अपडेट 
२०७९ माघ १८, बुधबार ०७:३५

अहिले सरस्वती पूजा भर्खर सकिएको छ । सरस्वतीलाई कलाकी देवी पनि मानिएको छ । यसकारण आफूमा कला हुनेले आफ्नो कलाको निखारको लागि पूजा गर्नु स्वाभाविक हो । कलाकारले पनि सरस्वतीको पूजा गर्दछन् । विद्यार्थीले त झन् गर्ने नै भए । हाम्रो समाजमा सरस्वतीको सबैभन्दा बढी पूजा विद्यार्थीले नै गर्दछन् । पूजा गर्नको लागि पहिलेदेखि एकापसमा चन्दा संकलन गर्नेदेखि लिएर पूजाको एक दुई दिन पहिलेदेखि नै तयारी गरिरहेका हुन्छ । विद्यालय सजाउँछन् र अनेक कार्यक्रमको आयोजन गर्दछन् । विद्यार्थीले गर्ने विभिन्न कार्यक्रममध्ये सांस्कृतिक कार्यक्रम पनि एक हो । सांस्कृतिक कार्यक्रममा पहिलेको जस्तो आफ्नो भेषभूषामा सजिएर संस्कृति देखाउनुपर्ने हो तर आजभोलि सांस्कृतिक कार्यक्रमको अर्थ डिजे बजाउने र त्यही बाजाको तालमा नाच्ने मात्र हुन गएको छ । पहिलेको जस्तो अभिनय अब बडो मुस्किलले पाइन्छ । पहिले त कलाकार आफैँले आफ्नो सम्वाद बोल्ने, सम्वादसँगै सम्वादको भावमा आफ्नो हाउभाउ दिने गर्दथे । आफैँले गीत गाउँदै नृत्य प्रस्तुत गर्दथे र बाजा बजाउनेको समूह हुन्थ्यो ।

आजभोलि यी सब हराएका छन् र एउटा डिजे साउन्ड सिस्टममा गीतहरु बज्ने तथा त्यसै सिस्टमको गीतमा नृत्य प्रस्तुत गद्दर्ने चलन बढेको छ । यो डिजे बाजाको आवाज कति चर्को हुन्छ ? चर्को आवाजकै प्रतिस्पर्धा छ । एउटाभन्दा अर्को चर्को । यो चर्को आवाजको नजिक भएर जानुपर्दा त सामान्य मानिसको मुटुमा नै बाजा बजेको अनुभूति गराउँछ । कुनै बेला त एक्कासि चर्को आवाज सुन्नुपर्दा कानलाई अप्ठ्यारो पारे झैँ मुटुलाई पनि अप्ठ्यारो पारेको अनुभव हुन्छ । निकै चर्को आवाज स्वास्थ्यको दृष्टिकोणले पनि निकै घातक हुने बताइन्छ । अनियन्त्रित डिजेको चर्को आवाजले के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा आवाज उठाउन सजिलो छैन । यस विषयमा कसैले अध्ययन गर्न पनि सक्दैन । हाम्रो सामाजिक सम्बन्ध यत्ति कसिलो छ कि यदि कसैले डिजेको विरोध गर्दछ भने उही सबैको तारो बन्न पुग्दछ जबकि एउटा मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले डिजे बाजामाथि प्रतिबन्ध लगाएको कुरो सुनिएको थियो । के सुनिन्छ भने डिजे बाजा बजाउन पनि अनुमति लिनुपर्ने कानुन छ तर यहाँ प्रतिबन्ध र अनुमतिको कुरो त कानुनसम्मत हुने भए । संस्कृतिसित जोडेर कतिपयले आफ्नो दोकान चलाइरहेका छन् । डिजेमाथि रोक लगाउँदा संस्कृति नै कमजोर हुने भयो भन्ने किसिमको कुरो गर्छन् । बिहे, ब्रतबन्ध, पूजा आदि अवसरमा आजभोलि डिजे नभई हुँदै हुन्न । यसकारण डिजेमाथि रोक लगाउँदा धेरैले नकारात्मक रुपमा लिएको कुरो पनि आउँछ । त्यसै पनि कुन मेला होला जहाँ डिजे नबजाएको होओस् ।

