अपडेट 
२०७९ माघ १९, बिहीबार ०७:१९

महाभारत युद्ध यस्तो युद्ध थियो जहाँ सबै पुरुष कुरूक्षेत्रमा सामेल भएका थिए । पुरै पृथ्वीमा बालक र बृद्धबृद्धाहरूमात्रै बाँकी थिए । यस युद्धमा कौरव पक्षका सबै भाइलायत उनका इष्टमित्रहरू समेत मारिएका थिए । पांडव पक्षका पाँचै भाइलाई केही भएन तर पाण्डवका सन्ततिहरू सबै मारिएका थिए । अभिमन्युको वर्णन गर्नु भन्दा पहिले उनका अन्य भाइहरूबारे पनि संक्षेपमा वर्णन गर्नु सान्दर्भिक देखिएकोले यहाँ वर्णन गरिएको छ । भीमसेनका छोरा थिए घटोत्कच । उनी एउटा महान योद्धा थिए । उनको जन्म हिडिम्बा र भीमसेनबाट भएको थियो । उनले अल्पायु उमेरमै अस्त्रशस्त्र विद्यामा निपुणता हासिल गरेका थिए । घटोत्कचको पहिलो विवाह मुरदैत्यकी छोरी कामकन्टकटासँग भएको थियो, जसबाट अञ्जनपर्वन नामक छोरा जन्मेका थिए ।

यस्तै घटोत्कचका अर्की पत्नी मौर्वीको कोखबाट बर्बरीकको जन्म भएको थियो । मौर्बी प्राग्ज्योतिषपुरका दैत्यकी छोरी थिइन् । पाण्डवका पत्नी द्रौपदीको कोखबाट जन्मिएका पाँच छोरा द्रौपदेयका नामले चिनिन्थे । उनीहरूको वास्तविक नाम क्रमशः प्रतिविन्ध्य, सुतसोम, श्रुतकर्मा, शतानीक र श्रुतसेन थियो । यिनको जन्म एक÷एक वर्षको अन्तरालमा भएको थियो । युधिष्ठिरबाट प्रतिविन्ध्य, मीमसेनबाट सुतसोम, अर्जुनबाट श्रुतकर्मा, नकुलबाट शतानीक र सहदेवबाट श्रुतसेन जन्मिएका थिए । यी पाँचै भाइको जन्म मुनि विश्वामित्रको सरापका कारण भएको थियो । वहाँकै सरापको कारण उनीहरू एकैसाथ अश्वत्थामाका हातबाट मारिएका थिए । यस्तै इरावत अर्जुन र उलूपीका छोरा थिए । उलूपी कौख्य नामक नागकी कन्या थिइन् । उलूपीका मनोनित पतिलाई गरुडले खाइ दिएको थियो । अलम्बुषको हातबाट यहाँको बध भएको थियो । उनकी आमा उलूपीले केही समय हस्तिनापुरकी राज्यमाताहरू गान्धारी र कुन्तीको सेवामा आफ्ना समय बिताइन् । अन्त्यमा उनी गङ्गामा प्रविष्ट भइन् । अभिमन्यु अर्जुन र सुभद्राका छोरा थिए । सुभद्रा कृष्णकी बहिनी थिइन् । सुभद्राको रूपबाट उनी मोहित भएर विवाह गरेका थिए । विवाहमा कृष्णले सहयोग गरेका थिए भने बलरामले विरोध जनाएका थिए । सुभद्रालाई हरण गरेर भगाउँदाको बखत कृष्णले भरपूर सहयोग गरेका थिए । अभिमन्यु गर्भमै रहका बेला एक पटक अर्जुनले सुभद्रालाई चक्रव्यूह भेदन गर्ने तरिका बताइ रहेको बेला गर्भमा रहेका अभिमन्युले ती सबै कुरा सुनेका थिए । चक्रव्यूहबाट कसरी निस्कने तरिका बताउने क्रममा सुभद्रा निदाइन् । त्यसैले अभिमन्युले पनि निस्कने तरिका जान्न संकेनन् । पाण्डव वनवास गएको बेलामा उनी आमासँगै द्वारका गए । त्यही उनले रुक्मिनीका छोरा प्रद्युम्नको रेखदेखमा विभिन्न अस्त्रशस्त्र चलाउने ज्ञान हासिल गरेका थिए ।

