
मधेश प्रदेशमा साना हतियार चुनौती बन्दै गएको छ । खुला सिमानाका कारण कारोबारीहरु भारतबाट खरिद गरी नेपालमा सहजै हतियार भित्र्यिाइरहेका छन् ।
भारतबाट ल्याएर उनीहरु नेपालमा हातहतियार बिक्री गर्ने गरेका छन् । गत विहीबार धनुषा प्रहरीले यस्तै कारोबारमा संलग्न रहेको आरोपमा धनुषाको दुई युवकलाई पक्राउ गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरेका मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई सार्वजनिक गरे । नक्टाझिज चोकमा राति ८ बजे रोशन हतियार बिक्री गर्न खोज्दा उनीमाथि स्थानीयलाई शंका लागेको थियो । स्थानीयले प्रहरीलाई जानकारी गराए पछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली पुगेर रोशनलाई नियन्त्रणमा लिएको थियो । पछि रोशनले शंकर महतो संग ७० हजारमा पेस्तोल खरिद गरेको बयान दिएका थिए । उनले ५० हजार नगद दिइ र २० हजार पछि दिने सहमतिमा खरिद गरेको बयान प्रहरी समक्ष दिएका थिए ।
शंकरले जटही सीमाबाट माउजर पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली खरिद गरी नेपालमा विक्री गर्न ल्याएका थिए । तर, प्रहरीले पक्राउ गरेका महतोद्वयमाथि यसअघि कुनै मुद्दा नरहेको जानकारी दिए । चालु आर्थिक वर्षमा धनुषामा तीन वटा अपराधमा हतियार (पेस्तोल) प्रयोग गरिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड् काले जानकारी दिए । गणेशमान चारनाथ नगरपालिका वीरेन्द्र बजारस्थित प्रहरीमाथि नै गोली प्रहार गरिएको थियो । प्रहरी र बन्दुकधारी समूहबीच दोहोरो भिडन्त भएको थियो । पछि प्रहरीले गणेशमान चारनाथ नगरपालिका ५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकीसहित पाँच जनालाई नियन्त्रणमा लिएका थिए । त्यस्तै मुखियापट्टी मुसहरनियामा पेस्तोल प्रयोग गरी गत पुसमा धनुखधारी दासको हत्या भएको थियो । उनको हत्याको आरोपमा प्रहरीले उनका २१ वर्षीय छोरा प्रदीप दाससहित तीन जनालाई पक्राउ गरी हातहतियार शीर्षकमा मुद्दा दायर भइ सकेको छ । यी घटनाहरु धनुषामा भएको प्रतिनिधिमूलक भए पनि खुल्ला सिमानाका कारण अवैध हतियारको कारोबार र त्यसबाट हुने अपराध बढ्दै गएको छ ।