ठगी आरोपमा पुर्पक्षमा थुनामा रहेका मिटर ब्याजी सुरेश यादवलाई कानून बमोजिम कारवाही र फछर्यौट गरिएका जग्गाको कागजात फिर्ता पाउँ भनी पीडित ऋणीहरुले माग गरेका छन् ।
जिल्ला अदालत धनुषाको आदेशले ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादव विरुद्ध उच्च अदालतका दुई न्यायाधीशको मत बाझिएपछि तारेखमाथि तारेख दिदैं आएकोमा पीडित ऋणीहरुले तत्काल सो मुद्दाको सुनुवाइ गर्न माग गरेका छन् । उच्च अदालतको संयुक्त इजलासमा न्यायाधीश भोजराज अधिकारी र डालकुमार खड्काको राय बाझिएर तेश्रो न्यायाधीश समक्ष पेश गर्नु फैसला भएदेखि अदालत धाउंदै आएका पीडितहरुले बिहीवार पत्रकार सम्मेलन गरी आरोपित यादवलाई कारबाही र आफूहरुको जग्गा फिर्ता सहितको माग गरेका छन् । संयुक्त इजलासबाट मुद्दाको बहसपछि २०७९ पुस २८ गते फैसलमा न्यायाधीश भोजराज घिमिरेले प्रतिवादीले दाबी गरे अनुरुप ऋणको भन्दा ३÷४ दोब्बरसम्म बढीको कागज बनाइ ठगी गरेको भन्ने कुरा लिखतमा नदेखिएको समेतको मिसिल संलग्न प्रमाणको आधारमा प्रतिवादीलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गर्ने गरी जिल्ला अदालतबाट भएको फैसला बेरित देखिँदा बदर गरिएको भनेको थियो । जिल्ला अदालतको फैसला बदर संगै प्रतिवादी उपर वास्तविक रकम भन्दा बढीको तमसुक कागज बनाएको र प्रतिवादीको घरबाट ४६ थान तमसुक बरामद भएको प्रमाणको आधारमा २५ लाख रुपैयाँ धरौटी लिइ जमानत वा बैंक ग्यारेण्टीमा मुद्दाको पुर्पक्षको तारेखमा राख्नु धरौटी रकम दिन नसके मुद्दाको पुर्पक्ष गर्नु भनी आदेश पनि दिएको थियो । सोही मुद्दामा अर्का न्यायाधीश डालकुमार खड्काले न्यायाधीश घिमिरेको रायमा असहमति जनाउंदै किटानी जाहेरीको अनुसन्धानको क्रममा निवेदक प्रतिवादीको घरबाट ४६ थान कपाली तमसुक एवं पोखरी ठेक्का सम्बन्धी कागजातहरु पाइएको बताएका छन् ।
निवेदक प्रतिवादीले अनुसन्धान र अदालतको बयानमा समेत जाहेरवालाहरुको बीचमा लेनदेन कारोबार रहेको तथ्यलाई स्वीकार गरेको, जाहेरवालाहरुले निवेदकको बीचमा कारोबार भएको भन्ने कुरा तमसुक बरामद समेत भएको र जाहेरवाला शिवशंकर साहले अनुसन्धानकै क्रममा निवेदन साथ थप प्रमाण पेश गरेको आधारमा निवेदकले गर्ने कारोबार स्वच्छ नभएको देखिंदा जिल्ला अदालतबाट भएको आदेश बेरित नदेखिँदा परिर्वतन गर्न परेन् । न्यायाधीश घिमिरेको रायसँग म सहमत हुन नसकेको हुँदा उच्च अदालत नियमावली २०७३ को नियम १२ बमोजिम निर्णयार्थ तेश्रो न्यायाधीश समक्ष पेश गर्नु उनले भनेका छन् । यी दुबै न्यायाधीशको राय बाझिएपछि तेश्रो न्यायाधीशका लागि अर्को पेशी तोकिएको छ । धनुषाको धनुषाधाम–५ नौ सय बिघाका सुरेश यादवलाई ऋणीहरुले रकम चुक्ता गरे पनि तिनीहरुको तमसुक र रकम वापत धरौटी लिएका जग्गा फिर्ता नगर्दा तिनीहरु जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । सो उजुरीको आधारमा पीडित ऋणीहरुको तमसुक र जग्गाको कागजात फिर्ता गर्न आदेश गर्दा यादव सो आदेशबाट असन्तुष्ट भइ जिल्ला अदालतमा २४ जना ऋणीहरु विरुद्ध ठगी मुद्दा दायर गरे । सो मुद्दाको विरुद्धमा ३२ जना ऋणीहरुले प्रतिउत्तर लगाउनुका साथै जाहेरी दिंदा जिल्ला अदालत धनुषाले प्रतिवादी यादवलाई २०७९ साउन २२ गते पुर्पक्षमा राखी अनुसन्धान गर्ने आदेश गरेको थियो ।
जिल्ला अदालतको फैसलामा पनि चित्त नबुझेपछि यादवले उच्च अदालतमा नेपाल सरकारलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । सोही मुद्दामा न्यायाधीशद्वय घिमिरे र खड्काको राय बाझिएको छ । मिटरब्याजी यादवले ऋणीहरु विरुद्ध मुद्दा दायर गर्दा प्रहरीले नियन्त्रणमा लिएको तमसुकको आधारमा अनुसन्धान गर्दा उनले ३ करोड ३३ लाख ९ हजार ५ सय ५२ रुपैयाँ ठगी गरेको भनी बिगोसहित असुल गर्न भनी प्रतिवेदन अदालतमा पेश गरेको थियो ।