पाण्डवको वनवासको अवधि सकिएपछि सुभद्रा र उनी पाण्डवसँगै बस्न थाले । त्यही समयमा मत्स्यदेशका राजा विराटकी छोरी उत्तरासँग विवाहको छिनोफानो गरि अभिमन्युलाई विवाह गराइयो । महाभारत युद्धमा उनको उमेर मात्र सोह्र वर्षको थियो । युद्धमा प्रयोग हुने अस्त्रशस्त्र चलाउन निकै निपुण भै सकेका थिए । युद्धमा उनले कुलगुरु कृपाचार्य, गुरु द्रोणाचार्य, कृतवर्मा, बृहत्बल, अश्वत्थामा र कर्ण जस्ता शक्तिशाली योद्धाहरूलाई युद्धबाट पछाडि हट्न बाध्य पारेका थिए । महाभारत युद्धमा अभिमन्युको बहादुरी देखेर विपक्षी सेनाका योद्धाहरू चकित भएका थिए । उनीहरू अभिमन्युलाई कसरी हराउने भने आ–आफै भित्र योजना बनाउन वाध्य भए । युद्धको तेह्रौं दिन अर्जुन त्रिगर्तका सेनाहरूसँग लड्दै दक्षिणतर्फ गए । त्यही मौकामा द्रोणाचार्यले कौरव सेनाको सहयोगमा चक्रव्यूह रचना गरे । युधिष्ठिरलाई समातेर युद्ध अन्त गर्ने गौरव पक्षको लक्ष्य थियो । पाण्डवका तर्फबाट भीम, सात्यिक, चेकितान, धृष्टद्युम्न, कुन्तिभोज, उत्तमौजा, विराटराज र कैकेयले गुरु द्रोणाचार्यको आक्रमणको आँधीलाई रोक्न सफल हुन सकेनन् । यस्तो विकट समयमा अभिमन्युले युधिष्ठरसँग चक्रव्यूह तोड्ने आज्ञा मागे आफ्ना मामा श्रीकृष्ण र बुवा अर्जुनको याद गर्दै उनले चक्रव्यूह तोड्न सफल भए । चक्रव्यूहमा पस्ने कुरा सिकेका भए पनि निस्कने कुरा सिक्न सकेका थिएनन् । अभिमन्यु कौरवसेनाका ठूल्ठूला महारथीसहितलाई मैदान छाड्न बाध्य बनाएका थिए । त्यसदिनको उनको पराक्रम देखेर कौरव पक्षका सबै वीर योद्धाहरू छक्क परेका थिए । उनी मैदानमा छँदा कौरवसेनाको पक्षमा सर्वत्र हाहाकार मच्चाइ दिएका थिए ।

कौरव पक्षका वीर योद्धाहरू क्रमशः कर्ण, अश्वत्थामा, दुर्योधन, दुःशासन आदिले अभिमन्युका बाणहरूबाट त्रस्त भएर उनलाई मार्ने उपाय द्रोणाचार्यसँग सोधे, यसको उत्तरमा द्रोणाचार्यले भने कि अभिमन्युको कवच अभेद्य छ, मनोयोगपूर्वक चलाएका वाणहरूले उनको धनुष काट्न सकिन्छ, अर्थात अभिमन्युलाई युद्धबाट विमुख गरेर प्रहार गरियो भने हराउन सकिन्छ । अभिमन्युसँग युद्ध गर्दा द्रोणाचार्य कौरव पक्षका प्रधानसेनापति थिए । महाभारत युद्धका नियमकानुनलाई तोड्ने पहिलो व्यक्ति द्रोणाचार्य नै थिए । द्रोणाचार्यभन्दा अघि कौरव पक्षका प्रधानसेनापति भिष्मपितामह थिए । वहाँ वाणको शैय्यामा जाँदासम्म कहिकतै युद्ध नियमलाई तोड्नु भएन् । अभिमन्युलाई परास्त गर्न द्रोणाचार्यले सिखाएका कुरा अनुसार कौरव पक्षका छ महारथीले अभिमन्युका धनुष, घोडा र रथ नष्ट गरिदिए । यसरी यी कुराहरू नष्ट गरिदिएपछि अभिमन्यु निहत्था भए । चक्रब्यूहभित्र निहत्या अभिमन्युमाथि चारैतिरबाट हातहतियार प्रहार गर्न थाले । द्रोणाचार्यले उनको तलवार र कर्णले ढाल नष्ट गरे । एउटा योद्धाले गर्न नहुने कामहरू गरेर यिनीहरू आफूलाई कायर योद्धाको रूपमा आफ्ना परिचय दिए । यसरी यी योद्धाहरूका नाम पृथ्वी रहिरहुन्जेलसम्म यस्तै धोखेवाजको रूपमा अपमान भै रहने छ । अभिमन्युले यी महारथीहरू युद्धको नियम पालना नगरेका भन्दै विधर्मीसमेत भनेका थिए । विधर्मीको अर्थलाई हेर्दा जसले धर्मको नियमलाई पालन गर्दैन । यति हुँदासम्म युद्ध मैदानमा डटेर युद्ध गर्न पछि हटेनन् । एकातर्फ कौरवका सबै महारथी भिडेका थिए भने अर्कोतर्फ सोह्र वर्षका ती वीर योद्धा बालक । उनले अन्तिम श्वास लिनेसम्म करिब दस हजार योद्धालाई मारेका थिए । यही संघर्षमा दुर्योधनका छोरा लक्ष्मणको गदा प्रहारबाट उनको मृत्यु भयो । मृत्युपछि उनी फेरि चन्द्रलोक गए र सोममा प्रवेश गरे ।

