अपडेट 
२०७९ माघ १७, मंगलवार ०६:५९

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्ष फोडेर फरार भएका ६ थुनुवा मध्ये एक जना पक्राउ परेका छन् भने पाँच जनाको खोजी तीव्र पारिएको छ ।

हातहतियार तथा खरखजाना मुद्दाका आरोपित २८ वर्षीय रोशन महतो सोमबार नै पक्राउ परिसकेका छन् । प्रहरीले उनलाई फरार भएको १२ घण्टा नबित्दै पक्राउ गरेको छ । आइतबार राति महतोसहित थुनुवा कक्ष फोडेर ६ जना विभिन्न मुद्दाका आरोपि फरार भएका थिए । धनुषा मिथिला नगरपालिका ५ का महतो यही माघ १२ गते नक्टाझिजबाट हतियार (पेस्तोल)सहित पक्राउ परेका थिए । उनी चार दिन थुनामा बसेका थिए । उनलाई प्रहरीले हतियार खरिद–बिक्री गर्ने गरेको आरोपमा पक्राउ गरेको थियो । यही मुद्दामा फरार भएका उनका साथी शंकर महतो भने अझै फरार छ । सुरुमा शंकर रोशनकै बयानपछि पक्राउ परेका थिए । महतोद्वयलाई प्रहरीले गत शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए । त्यसको भोलिपल्ट आइतबार उनीहरुलाई पाँच दिन म्याद थपी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका थिए ।

यस्तै, अभद्र व्यवहार मुद्दामा यही माघ १० गते पक्राउ परेका मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदीप सिंह पनि फरार छन् । उनमाथि सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेका थिए । हरिदीप पाँच दिन उक्त थुनामा बसेर उनीहरुसँग फरार भएका छन् । लागू औषध मुद्दामा पुस २८ गते पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका ५ का ३० वर्षीय विनोद कुमार शर्मा पनि फरार छन् । उनी १८ दिनदेखि थुनामा बसेका थिए । दुई पटक उनको म्याद थप भएको थियो । तर प्रहरीको अनुसन्धान पूरा नभएको हुनाले उनलाई थुनामै राखिएको थियो ।

यस्तै, राष्ट्र सेवामा बाधा विरोध गर्दा पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका २ का २५ वर्षीय अमित मण्डल र रोशन यादव पनि फरार छन् । यी दुबै जना १२ दिनदेखि थुनामा थिए । उनीहरु थुनुवा कक्षको भिता फुटाएर आइतबार राति २ देखि ४ बजेको समयमा फरार भएको प्रहरीको अनुमान छ ।

यस घटनामा प्रहरीमाथि पनि शंका गरिएको छ । प्रहरी र इलाकाको नेतृत्व गरिरहेको प्रहरी निरीक्षक (इन्सपेक्टर)बेचन यादवमाथि छानबिन गर्न दुई वटा समिति गठन गरिएको छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको छ । दुबै समितिले सुक्ष्म रुपमा प्रहरीको कमीकमजोरी बारे छानबिन गरिरहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News