गत सरस्वती पूजाको समयमा पनि डिजे नबजेको कुनै विद्यालय होला ? तराई मधेशमा पनि डिजेबिना कुनै सार्वजनिक पूजा पनि सम्भव नहोला भन्ने युग आइसकेको छ । सरस्वती पूजाको समयमा बजाइने डिजेले कलिला बालबालिकाको स्वास्थ्यमा पार्ने असरको बारेमा कतैबाट कुनै चर्चा गरिएको पाइन्न । साथै डिजे बाजासित देखाइने अश्लील नृत्यको पनि प्रभावबारे गम्भीर हुनु जरुरी छ । विद्यालयमा बालबालिकाले डिजेको तालमा गर्ने नृत्यको पक्ष अहिले केही चर्चामा आएको छ । एक समूहले एउटा जिल्ला प्रशासन कार्यालय र एउटा जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र नै बुझाएर प्रतिबन्धको माग गरेको सार्वजनिक भएको छ । डिजेमा बजाइने अश्लील गीत र गरिने अश्लील नृत्यले समाजमा नराम्रो प्रभाव पारेको भन्ने गुनासो रहेको छ । डिजेमा बजाइने अश्लील गीतले बालबालिका तथा नवयुवामा नराकात्मक प्रभाव पारिरहेकोमा सबैको सहमति होला । यससँगै देखाइने अश्लील नृत्यले त झन् नकारात्मक असर पारिरहेको छ । एक युवतीको प्रतिक्रिया यस्तो रहेको देखियो – अश्लील गीतसँगै देखाइने अश्लील नृत्य चलिरहेको समयमा त्यही भएर कुनै युवती वा महिला जाँदै गरेको अवस्था छ भने यस्तो लाग्छ कि सोझै आक्रमण गर्न समूह नै तयार छ । महिलातर्फ अश्लील इसारा पनि हुन्छ गीतको भाव वा नृत्यको तालमै । एक महिलालाई यस्तो अवस्थामा लाग्छ कि किन म यताभएर आउनु परेको होला ? अश्लील गीत र अश्लील नृत्यले विशेष गरी महिलालाई नै नकारात्मक केन्द्र विन्दू बनाएर प्रस्तुत गरिएको हुन्छ र सबैभन्दा बढी किशोर किशोरीमा यसको नकारात्मक असर परिरहेको देखिन्छ । नजानिँदो किसिमले समाजमा डिजेको आवश्यतालाई बोध गराइएको छ र डिजेको चर्को अश्लील गीतसँगै अश्लील नृत्यले नवयुवा वर्गलाई यसरी प्रभावित पार्दै लगेको छ कि तिनीहरुलाई लाग्न थालेको छ कि यो नै हाम्रो संस्कृति हो ।

डिजेको प्रयोग अब सबै क्षेत्रमा हुन थालेको छ । यसको बढ्दो प्रयोगले विस्तारै समाजमा ठेकैचा, हारमुनियम बजाउने मानिस तथा विभिन्न परम्परागत बाजा बजाउने मानिसको अभाव हुन थालेको छ । गाउँघरमा कुनै बाजा बजाउने अभ्यास गरेको अब सायदै कतै देख्न पाइन्छ । अहिले केही संख्यामा बाजा बजाउने मानिसहरु रहेका छन् तर तिनीहरुको सम्मान हुन नसकेको यथार्थ हो । डिजे बजायो, अरु केहीको आवश्यकता पर्दैन । यसले गर्दा अब गाउँघरबाट संगीतको प्रतिभा प्रस्फुटन होला र सामाजिक संस्कृतिका बाजाहरु बजाउने मानिस पाइएला भन्नेमा शंका हुन थालेको छ । अहिलेको समयमा यदि बालबालिकालाई ढोलक बजाउने मानिस हो भनेर कसैलाई सम्मानपूर्वक शब्द र भावले बताउने हो भने कुनै चासो नलिएर वा उपेक्षाभावले सुनिदिएर पछि आफ्ना साथीभाइबिच हाँसोको विषय बनाउने डर पनि हुन थालिसकेको छ । यहाँसम्म कि यही अप्रत्यक्ष अवहेलनाको कारण यदि कोही ग्रामीण संगीतप्रेमीको घरमा पनि कुनै धार्मिक, सामाजिक वा पारिवारिक कार्य हुन्छ भने तिनले पनि डिजे बाजालाई नै बोलाउनु उचित मान्न थालेका छन् । आफ्नो समूहमा साथीभाइसित डिजे बजाउनु बाध्यता भएको बताउन थालेका छन् । यो बाध्यात्मक अवस्थाले भोलिको हाम्रो समाजका मौलिक सांस्कृतिक बाजा र तिनलाई प्रयोगमा ल्याउने मानिसको अवस्थाबारे अनुमान लगाउन खासै अप्ठ्यारो पर्दैन । डिजेले मौलिक गीतमाथि पनि हस्तक्षेप गरेको छ । विभिन्न चाडपर्व तथा संस्कृतिको अवसरमा गाइने मौलिक गीत गाउनबाट रोक्ने अवस्थामा डिजेले पु¥याइदिएको छ । डिजे सामान्य प्रयोगमा आउनुभन्दा पहिले सामाजिक सांस्कृतिक गीतहरु लोप भइरहेका थिएनन् भन्ने होइन तर सामाजिक सांस्कृतिक गीतलाई लोप हुने क्रमलाई अत्यधिक तीव्र बनाइदिएको छ । यसको बाजामा एक किसिमको आकर्षण हुन्छ जसले जो सम्बन्धित छ उसलाई निकै नै तानेको पाइन्छ । फेरि यो सुलभ पनि भइदिएको छ । हरेक गाउँ र टोलमा डिजेको बेपार फस्टाएको छ ।

