
ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिकाका रामदेब मरिकको ऋण पालिकाका जनप्रतिनिधिले तिरिदिने भएका छन् ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको नेतृत्वमा जनप्रतिनिधि शनिबार मरिकको घरमा पुगि उक्त आश्वासन दिएका छन् । सहकारीको ऋण तिर्न नसकेको भन्दै गत मंगलबार छिन्नमस्ता २ बस्ने मरिकले झुन्डिएर आत्महत्या गरेका थिए । आत्महत्या गरेका मरिकको परिवारको जिम्मा रहेको ऋण जनप्रतिनिधि मिलेर तिरिदिने गाउँपालिका अध्यक्ष चौधरीले बताए । जनप्रतिनिधिले मरिकको परिवारलाई खाद्यान्न, क्रिया खर्च पनि उपलब्ध गराएका छन् । अध्यक्ष चौधरीले मृतकको छोराको जागिरका लागि पनि पहल गर्ने आश्वासन दिए । गत बैशाखमा २० वर्षीय जेठो छोरा राजकुमार मरिकको भारतबाट विवाह गरेका रामदेवले त्यसबेला गाउँमै ब्याजमा ऋण लिएका थिए । त्यसले पनि नपुग्ने देखेपछि श्रीमती उर्मिलादेवीलाई वित्तीय संस्थामा आबद्ध गराउँदै उर्मिलादेवीको नाममा ०७८ मंसिर १३ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार ऋण लिएका थिए ।
किस्ता चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ । हरेक महिनाको ९ गते वित्तीय संस्थाको किस्ता तिर्नुपर्नेमा सोमबार उर्मिलादेवी समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएको र किस्ता तिर्ने पैसा नभएपछि रामदेवले श्रीमती उर्मिलालाई मेरो पति घरमा छैन भनेर सुनाइदिन अह्राएका थिए । तर, मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर गएपछि रामदेव सोमबार साँझदेखि नै गाउँमा ऋण खोज्न थालेका थिए । रामदेवले कर्जा चुक्ता गर्न नसक्दा तनावमा रहेका कारण आत्महत्या गरेको परिवारजनले बताए ।