अपडेट 
२०७९ माघ १९, बिहीबार ०७:२२

जानकी वृद्धा आश्रममा सञ्चालनका लागि स्थायी आम्दानीको स्रोत नहुँदा समस्या देखिएको छ ।

विसं २०५३ मा जनकपुरधाम उपमहानगरपालिका –८मा स्थापना भएको वृद्धा आश्रम पूर्व झापादेखि पश्चिम चितवनसम्मका वृद्धाहरुको आश्रय रहेको छ । आश्रमका लेखापाल रमेश मिश्रका अनुसार सरदर ५० जनाको क्षमता रहेको आश्रममा हाल १३ जना आमाले आश्रय लिइरहेकी छन् । सामान्यतया परिवारबाट अपहेलित भइ वृद्धा आश्रममा आउने आमाको स्याहार सुसारका लागि हाल आश्रममा ६ जना कर्मचारी रहेका छन् । आर्थिक अभावकै कारण कर्मचारीहरुले समेत वर्षौदेखि कुनै सुविधा समेत नपाएको लेखापाल मिश्रले बताए । जनकपुरधाम उपमहानगरपालिकाले केही दिन अगाडि चिसो छल्न १८ थान कम्बल प्रदान गरेको बाहेक कुनै खासै सहयोग नगरेको जनाइएको छ । आश्रममा गत दुई महिना भित्रै चिसो खप्न नसकेर औषधोपचारकै अभावमा चार जना वृद्धाहरुको मृत्यु पनि भइसकेको छ ।

वृद्धा आश्रम सञ्चालनका लागि जिन्सी र खाद्यान्न सामान स्थानीयवासी र सङ्घसंस्थाहरुले समय समयमा सहयोग गर्ने गरे पनि सो सहयोग उँटको मुखमा जिराको फोरन सरह नै बनेको अवस्था रहेको छ । मासिकरूपमा दूध, तरकारी, ग्यास, विद्युत्लगायतको खर्च ६० हजारसम्म हुने गरेको बताइए पनि सो खर्चको लागि दाताकै मुख ताक्नु पर्ने बाध्यता छ । मिश्र भन्छन् ‘प्रदेश सरकार हुनु अगाडि सम्म महिला तथा बालबालिका मन्त्रालयबाट वार्षिक रुपमा १५ लाख रुपैयाँ बजेट आउने गरेको थियो जुन अहिले प्रदेश सरकार भएपछि आउन बन्द भएको छ ।’ आर्थिक अभावले गर्दा भोजनमा समेत समस्या हुने गरेको र प्रत्येक दिनरातको छाक टार्न समेत दाताहरुलाई गुहार्नु पर्ने अवस्था रहेको छ । वृद्धाआश्रम सञ्चालन समितिका कोषाध्यक्ष ललित बजाजले सरकारी स्तरमै नियमित रुपमा केही बजेटको व्यवस्थापन आवश्यक रहेको बताए । उनले भने,‘कहिले ग्यास सकिएर त कहिले चामल सकिएर दिनकै दिन दाताहरुसंग चन्दा माग्नु पर्ने अवस्था छ।’ वृद्धा आश्रममा आश्रय लिएका आमाका लागि मासिकरूपमा स्वास्थ्योपचार गर्नसमेत स्थायी व्यवस्था नहुँदा प्रायः दाताहरूलाई नै गुहार्नुपरेको उनले बताए । वृद्ध अवस्थामा समाजले समेत वास्ता नगर्दा वृद्धा आश्रममा पुग्ने वृद्धा आमाको आश्रय स्थललाई स्थानीय सरकार तथा प्रदेश र केन्द्रीय सरकारले समेत चासो देखिएको छैन । वृद्धहरू केवल बाँच्नका लागि मात्र आश्रममा आउने गरेको वृद्धा आश्रममा आश्रय लिइरहेकी आमाहरु बताउँछिन् । वृद्धा भएपछि बचाउने काम राज्यको हुनुपर्दछ ।

मानिस जन्मेपछि मृत्यु निश्चित छ । बच्चा, युवा र वृद्धावस्था हुनु प्रकृतिको नियम हो । सबै मानिसको चक्र जन्म र मृत्यु हो । सरकारले पनि व्यवस्थित वृद्धा आश्रमको सञ्चालन तथा संघसंस्थाबाट सञ्चालनमा रहेका यस्ता आश्रमको अनुगमन र रेखदेख गर्नुपर्ने वृद्धाहरुको भनाइ छ । नेपालमा पछिल्लो चरणमा समाजमा वृद्धवृद्धाहरूको रेखदेख र व्यवस्थापनमा समस्या देखिएको छ । वृद्धावस्थामा पुगेपछि घरमा परिवारका सदस्यबाट अपहेलित हुनुपर्ने र वृद्धा आश्रममा राज्यको नजर नपुग्नु दुर्भाग्यपूर्ण मानिएको छ ।

Comment


Related News

Latest News

Trending News