सर्वसाधारणले पनि डिजे बेपारलाई सहयोग गरेका छन् भने सर्वसाधारणलाई पनि डिजेले सहयोग गरिदिएको छ । यद्यपि डिजेले मानिसलाई केवल अभिनयको नक्कलमा सीमित गरिदिएको आरोप लाग्न थालेको छ । डिजेमाथिको यस आरोपले पनि डिजेको बजार बढेको र बजारले समाजमा हस्तक्षेप निर्वाह गरेको स्पष्ट पारेको छ । डिजेले सामाजिक सांस्कृतिक गीतलाई कमजोर बनाएको हो किनभने सामाजिक सांस्कृतिक गीत गाउनलाई केही मानिस चाहिन्थ्यो, मानिसको गलाको अभ्यास हुनु पर्दथ्यो तर डिजेले गर्दा मानिस नचाहिने भयो, अभ्यास नचाहिने भयो । डिजेले दुई दिन गाइदिँदा त्यसैसँगै कतिपय सांस्कृतिक विधि वा कार्य निर्वाह गर्न सजिलो भइदिएको छ । यस हस्तक्षेपले गर्दा डिजेले संस्कृतिमा पनि स्थान जमाइरहेको बुझन् सकिन्छ । यदि अवस्था यस्तै रहने हो भने केही समयपछि डिजेबिना कुनै संस्कृति सम्पन्न नहुने अवस्था आउन सक्छ । डिजेले गरिरहेको हानि र डिजेल पु¥याइरहेको फाइदाबारे समाजमा बहस हुनु जरुरी छ । समाजले यसबारे गम्भीरता देखाउनु समयको माग भइसकेको छ । यो हाम्रो परम्परागत सामाजिक सम्पत्ति होइन तर समाजमा यसलाई बढावा दिँदा सजिलो भएको छ कि यसबाट आएका विकृतिहरुलाई न्युनीकरण गर्न सकिन्छ ? डिजेलाई नियन्त्रण गर्ने कि डिजेबाट सिर्जित विकृतिलाई ? डिजेको कारण नै विकृति आएको हो त ? के डिजेलाई निषेष गरिदिँदा ती विकृतिहरु कम होलान् ? कि डिजेबाट अहिले जति विकृति देखिएका छन्, भविष्यमा अझ बढी विकृति देखिने सम्भावना छ ? के डिजेबाट देखिएका विकृतिहरुलाई कम गर्न डिजेमाथि प्रतिबन्ध लगाउँदा केही सजिलो हुन्छ ? के डिजेको चर्को स्वरले मानिसको स्वास्थ्यमा पनि असर पु¥याएको हुन्छ ?

यी र यस्ता विषय तथा पक्षसित सम्बन्धित रहेर सम्बन्धित क्षेत्रका विशेषज्ञ वा जागरुकले आफ्ना कुराहरु बाहिर ल्याउनु आवश्यक छ । एक किसिमले बौद्धिक वा सामाजिक बहस चलाउनु आवश्यक छ । हाम्रो समाजका डिजेले हस्तक्षेप गरेको धेरै दशक भइसकेको छैन । कमै दशक भएकोले कतिपय संस्कृतिको पुनस्र्थापन गर्न सकिन्छ कि ? जुन डिजेले गर्दा कमजोर भएको छ, त्यसलाई फेरि बलियो बनाउन सकिन्छ ? डिजे यदि समाजको लागि आवश्यक छ भने यसलाई रोक्नतिर होइन, अझ व्यवस्थित गर्नतिर सबैको बढी ध्यान केन्द्रित गर्नुपर्ने हो कि ?

Comment


Related News

Latest News

Trending News