
जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र प्रसाद यादवले संघीयतालाई संस्थागत गर्न सकेमात्र तराई मधेशको विकासमा कायापलट हुने कुरामा जोड दिएका छन् ।
बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा तियर सिचाई आयोजनाको शिलान्यास गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष यादवले संघीयतालाई संस्थागत हुन नदिने चलखेल सुरु भएको भन्दै त्यसतर्फ सबैजना सजग र सचेत हुनुपर्ने धारणा व्यक्त गरे । तराई मधेशको विकासका लागि ठूला दलहरूले जहिले पनि आनाकानी गर्ने गरेको हुँदा विकासका लागि सबै मधेशी पार्टीहरूको एउटै मोर्चा बनाएर एकपल्ट फेरि क्रान्तिको बिगुल फुक्नुपर्ने वातावरणको सृजना नगरी नभइ नहुने रहेको अध्यक्ष यादवले बताए । नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीलाई धोका दिएको आरोप लगाउँदै सहमति एक गर्ने काम अर्को गर्ने अध्यक्ष यादवले बताए सिचाई योजना निर्धारित समयमा गुणस्तर हिसाबले सम्पन्न गराउन सम्बन्धित ठेकेदारलाई आग्रहसमेत उनले गरे । कामकाज प्रभावकारी भए, नभएको बेला बखतमा निगरानी गर्न उपभोक्ता समितिको ध्यान जान जरुरी रहेको अध्यक्ष यादवले सुझाव दिए ।
तियर सिचाई योजना उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न सो शिलान्यास कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद रामसहाय यादव, जनता समाजवादी पार्टीका मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव, उपाध्यक्ष सुनैना कुमारी चौधरी, नेकपा एसका जिल्ला अध्यक्ष विजेन्द्र चौधरी, वडाअध्यक्ष सोनालाल साह, कार्यपालिका सदस्य सुरेन्द्र साह, दिपक पासवान लगायतकाले आफ्नो विचार व्यक्त गरेका थिए । मधेश प्रदेश सरकारको करिब २१ करोडको लागतमा निर्माण हुने सो सिँचाई योजनाबाट सो क्षेत्रका करिब १२ सय बिगाहा खेतीयोग्य जमिनमा सिचाई हुने बताइएको छ ।