अपडेट 
२०७९ माघ १७, मंगलवार ०८:०६

वीरेन्द्र बजार (सप्तरी) । कंचनपुर– कमला सडक परियोजना अन्तर्गत एचआईभी एड्स तथा मानव बेचविखन सचेतनामूलक कार्यक्रमका सहभागीहरु ठगिएका छ्न ।

कार्यक्रमका सहभागीहरुले १५ प्रतिशत करकट्टा गरी प्रतिव्यक्ति ८ सय ५० रुपैयाँ भत्ता पाउने भए पनि आयोजकले ५० प्रतिशत मात्र दिएर बाँकी रकम बाँडीचुँडी खाने गरेको खुलासा भएको हो । एडिबीले सडक आसपासका आदिवासी जनजाति, दलित, मुश्लिम र महिलाहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम संचालनका लागि सहयोग गरे तापनि आयोजकले ठगीधन्दा चलाएको सहभागीहरुले आरोप लगाए । एकै प्रकृतिका सचेतनामूलक कार्यक्रममा पालिका अनुसारको फरक– फरक भत्ता दिएर अनियमितता गरेको कार्यक्रममा सहभागी खडक नगरपालिका– ६का शंकर चौधरीले बताए । हामी सहभागीलाई कार्यक्रम आयोजकले ४ सय २५ रुपैयाँ भत्ता दिए,उनले भने्, सुरुङ्गा नगरपालिकाका सहभागीहरुलाई ८ सय ५० रुपैयाँ भत्ता दिएछ्न, एउटै कार्यक्रममा फरक–फरक भत्ता वितरण गर्नुले नियतमा खोंट रहेको प्रष्ट भएको छ । उनले आयोजकले प्रतिव्यक्ति ४ सय २५ रुपैयाँ अनियमितता गरेको आरोप समेत लगाए ।

यसैगरी अग्निसाईर कृष्णासवरन गाउँपालिका–४का जानकी चौधरीले सचेतनामूलक कार्यक्रममा सहभागी भए वापत ४ सय २५ रुपैयाँ भत्ता पाएको बताइन् । उनले आयोजकले सहभागीहरुलाई करकट्टा गरी ४ सय २५ को दरले भत्ता वितरण गरेको जानकारी दिइन् । अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी अर्का सहभागी रंजिता चौधरीले १,२ ३ , ४ र ६ नम्बर वडाका गरी १ सय १५ जना सहभागीहरुलाई बराबरी भत्ता वितरण गरेको बताइन् । कति भत्ता पाउने भन्ने कुरा सहभागीहरुलाई थाहा नहुँदा आयोजकले तोकिए भन्दा कम भत्ता वितरण गरी ठगी गरेको उनले गुनासो पोखिन् । उनले तोकिएको भन्दा कम र लक्षितभन्दा फरक व्यक्तिहरुलाई सहभागी गराइ बजेट दुरुपयोग गरेको जानकारी दिइन् । सुरुङ्गा नगरपालिका–५ का देवकी देवी चौधरीले तालिममा सहभागी भए वापत ८ सय ५० रुपैयाँ भत्ता पाएको बताइन् । उनले १ हजारमा १५ प्रतिशत करकट्टा गरेर बाँकी रकम बुझेको जानकारी दिइन् ।

उक्त परियोजना अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका, अग्निसाईर कृष्णासवरन गाउँपालिका, रुपनी गाउँपालिका, शम्भुनाथ नगरपालिका, खडक नगरपालिकाका सहभागीहरुलाई प्रतिव्यक्ति ४ सय २५ रुपैयाँको दरले भत्ता वितरण गरेको छ भने सुरुङ्गा नगरपालिकाका सहभागीहरुलाई ८ सय ५० को दरले भत्ता दिएको पाइएको छ । तालिममा सहभागीले प्रतिव्यक्ति ८ सय ५० रुपैयाँ भत्ता पाउनु पर्ने व्यवस्था भए पनि आयोजकले ५० प्रतिशत मात्र दिएर अन्य कागत मिलान गरी बाँडीचँुडी खाने गरेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । सचेतनामूलक कार्यक्रमका प्रमुख लैङ्गिक समनता तथा समावेशीकरण विज्ञ जीवन सिंहले सहभागीहरुले लगाएको आरोप निरधार रहेको बताइन् । उनले प्रस्तावनामा तोकिएको अनुसार सेवासुविधा सहभागीहरुलाई उपलब्ध गरिएको प्रतिक्रिया दिइन् । उक्त परियोजना अन्तर्गत सप्तरी र सिरहाका सडक आसपासका स्थानीय तहका आदिवासी जनजाति, दलित मुश्लिम समुदाय र ७० प्रतिशत महिला अनिवार्य सहभागी गरि एचआईभी एड्स तथा मानव बेचबिखन सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुपर्ने छ । परियोजना अन्तर्गत सप्तरीमा कार्यक्रम सम्पन्न भएको छ भने सिरहामा छिट्टै संचालन गर्ने तयारीमा रहेको छ ।

Comment


Related News

Latest News

Trending News