सोमको अर्थ जाँगर–मरूवा हुन्छ । योगीगणले आफ्ना तसस्याद्वारा जुन अक्षय गति प्राप्त गर्छन त्यही गति अभिमन्युले प्राप्त गरे । अभिमन्युको मृत्यु हुँदा उनकी पत्नी उतरा गर्भवती थिइन् । अभिमन्युको मृत्यु पश्चात् पति वियोगका कारण पीडित हुँदे खानपिउन छाडि दिएकी थिइन् । उनी कमजोर भएपछि त्यसको असर बच्चामा पर्न थाल्यो । यो कुरा दिव्य दृष्टिद्वारा थाहा पाएर व्यास त्यहाँ आएर उतरालाई सम्भाउन थाले । उनले भने उत्तरा तिमी शोक गर्न छाड । तिम्रो छोरा महान तेजस्वी बन्नेछ । श्रीकृष्णको प्रभाव र मेरो आशिर्वादले उसले पांडव पछि पूरै पृथ्वीको पालन गर्नेछ । यस घटनाले अर्जुन पनि शोकमा डुबेका थिए । व्यासले अर्जुनलाई सम्झाएपछि अर्जुनले शोक त्यागेर कौरव सेनामाथि जाइ लागे । महाभारत युद्धमा पाण्डवको जडमूल नष्ट गर्ने अश्वत्थामाको उद्देश्य थियो । त्यही अस्त्रका कारण उत्तराका गर्भमा रहेका बच्चालाई समेत मार्न खोज्दा कृष्णले उत्तराको गर्भलाई सुरक्षित गरेका थिए । कृष्णको सुरक्षित गर्ने हतियारको सामुन्ने अश्वत्थामाको कुनै हतियारले काम गरेन । पछि पाण्डव र अश्वत्थामाको बीचमा युद्ध हुँदा अश्वत्थामाको मस्तकको माणि खोसियो । गुरुपुत्र भएका कारण र कृष्णको प्रेरणाले द्रौपदीले उनलाई छाडि दिन भनिन् । मणि निकालिएका कारण उनको मस्तकमा सधैँका लागि घाउ भयो । घाइते अवस्थामानै अहिले पनि जीवित घुमि रहेका छन् । उत्तराको गर्भबाट परीक्षितको जन्म भयो । उनको पालन–पोषण दरबारको कडा निगरानीमा भएको थियो । पाण्डव पक्षका एउटै सन्तान जीवित रहेका थिए । उनले कुरुकुलमा महारथी कृपाचार्यको रेखदेखमा अस्त्रविधा सिकेका थिए । उमेर पुगेपछि इरावतीसँग उनको विवाह भयो । इरावतीको कोखबाट परीक्षितका चार छोरा जन्मिए । पाण्डवको महाप्रस्थानको समयमा उनलाई राज्याभिषेक गरिएको थियो । यसरी कुरुवंश सुरक्षित भएका थिए । परीक्षित अत्यन्त न्यायप्रिय, धर्मात्मा र प्रजापालक शासक थिए । शासनलाई धर्मसँग जोडेका थिए ।

धर्मको विरूद्धमा उनी कुनै काम गर्दैन्थे । वहाँमा सबैभन्दा ठूलो गुण के थियो भने वर्ण व्यवस्थाको विभेदलाई कम गरेका थिए । उनको सबैभन्दा ठूलो उत्कृष्ट गुण भनेको तरस्थ स्वभावका थिए । ब्राह्नण, क्षत्रिय, बैश्य र शूद्र सबै उनको शासनकालमा खुशी थिए । परीक्षितको मृत्यु पश्चात जनमेजय हस्तिनापुरका राजा भए । वहाँ परीक्षितका छोरा, अभिमन्युका नाति र अर्जुनका पनाति थिए । उनी पाण्डवकुलका योग्य शासकमा गनिन्थे । वहाँको राज्यमा सबै खुशहाल थिए । अन्तमा यस लेखको निष्कर्षमा आउँदा के शिक्षा लिन सकिन्छ भने धर्मानुसार गरेको काम कहिले पनि विफल हुँदैन । पाण्डव धर्मको आडमा महाभारत युद्ध लडेका थिए भने कौरव पक्षले अधर्मको आडमा । यसमा यसको शिर्षकलाई हेर्दा अभिमन्युलाई संसारले अहिले पनि एउटा परम योद्धाको रूपमा सम्झिरहने छ भने द्रोणाचार्यलाई एउटा कपटी गुरुको रूपमा हेरिरहने छ किनभने मिष्मपितामह आफू जीवित रहँदासम्म अलिकति पनि युद्धको नियमलाई तोडेनन् । वहाँको शरीर बाण शेय्यामा खसेपछि द्रोणाचार्यलाई प्रधान सेनापति बनाइयो । वहाँले सबै युद्ध नियमलाई पालन गराएको भए युद्धको परिणाम बेग्लै हुन्थ्यो होला । अभिमन्युको मृत्यु पश्चात महाभारतमा युद्धका नियम कानुन रहेनन् । फलस्वरुप पाण्डव पक्षबाट पनि यस्ता छलकपट शुरू गरियो र यसैको चक्रव्यूहमा परेर द्रौणाचार्यको मृत्यु भयो । इति ।

Comment


Related News

Latest News

Trending News