
जनकपुरधाम । कालीगण्डकी नदीबाट ल्याइएको देव शिला आज भारत लगिने भएको छ । सो देव शिलाबाट अयोध्यामा निर्माणाधीन राममन्दिरको मुख्य गर्भगृहमा राख्न भगवान रामको बालापन प्रतिमा निर्माण गरिनेछ ।
देव शिला भारतको अयोध्या लगिने क्रममा जनकपुरधाम स्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरिएको छ । शनिबार अबेर राति जानकी मन्दिरमा ल्याइएको शिलाको विशेष पूजापाठ गरिएको छ भने भारतको ठाउँ ठाउँमा विशेष पूजापाठ गरिने जनाइएको छ । विशेष पूजाकालागि ठाउँ ठाउँमा भव्य तयारी गरिएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहित साधु, महन्थ र श्रद्धालु भक्तजनले मन्दिर परिसरमा विशेष पूजापाठ गरेका थिए । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले शिलामा पूजाका लागि सोमबार बिहान शोभायात्रासहित जनकपुरधाम परिक्रमा गरी शिला अयोध्या लगिने जानकारी दिए । जानकी मन्दिरका महन्थ दास, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिलगायत श्रद्धालुले शिला लिएर अयोध्या जाने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । आइतवार सम्पन्न विशेष पूजामा मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, नेता निधि, एमाले नेत्री जुलीकुमारी महतो, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झा लगायतको उपस्थिति थियो । भारतको अयोध्यामा लामो विवादपछि सुप्रिम कोर्टको आदेशमा राममन्दिर निर्माण हुँदैछ । मार्च २०२० देखि निर्माण सुरु भएको मन्दिर आगामी सन् २०२४ जनवरीमा निर्माण गरिसक्ने लक्ष्य रहेकामा त्यसको मुख्य गर्भ गृहमा राखिने भगवानको रामको बालापनका प्रतिमा नेपालको ढुङ्गाबाट निर्माण हुनेछ ।
‘विश्वविख्यात अयोध्या नगरीमा बन्ने राममन्दिरमा नेपालको शिलाबाट निर्मित मूर्ति राख्ने कुरा अत्यन्त महत्वपूर्ण छ’ महन्थ राम तपेश्वर दासले भने–‘यसले नेपाल र भारतको ऐतिहासिक सम्बन्धलाई दर्शाउने मात्रै छैन विश्वमै नेपालको गाथा पनि विस्तार हुनेछ, जुन हाम्रो लागि सौभाग्यको कुरा हो ।’ मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको पवित्र नदी (कालीगण्डकी) बाट ल्याइएको शिला अयोध्यामा निर्माण हुने मन्दिरका लागि मूर्ति बनाइनु आफैँमा ऐतिहासिक भएको बताए । उनले भारतमा तमाम नदी र नदीमा ढुङ्गा नभएर नेपालबाट लिइएको नभई नेपालको धार्मिक महत्व र धार्मिक आस्थाका हिसाबले भारतबाट दिइएको उच्च सम्मानको एक अनुपम दृष्टान्त भएको बताए । नेपालबाट भारतमा शिला पठाउन मुख्य भूमिका निर्वाह गरिरहेका नेता निधिले विश्वप्रसिद्ध राम मन्दिरमा नेपालको शिला राख्दा नेपालको धार्मिक महत्व मात्र नभइ ऐतिहासिक र पौराणिक महत्वलाई पनि टेवा पु¥याएको बताए । उनले यस कार्यले नेपालमा धार्मिक पर्यटन वृद्धिका लागि कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरे ।
अयोध्यामा ७० एकड जमिनमा तीन सय ६० फिट लामो, दुई सय ३५ फिट चौडा र एक सय ६१ फिट अग्लो मन्दिर बन्दैछ । मन्दिरमा पाँच मण्डप रहनेछन् भने बीचमा रहेको गर्भगृहमा कालीगण्डकी नदीबाट लागिएको २३ टन र १५ टनका शिलाबाट बनाइने भगवान् रामको बालापनको मूर्ति राखिने उतराधिकारी महन्थ दासले जानकारी दिए ।