अपडेट 
२०७९ माघ १६, सोमबार ०७:१७

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ् गाल काठमाण्डुले बारा र पर्साका जिल्ला प्रशासन र जितपुरसिमरा उपमहानगरपालिकालाई रेल्वेको जग्गा संरक्षण गर्न आदेश दिएको छ ।

आयोगले एक पत्र लेख्दै नेपाल गभर्मेन्टको रक्सौल अम्लेखगंज-रेलमार्गमा पर्ने १ हजार ७ सय ४९ बिघा जग्गा अतिक्रमणमा परेकाले संरक्षण गर्न अनुरोध गरेको छ । अतिक्रमण गरिएका जग्गाहरुमध्ये वीरगञ्जको पावर हाउस चोकदेखि पूर्व पश्चिम राजमार्गको पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगको कब्जामा रहेको छ । कतिपय अतिक्रमणकारीले नापीबाट प्रमाणित गराएर रेल्वेको जग्गा व्यक्तिगत बनाइसकेका छन् । परवानीपुर ,जीतपुर र सिमरा क्षेत्रमा रेल्वेको जग्गामा बस्ती नै बसेको छ । तत्कालीन नेपाल सरकारले भारतको रक्सौलमासमेत तत्कालीन बेलायती सरकारसँग सन् १९२७ जुन १९ मा खरिद गरेको १६ बिघा १ कठ्ठा ४ धुर जग्गासमेत अतिक्रमणमा परेको समाचार सञ्चार माध्यममा आएकाले त्यसतर्फ आफनो गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । केही दिन अघि रेल्वेको १७ सय बिघा जग्गा अतिक्रमित भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । रेल्वेको जग्गा संरक्षण गरी अतिक्रमण हुनबाट बचाउन र सम्बन्धित मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ,२०४८ को दफा २८ को उपदफा (१) बमोजिम लेखि पठाउन अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News