अपडेट 
२०७९ माघ १५, आईतवार ०७:४७

पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल सरकारले ६८ वर्षको उमेरमा दिने वृद्ध भत्ताको उमेरलाई घटाएर ६५ मा झार्न पहल गर्ने बताएका छन् ।

पर्साको पर्सागढी नगरपालिका का ज्येष्ठ नागरिकलाई कम्बल र च्यावनप्रास वितरण गर्दै पूर्वमन्त्री यादवले वृद्धवृद्धाका लागि भत्ता पाउने उमेर ६८ वर्ष भन्दा पनि ६५ वर्ष उपयुक्त रहेको बताउँदै यसका लागि आफूले संसद् मार्फत पहल गर्ने बताए । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य (सांसद्) पनि रहेका यादवले छोराछोरीहरुले कमाउने आम्दानीको केही रकम अभिभावकका लागि अनिवार्य रुपले छुट्याउनु पर्ने कानूनका लागि पनि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘आजको युगमा छोरीछोरीहरुले आफ्नो अभिभावकलाई एक समयपछि अवहेलना गर्ने चलन बढ्दै गएको छ ।

अभिभावकको आम्दानीको स्रोत बन्द भएपछि उनीहरु छोराछोरी माथि आश्रित हुन्छन तर सन्तानले उनीहरुको सबै मागलाई बेवास्ता गर्ने गरेका छन् ।’ पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वामा आयोजित कार्यक्रममा ७० वर्ष उमेर नाघेका १ सय ५० जना वृद्धवृद्धालाई जनही एक÷एक थान कम्बल र च्यावनप्रास वितरण गरिएको थियो । कार्यक्रममा वडा कार्यालयको बजेटबाट खरिद गरिएको कम्बल र च्यावनप्रास यादवले वृद्धवृद्धालाई हस्तान्तरण गरेका थिए । वडा नम्बर ९ का वडा अध्यक्ष राम बढाई यादवको सभापतित्वमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, कार्यपालिका सदस्य अस्लम आलम, वडा नम्बर ४ का वडा अध्यक्ष खुर्शेद आलम लगायतको पनि उपस्थिति रहेको थियो ।

 

Comment


Related News