिएन । केटी नाबालिग भएकाले कानूनी रूपमासमेत सम्बन्ध जोड्न कठिन थियो । करिब डेढ महिना पवित्रा राजेशको घरमा बसेकी थिइन । त्यसपछि माइती पक्ष पवित्रालाई फकाएर माइत घर लगे अनि राजेशमाथि बलात्कार मुद्दा गर्न लगाए ।
राजेशलाई केही दिन जेल पनि बस्नु प¥यो । तर पछि सामान्य बन्न थालेको उनीहरुको सम्बन्ध संयुक्त आत्महत्यासंगै सदाको लागि समाप्त भयो । हत्या, आत्महत्या, दुर्घटना, महामारी तथा प्राकृतिक विपदा भई रहने विषय हो । दुनियाँमा हँुदै आएको छ र भइ पनि रहने छ । यी विपदाहरुलाई रोक्न सक्ने भए कोरोनाकालमा अमेरिका, वेलायत, चीनजस्ता समुन्नत मुलुकको हविगत त्यस्तो हुने थिएन । फेरि तनाव, दबाब वा सामाजिक अवहेलनाको विकल्प आत्महत्या होइन । आत्महत्या कायरले गर्ने उपक्रम हो । तनाव र दबाबको सामना गर्न नसक्ने व्यक्ति आत्महत्या जस्तो सरल बाटो रोज्छन् । तर यति भनि रहँदा आफ्ना नागरिकको जिउ, ज्यान, सम्पति तथा रोजगारीको सुरक्षा गर्ने दायित्व राज्यसंगै समाजको पनि हो । एउटा व्यावसायीको व्यावसायको सुरक्षा गर्न नसक्ने, बैंकहरुले मनपरी बढाएको ब्याजदर नियन्त्रण गर्न नसक्ने अनि राजीखुसीले बनाएको प्रेम सम्बन्धलाई बलात्कारको नाम दिएर युवकलाई जेलसम्म पु¥याउने घटनाहरुले राज्यमाथि प्रश्न तेर्साएकै हो – इलामका प्रेमप्रसाद, सप्तरीका रामदेव मरिक तथा झापा, कचनकवलका राजेशकुमार गणेश र पवित्राकुमारी राजवंशीले आत्महत्या गरेका हुन कि उनीहरुको हत्या गरिएको हो ?