
पाँच दिन अघि डिजेल भरिएको ट्याँकर चोरी भएको घट्नाको प्रहरीले अनुसन्धान टुंग्याएको छ । डिजल चोरी गर्न कै लागि उक्त ट्याँकर चोरी भएको तथ्य खुलेको छ ।
माघ १४ गते नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंजबाट २० हजार लिटर डिजल लिएर नेपाल आयाल निगम १ नं.प्रादेशिक कार्यालय विराटनगर तर्फ हिँडेको को.१ ख ३६५५ नम्बरको ट्याँकर बीच बाटोबाटै चोरी भएको थियो । प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार रात परेपछि ट् याँकर चालक सप्तरीका कंचनरुप नगरपालिका–९का विनोद कुमार भुजेल सोही वडास्थित विक्की पेट्रोल पम्पको पार्किंग स्थलमा ट्याँकर राखी सुत्न घर गएका थिए । बिहान फर्किदा मात्र उनले ट्याँकर चोरी भएको थाहा पाएका थिए । आइतबार बिहान उक्त ट् याँकर पूर्वपश्चिम राजमार्ग भन्दा उत्तर शम्भुनाथ नगरपालिका–२ खैरबना जंगल जाने बाटोमा स्थानीयवासीहरुले वेवारिसे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । पेट्रोल पम्पमा राखिएको ट् याँकर चोरी हुँदा हल्ली खल्ली मचेपछि प्रहरीले सक्रियता देखाउँदै चालकदेखि जिल्लास्थित विभिन्न पेट्रोल पम्प संचालकलाई शंकाको घेरामा राखी अनुसन्धान तीव्र पारेको थियो । यसै क्रममा प्रहरीले ट्याँकर चोरी गरी डिजेल बेच्ने र चोरीको डिजेल खरिद गर्ने दुबैलाई पक्राउ गर्न पनि सफल भएको छ ।
प्रहरी उपरीक्षक काफ्लेका अनुसार उक्त ट्याँकर चोरी गरी डिजल विक्री गर्ने सप्तरीको कंचनरुप नगरपालिका– ९ का २९ वर्षीय नवराज भुजेल र चोरीको डिजल खरिद गर्ने खडक नगरपालिका–७ का भण्डार आयल स्टोरका संचालक ३५ वर्षीय श्याम कुमार साहलाई पक्राउ गरिएको छ । पक्राउ गरिएका भुजेल विगतमा सोही ट्याँकर कम्पनीका पूर्व चालक समेत रहेको अनुसन्धानको क्रममा खुलेको छ । ट्याँकरमा रहेको ५ वटा च्याम्बरमा ४ हजार लिटरका दरले २० हजार लिटर डिजल रहेकोमा ४ वटा च्याम्बर फोडेर १६ हजार लिटर डिजल विक्री गरिसकेको र ४ हजार लिटर डिजल ट्याँकर मै रहेको पाइएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । दुबै जनाले अपराध स्विकारेका छन् । उनीहरुलाई बुधवार सप्तरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।