
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्ष फोडेर फरार भएकाहरुको खोजी कार्य जारी छ । मंगलबार प्रहरीले फरार भएका मध्ये थप एक जनालाई पक्राउ गरेका छन् । फरार भएका ६ थुनुवा मध्ये दुई जना मात्रै पक्राउ परेको छ । अन्य चार फरार नै छ । मंगलबार प्रहरीले क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डललाई पक्राउ गरेका छन् । यद्यपि उनका साथी रोशन यादव अझै फरार छन् । यी दुबै जना १२ दिनदेखि सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दामा थुनामा थिए ।
यसअघि सोमबार हातहतियार तथा खरखजाना मुद्दाका आरोपि २८ वर्षीय रोशन महतो पक्राउ परेका थिए । उनको साथी शंकर महतो पनि अझै फरार रहेको छ । अभद्र व्यवहार मुद्दाका आरोपित मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, लागूऔषध मुद्दाका क्षीरेश्वरनाथ नगरपालिका ५ का ३० वर्षीय विनोद कुमार शर्मा, सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दामा पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका–२ का रोशन यादव र हात हतियार तथा खरखजाना मुद्दाका मिथिला नगरपालिका–६ का शंकर महतो फरार रहेका छन् । उनीहरुको खोजी कार्य तीव्र रहेको प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए । प्रहरीले इलाका प्रहरी कार्यालयमा महेन्द्रनगरमा कार्यरत सबै प्रहरीलाई जिल्लामा तानेर अनुसन्धान गरिरहेको छ । तीन जना प्रहरीलाई निलम्बन पनि गरेका छन् । हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको छ भने त्यहीँ कार्यरत २६ जना प्रहरीलाई पनि जिल्लामा तानिएको छ । प्रहरी निरीक्षक बेचन यादवमाथि पनि शंका गरिएको छ । उनीमाथि पनि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । थुनुवा कक्षमा २४ घण्टे ब्याकअपसहितको सिसि टिभी जडान भएको छ । फुटेज जिल्लामा आइसकेको छ ।